|

विराटनगर : मोरङको पथरी शनिश्चरे–७ मा रहेको सुम्निमा होटलमा मंगलबार दिउँसो ११ बजेतिर खबर सोध्नेहरूको भीड थियो। घर शोकमा डुबेको थियो। त्यहाँ आउनेहरू उदास थिए। घटना बुझ्नेहरूको एउटै शब्द थियो, बिचरा।

सोमबार राति १० बजे पथरी शनिश्चरे–७ स्थित लामाटोलीमा धारिलो हतियार प्रहार गरी १५ वर्षीया ज्ञानमती थुलुङको हत्या भयो। शौचालय जान हिँडेकी ज्ञानमतीको घटनास्थलमै मृत्यु भएको थियो।

शौचालय भएको ठाउँबाट ‘ऐया’ भन्ने आवाज आएपछि दाजुभाउजू हेर्न जाँदा उक्त घटना घटिसकेको मृतकको परिवारले जनाएको छ।

खोटाङ जिल्ला ऐसेलुखर्क–६ घर भएकी ज्ञानमती मामाका छोरा अर्थात् दाजुभाउजूसँग बस्दै आएकी थिइन्। उनी पथरीकै पञ्चायत माविमा कक्षा सातमा अध्ययनरत रहेको उनका दाइ (मामाका छोरा) विनोद राईले बताए।

घटनाको २ घण्टामै दोषी पक्राउ
घटनामा संलग्न रहेको आरोपमा धिरेनकुमार खाँ चौधरीलाई मोरङ प्रहरीले घटना भएको ४ घण्टामै सार्वजनिक गरेको छ। मोरङ प्रहरीले आज (मंगलबार) पत्रकार सम्मेलन गरी चौधरीलाई सार्वजनिक गरेको हो।

पूर्वपश्चिम राजमार्गमा पर्ने भाउन्नेको जंगलबाट प्रहरीको विशेष अनुसन्धान टोलीले चौधरीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। 

घटना भएको २ घण्टामै पक्राउ गरे पनि चौधरीको वस्तुस्थिति मेल खाएपछि प्रहरीले सार्वजनिक गरेको हो।

मोरङको ग्रामथान गाउँपालिका घर भए पनि सिमराको बारा बस्दै आएका चौधरी तीन महिनादेखि ग्रामथानमै बस्दै आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

बुवाले कान्छी स्वास्नी ल्याएपछि चौधरी आमासँगै बारामा बस्दै आएका थिए। वैदेशिक रोजगारीबाट नेपाल फर्किएपछि मोरङ आएका चौधरीको ज्ञानमतीसँग सामाजिक सञ्जाल (इमो) मार्फत चिनजान भएको थियो।

त्यही चिनजान प्रेममा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वैदेशिक रोजगारीको क्रममा कुवेतमा हुँदादेखि नै उनीहरूले इमोमा कुरा गर्ने गरेको प्रहरीले जनाएको छ।

पाइलाले पत्ता लाग्यो
घटनास्थलमा अनुसन्धान गर्ने क्रममा शव भएदेखि पूर्वतिर रहेको बारीमा मानिसका पाइला देखिएपछि घटना पत्ता लगाएको एसपी कार्कीले जानकारी दिए। पक्राउ परेका चौधरीका जुत्ता र बारीमा देखिएका पाइला मिलेपछि प्रहरीलाई अनुसन्धानमा सहज भएको थियो। घटना घटाई चौधरी फरार भएको पुष्टि भएको उनको भनाइ छ।

चौधरी विवाहित थिए
पक्राउ परेका चौधरी विवाहित रहेको र १४ वर्षका छोरा समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनकी श्रीमती पनि रोजगारीका सिलसिलामा कुवेतमा रहेको र सम्बन्धमा खटपट भएको रहेछ।

श्रीमतीसँग सम्बन्ध खटपट भएपछि चौधरी ज्ञानमतीसँगको सम्बन्धमा जोडिएका थिए। ज्ञानमती र चौधरीबीच पनि केही समयदेखि खटपट भएको परिवारको भनाइ छ।

घरबाट भागेकी थिइन् ज्ञानमती
केही समयअघि प्रेम सम्बन्धमा रहेकी ज्ञानमती घरबाट भागेकी थिइन्। घरबाट भागेकी उनलाई रानी नाका हुँदै जोगबनीतर्फ जाने क्रममा मानव बेचबिखनविरुद्ध सक्रिय गैरसरकारी संस्थाले फेला पारी उद्धार गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

त्यसपछि पनि उनीहरू सम्पर्कमा रहेको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

मृतक ज्ञानमतीको नाममा फेसबुक, इन्स्टाग्राम, इमो लगायतका सामाजिक सञ्जालमा आफ्नै एकाउण्ट खोली चलाउने गरेको समेत पाइएको एसपी कार्कीले जानकारी दिए।

त्यसो त सामाजिक सञ्जालमार्फत परिवारका सदस्यलाई दुःख दिने आशयले चौधरीले फेसबुक म्यासेजमा विभिन्न फोटा पठाउने गरेका रहेछन्। नयाँ नयाँ नम्बरबाट धम्की समेत दिने गरेको प्रहरीको भनाइ छ।

परिवार विखण्डनपछि आफन्तकहाँ वास
पारिवारिक समस्याले मावली दाइको घरमा बस्दै आएकी ज्ञानमतीका बुवाको मृत्यु भइसकेको पारिवारिक स्रोतले जनाएको छ।

बुवा बितेपछि आमाले अर्कोसँग घरजम गरेसँगै जन्मथलो छोडेर आएकी उनी आफन्तको सहारामा थिइन्। दाइको घरमा पढ्दै काम सघाउँदै आएकी उनी परिवार विखण्डनका कारण पनि सानो उमेरमा यस्तो अवस्था आएको हुन सक्ने सरोकारवालाहरू बताउँछन्।

सन्तानका लागि आमा वा बुवाको साथ आवश्यकता रहेको समेत उनीहरूको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.