|

काठमाडौँ : ‘बाहिर प्रचार गरिएजस्तो माओवादी कमजोर भएको छैन, बरु पार्टी प्रवेशको लहर बढिरहेको छ’, पार्टी केन्द्रीय कमिटी बैठकमा आइतवार माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज हितमान शाक्यले भने। 

विधान सम्मेलनको मुखैमा बोलाइएको बैठकमा ४ महिना संचालन गरिएको ‘जनतासँग माओवादी रुपान्तरण अभियान’बारे प्रदेश इञ्चार्जहरूले रिर्पोटिङ गरेका थिए। माओवादीले गत १६ भदौदेखि १५ पुससम्म रुपान्तरण अभियान चलाएको थियो। उक्त अभियानका क्रममा माओवादी कमजोर नरहेको स्पष्ट भएको नेता शाक्यको दाबी थियो। 

पार्टी उपमहासचिवसमेत रहेका कर्णाली प्रदेशका इञ्चार्ज मातृका यादवले पनि कर्णालीमा पार्टी सशक्त रहेको रिपोर्टिङ गरे। ‘कर्णालीमा काम गर्दा मलाई पनि नयाँ अनुभव भयो, पार्टी सशक्त छ, बाहिर प्रचार गरेजस्तो कमजोर भएको छैन’, उनको भनाइ थियो।

प्रदेश इञ्चार्जहरूले पार्टीमा आकर्षण बढेको, माओवादी प्रवेशको लहर चलेको मात्र नभई आगामी ०८४ को चुनावमा नम्बर एक पार्टी बन्ने दाबीसमेत गर्न भ्याए।

पार्टी उपमहासचिव एवं पार्टीको उपत्यका विशेष कमिटीका इञ्चार्ज वर्षमान पुनले आगामी चुनावमा माओवादीलाई पहिलो दलको रुपमा स्थापित गर्न सकिने बताए। 

‘पार्टीले चलाएको अभियानले नयाँ उत्साह दिएको छ। विचार, संगठन र विधि प्रक्रियामार्फत महाधिवेशनमा जाँदा आगामी चुनावमा माओवादीलाई एक नम्बर बनाउने आधार छन्’, उनले भने, ‘०५१ सालमा एमाले पनि पहिलो थियो। २०७० मा आएर कांग्रेस उक्लियो। कांग्रेस पनि १० वर्षपछि मात्रै ठूलो पार्टी बनेको हो। हामी पनि अब पहिलो पाटी बन्न सक्छौँ। १२–१५ लाख मत थप्न सकिन्छ। यसो भयो भने हामी २०६४ को अवस्थामा पुग्न सक्छौँ।’

पार्टीका अर्का उपमहासचिव एवं बामगती इञ्चार्ज जनार्दन शर्माले पार्टीप्रतिको शहरिया मनोविज्ञान बुझ्न अभियानले सघाएको भन्दै अब कार्यक्रम तय गर्न सजिलो हुने बताए।

पार्टी सचिवसमेत रहेका कोशी प्रदेशका इञ्चार्ज चक्रपाणी खनालले अभियानले आशावादी बनाएको बताए भने मधेश प्रदेशका इञ्चार्ज तथा अर्का सचिव लीलामणि पोखरेलले मधेशमा संगठन निर्माण, सदस्यता नवीकरण जारी रहेको जानकारी गराए।

यस्तै, पार्टीका सचिव एवं गण्डकीका इन्चार्ज देवेन्द्र पौडेलले अभियानले गुटबन्दी गर्ने प्रवृत्ति निरास भएको र इमानदार नेता कार्यकर्ता उत्साहित भएको बताउँदै जनतामा आशा र भरोसा बढेको दाबी गरे।

अधिकांश नेताहरूले यसरी पार्टी ठिकठाक अवस्थामै रहेको दाबी गर्ने गरे पनि माओवादी क्रमशः खिइँदै गएको स्पष्ट छ। २०६४ को पहिलो संविधानसभा चुनावमा पहिलो शक्तिका रुपमा उदाएको माओवादी ०७९ मा आइपुग्दा तेस्रोमा खुम्चिन पुग्यो। 

त्यसो त माओवादी केन्द्रले हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछिको अधिकांश समय सत्ताको वरिपरि रहेरै बिताएको छ। यस पटकसहित आफैँले ४ पटक सरकारको नेतृत्व नै गरेको छ। सत्ता झुकावकै कारण पार्टी कहाँनिर छ भन्ने नेताहरूले चाल नपाएको वा चाल पाएर पनि बुझ पचाएको हुन सक्ने विश्लेषकहरू बताउँछन्।

केन्द्रीय कमिटीमा नेताहरूले पार्टी सही गतिमा अघि बढिरहेकोले बलियो नै रहेको भनेर रिपोर्टिङ गरे पनि माओवादीको लोकप्रियता पातालमा पुगेको विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।

‘माओवादीको लोकप्रियता पातालमा पुगेको छ’, केन्द्रीय कमिटीमा नेताहरूले गरेका रिपोर्टिङबारे उनले भने, ‘यो आधारहीन कुरा हो। यो कुरा उनीहरूले चाल नपाएको कि बुझ पचाएको हो उनीहरू नै जानुन्।'

अर्का वाम विश्लेषक हरि रोक्का पनि नेताहरूले दाबी गरेजस्तो लोकप्रिय हुने क्रममा माओवादी अहिले पनि नदेखिएको बताउँछन्। माओवादीले सरकारको नेतृत्व गरिरहेको बेला देशमा आक्रोश, समस्या र निराशा नै धेरै रहेको भन्दै माओवादीको आकार बढ्ने छाँटकाँट नरहेको संकेत उनी गर्छन्। 

‘उहाँहरूले दाबी गरेजस्तो कहाँ छ र’, विश्लेषक रोक्का भन्छन्, ‘उहाँहरू अहिले सरकारमा हुनुहुन्छ। यो पहिलो पटक पनि होइन। तर कहीँ कतै सुधार छैन भन्ने नै आइरहेको छ, मान्छेमा निराशा छ, उत्पादन छैन, व्यापार घटेको छ, आयआर्जन घटेको छ, मान्छेहरूको जीवन पद्धति कष्टकर हुँदै गएको छ। आफू सरकारमा हुँदा नदेख्नु भएको हो कि।’

विश्लेषक श्रेष्ठ सत्तामा हुँदा सबै ठिकठाक र सही मात्रै देख्ने नेपाली दलहरूको समस्या भएको बताउँछन्। सत्ता वा कुनै पनि पदमा रहनेको आँखाले कुर्सी, स्वार्थ र पैसा मात्रै देख्ने भन्दै माओवादी नेताहरूको अवस्था अहिले यस्तै भएको उनको भनाइ छ। 

‘पद र सत्ताको स्वार्थमा आँखा बन्द हुन्छ। बाँकी कुरा देख्दै देख्दैनन्। कुर्सी छ, पैसा छ भनेपछि के हेर्नुपर्‍यो मैले भन्ने हुन्छ’, उनी भन्छन्, ‘सत्ताले अन्धो पार्‍या मात्रै हो। माओवादीको लोकप्रियता ओरालो लागेर त ६ महिना अघि बनेको पार्टीले गत निर्वाचनमा २० सिट ल्याएको हो नि।’ 

पदमा रहने नेताहरूले आफूलाई नेतृत्वको प्रिय हुन पनि गलतलाई गलत भन्न नसक्ने स्थिति आउनसक्ने विश्लेषकहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.