|

पर्सा : वीरगञ्जमा हिजोदेखि जारी निषेधाज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ।

रौतहटको ईशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगञ्जमा हिजो निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। 

सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू भएको जनाइएको छ।

पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार)सम्म निषेधाज्ञा लागू हुने सूचनामा उल्लेख छ। निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुनलगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाइएको प्रजिअ भुसालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.