|

काठमाडौँ : अर्थ मन्त्रालयले भन्सार छुट नगरिदिँदा क्यान्सरको उपचारमा निःशुल्क वितरण गर्न ल्याउन लागिएका ३५ प्रकारका औषधि आउन ढिला भएको छ।

इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जिआइसिसी)ले विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहयोगमा ती औषधि नेपाललाई अनुदान दिने भएको थियो। नेपाल सरकारले त्यो औषधि नेपालमा क्यान्सरसँग लडिरहेका बालबालिकाको उपचारमा निःशुल्क वितरण गर्ने निर्णय गरेको थियो।

जिआइसिसीले गत चैतमा अमेरिकामा प्रिलन्च मिटिङ राखेर नेपालका क्यान्सर पीडित बालबालिकाको उपचारमा आवश्यक ३५ प्रकारका औषधि अनुदान दिने घोषणा गरेको थियो। त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त औषधि नेपालमा ल्याउने प्रक्रिया अघि बढाएको थियो।

यसअघि स्वास्थ्य मन्त्रालयले सबै प्रक्रिया पूरा गरी औषधि आगामी चैतसम्ममा ल्याएर वितरण गर्ने लक्ष्य राखेको थियो।

भन्सार छुट सम्बन्धी निर्णय गरी औषधि ल्याउने बाटो खुलाउन पत्राचार गरे पनि अर्थ मन्त्रालयले उक्त निर्णय नगरिदिँदा औषधि ल्याउने प्रक्रिया अघि बढ्न नसकेको हो। स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखाका एक कर्मचारीले भने‚ ‘हामीले अर्थ मन्त्रालयसँग भन्सार शुल्क छुट सम्बन्धी निर्णय गरी औषधि ल्याउने बाटो खुलाउन तीनपटक पत्र पठाएर ताकेता गरे पनि निर्णय भएको छैन। अर्थले निर्णय गर्नेबित्तिकै हामीले केही महिनामै औषधि ल्याएर वितरण गर्न सक्थ्यौँ।’

मन्त्रालयका नीति तथा योजना शाखाका प्रमुख डा. कृष्ण पौडेलले अर्थ मन्त्रालयले बाटो खोलिदिनेबित्तिकै औषधि ल्याउने प्रक्रिया अघि बढ्ने बताए। ‘हामी तयारी अवस्थामा छौँ। अब अर्थले बाटो खोल्नेबित्तिकै औषधि ल्याइन्छ। हामीले आगामी वर्षको साउन भदौसम्म औषधि वितरण गर्ने लक्ष्य लिएका छौँ’‚ डा. पौडेलले भने।

नेपालमा यी औषधि आउन थालेपछि नियमित आउने र जिआइसिसीले नेपालमा आवश्यक जति दिने प्रतिबद्धता व्यक्त गरेको हुँदा समस्या नरहेको समेत उनको भनाइ छ। यस कार्यक्रमका लागि मन्त्रालयले गत जुन महिनामा बालबालिकाको क्यान्सरसम्बन्धी बृहत् कार्याशाला गोष्ठीको आयोजना गरेको थियो।

युनिसेफमार्फत आउने उक्त औषधि शुरुमा कान्ति बाल अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गराइरहेका क्यान्सरका बिरामी बालबालिकामा प्रयोग गर्ने मन्त्रालयले तयारी गरिसकेको छ।

नेपालमा वार्षिक करिब १ हजार ५ सय बढी बालबालिका क्यान्सर रोगबाट पीडित हुने गरेका छन्। जसमा रक्त क्यान्सरका बढी हुने गरेका छन्। रक्त क्यान्सरका विरामी समयमै उपचार पाएमा अधिकांश निको हुने गरेको चिकित्सकहरू बताउँछन्। नेपालमा कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र केही ठूला निजी अस्पतालमा बालबालिकाको क्यान्सरको उपचार हुने गरेको छ।

समयमै पहिचान भएर पूर्ण उपचार गर्न सके धेरैजसो बालबालिकामा हुने क्यान्सर पूर्ण सन्चो हुन्छ तर आर्थिक भारका कारण धेरैले पूर्ण उपचार पाउँदैनन्। बालबालिकामा प्रायः हुने रक्त क्यान्सर समयमै पहिचान गरी पूरा उपचार गरे ८० प्रतिशत पूर्ण निको हुने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ।

नेपालमा उपचार गराइरहेका क्यान्सरका विरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने लक्ष्यसहित ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने लक्ष्य रहेको डा. पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.