|

काठमाडौँ : चितवनको खैरहनी नगरपालिकाले विपन्न परिवारका बालबालिकाका लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको छ।

ज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाका लागि उनीहरूलाई पायक पर्ने बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिएको हो।

नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ। गृहकार्य कक्षाको लागि बस्तीे नजिक रहेको कोठा, सामुदायिक भवन, संघसंस्थाको भवन र विद्यालय नै भएको स्थानमा विद्यालयकै कोठामा गृहकार्य कक्षा सञ्चालन गरिएको खैरहनीका नगरप्रमुख शशिकुमार खनियाले जानकारी दिए।

केही ठाउँमा कोठा भाडामा लिएर समेत कक्षा सञ्चालन गरिएको र गृहकार्य कक्षाका लागि कापी समेत नगरपालिकाले उपलब्ध गराएको बताए। विद्यालयमा अध्ययन गरेपछि घरमा सहजीकरण, सिकाउने व्यक्ति नहुँदा विद्यार्थीले पर्याप्त शैक्षिक वातावरण नपाएको विषयलाई मद्देनजर गर्दै गृहकार्य कक्षा सञ्चालन गरिएको नगरप्रमुख खनियाले बताए।

विद्यालयमा दिइएको गृहकार्यसँगै अन्य थप विषयवस्तु र व्यावहारिक शिक्षा समेत गृहकार्य कक्षामा दिइँदै आएको छ। गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालबालिकामा विद्यालयपश्चात् पनि पढ्नेलेख्ने बानी विकास हुने, अभिभावकको समय अभावमा समेत बालबालिकामाथि निगरानी र संरक्षण प्राप्त हुने खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले बताइन्।

गृहकार्य कक्षाका लागि २८ जना सहजकर्तालाई खटाइएको छ। गृहकार्य कक्षाका लागि सहजकर्तामा बहालवाला शिक्षक, स्वयंसेवक शिक्षक र कक्षा १२ उत्तीर्ण गरेकाहरू रहेका छन्। प्रत्येक दिन दुईघण्टा कक्षा सञ्चालन हुँदै आएको छ। गृहकार्य कक्षा कार्यक्रममा नगरपालिकाका १३ वटै वडाका करिब ७८४ जना विद्यार्थी लाभान्वित हुने खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँले बताए।

नगरपालिकाले यसअघि सामुदायिक विद्यालयहरूमा विषयगत अध्ययन गराउन ५८ जना स्वयंसेवक शिक्षक खटाएर पठनपाठन गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.