धनकुटा : १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकपअन्तर्गत आइतबार वर्षाले रोकिएको उद्घाटन खेलको दोस्रो हाफ सोमबार हुँदैछ।
सशस्त्र प्रहरीको एपीएफ क्लब र चारतारे युवा क्लब मोरङबीचको दोस्रो हाफको खेल सोमबार बिहान १० बजे शुरु हुने आयोजकले जनाएको छ। आइतबार भएको पहिलो हाफमा एपीएफले १-० को अग्रता लिएको थियो। पहिलो हाफको पहिलो मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै एपिएफले अग्रता लिएको हो।
एपीएफका बुद्धिमान राईले प्रहार गरेको कर्नर बललाई सुमन श्रेष्ठले हेड मार्फत गोल गरेका थिए। वर्षाका कारण प्रभावित खेल २० मिनेट भएपछि १८ मिनेट स्थगित भएको थियो। त्यसपछि पुन २५ मिनेट खेल भएर स्थगित भएको हो। पहिलो गोल खाएपछि केही आक्रमक खेल खेल्ने प्रयास चारतारेका खेलाडीले गरे पनि एपिएफका डिफेन्सले कुनै मौका दिएनन्।
प्रतियोगिताको दोस्रो खेल सोमबार त्रिभुवन आर्मी क्लब काठमाडौं र विर्तामोड युनाइटेड क्लब झापा बीच खेल हुने आयोजकले जनाएको छ।
आगामी २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेछन्।
प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, चारतारे क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौं र बिर्तामोड युनाइटेड क्लब झापा सहभागी हुने छन्। यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सल्हेस युथ क्लब सिराहा सहभागी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।