|

काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले मधेश बचाउन चुरे संरक्षण गर्न आवश्यक रहेको बताएका छन्। 

आइतवार विश्व सामाजिक मञ्चले काठमाडौंमा आयोजना गरेको चुरे संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मधेश बचाउनका लागि सरकारले सबैभन्दा पहिला चुरे संरक्षण गर्न आवश्यक रहेको बताए। अध्यक्ष पौडेलले चुरे संरक्षणका लागि सरकारले विनियोजन गरेको बजेटले चुरे र मधेश दुवै जोगाउन नसकिने दाबी गरे।

उनले चुरे जोगाउन सबैभन्दा पहिला पहाडमा खोला क्षेत्रमा वृक्षरोपण गरी माटो बग्न रोक्नुपर्ने बताए। उनले त्यसका लागि पहाडका नदी किनारमा बाँस तथा वातावरण संरक्षण गर्ने वनस्पति रोप्न आवश्यक रहेको बताए। वातावरण संरक्षण गर्ने वनस्पति रोप्न त्यस क्षेत्रका मानिसलाई जनचेतना जगाउन आवश्यक रहेको बताए।

अध्यक्ष पौडेलले १० अर्ब खर्च गरेर बाटो निर्माण गर्दा फालिएको माटो सरकारले दिएको १ अर्ब रुपैयाँ खर्च गरेर चुरे संरक्षण गर्न नसकिने बताए। उनले चुरे संरक्षणको लागि सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको गुनासो गरे। उनले सरकारले दिने बजेटले चुरे संरक्षण गर्नसक्ने अवस्था नभएको स्पष्ट पारे।

उनले चुरे संरक्षण गुरु योजनाले वार्षिक १५ देखि २२ अर्ब रुपैयाँ आवश्यक हुने आँकलन गरे पनि समितिले एक अर्ब रुपैयाँ मात्रै बजेट पाएको बताए। उनले सबैको व्यवहार परिवर्तन नभएसम्म चुरे संरक्षण हुन नसक्ने बताए।

पौडेलले भने, ‘नेपालका पहाडका जति पनि बाटा बनेका छन्। ती हजारौं किलोमिटर होलान्। ती सबै खनेको छ। खोलामा फालिएको छ। राष्ट्रिय गौरवका आयोजनाले बनाएका गौरवका सडकका बाटो पनि खोलामा नै फालिएको छ। सडक खनेर फालिएको बाटोले दुई सय घर बगाएको थियो। अनि चुरेले के हेरेको छ? १० अर्ब खर्च गरेर फालेको बाटो एक अर्ब पैसा दिएर संरक्षण हुन्छ।’

उनले चुरे संरक्षणको लागि राजनीतिक प्रतिबद्धता पनि आवश्यक भएको बताए। उनले राजनीतिक प्रतिबद्धता र सत्तामा भएको नेतृत्वको भूमिकाबिना चुरे क्षेत्रको संरक्षण हुन नसक्ने देखिएको उल्लेख गरे।

उनले चुरेमा वृक्षरोपण गर्ने र पोखरी बनाउँदा मात्रै चुरे संरक्षण दिगो हुने बताए। उनले चुरे क्षेत्रका हरेक नदीमा ५० लाखका दरले बाँस रोप्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.