|

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले दुर्गम क्षेत्रका जनताले नुन नपाएको गुनासो गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनीहरुले मुगुमा नुनभन्दा पनि सुन महँगो भएको, तराईमा आगलागी बढ्ने मौसम शुरु भएको उल्लेख गर्दै त्यसबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद सरस्वती सुब्बाले भूमिहीन दलितलाई जग्गा र आवासको व्यवस्था गर्ने संवैधानिक व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई दबाब दिइन्। उनले राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरिन्।

सांसद सुब्बाले भनिन्, ‘भूमिहीन दलितलाई कानून बमोजिम जमिन र आवासको व्यवस्था गर्ने कुरा संविधानमा उल्लेख छ। संविधानको मौलिक हकमा उल्लेखित गरिएका १४ वटा व्यवस्था कार्यान्वयन गर्न दलित भूमिहिनको अधिकार सम्बोधन गर्न आवश्यक छ। सोही मौलिक हक कार्यान्वयनका लागि २०७५ सालमा भूमि सम्बन्धि ऐन आठौं संशोधन भयो। भूमिहिनहरुलाई जमिन उपलब्ध गराउने कुरा लेखियो। राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न सरकारसँग माग गर्दछु।’

सांसद विना लामाले मुगुको तत्काल नुनको आवश्यकता व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। उनले दुर्गम क्षेत्रका नुन सुनभन्दा पनि महंगो हुनुको कारणबारे स्पष्ट जवाफ दिन पनि सरकारको ध्यानाकर्षण गराइन्।

बैठकमा तराईमा आगलागी बढेकोमा चिन्ता व्यक्त गर्दै निभाउनका लागि आवश्यक टोलीसहितको दमकलको व्यवस्था गर्न पनि सरकारलाई भनेका छन्। सांसद विनिताकुमारी सिंहले सरकारसँग सो माग गरेकी हुन्। उनले सिरहाको इटाटारमा दुईवटा घरमा आगलागी भएको उल्लेख गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिन्।

सांसद डा.स्वर्णिम वाग्लेले पूर्ण रुपमा अशक्त नागरिकका लागि सहयोगी उपलब्ध गराउने कानूनी व्यवस्था कार्यान्वयनमा ढिलाई नगर्न सरकारसँग माग गरे। उनले अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.