काठमाडौं : महालक्ष्मी विकास बैंकले महोत्तरीका आगलागीपीडितहरूलाई राहत सामग्री वितरण गरेको छ।
बैंकले वैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबारविहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो।
बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रही २ लाख पचास हजार रुपैयाँ बराबरको ७५० केजी आँटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० काटुन चाउचाउ लगायतका खाद्यान्नहरु सहयोग गरेको हो।
बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ।
१५ गते मटिहानी नगरपालिकाका मेयर श्री हरि प्रसाद मण्डल र बैंकको मधेश प्रादेशिक कार्यालयका प्रमुख सुदीप चन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीहरुको सहभागितामा पीडित परिवारहरुलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्।
बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरुको आधारभूत आवश्यकता पूरा गर्न थोरै भए पनि मद्दत पुग्ने विश्वास लिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।