|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल संघ संखुवासभाको आयोजनामा आजबाट जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो।

जिल्ला फुटबल संघको आयोजनामा बिहीबारदेखि २०८०।०८१ को जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो। लिगको पहिलो खेलमा लोहोरुङ क्लबले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा लोहोरुङ क्लबले नवयुग युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। अर्को खेलमा खाँदबारी युथ क्लबले हाङथुम क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ भने सेकाहा सामुदायिक विकास क्लब र तुम्लिङटार स्पोर्टिङ क्लब शून्य गोलले बराबर भएका छन्।

जेठ १५ गतेसम्म सञ्चालन हुने जिल्ला लिगमा ८ टोली सहभागी रहेको जिल्ला फुटबल संघ संखुवासभाका अध्यक्ष भरतकुमार घिमिरेले बताए। फुटबल संघले ८ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग सञ्चालन गरेको छ। लिगमा एक टिमले तीन खेल खेल्नेछन्। जिल्ला लिग फुटबल प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले गरे।

लिग विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र सेमिफाइनलिष्ट २ टिमले नगद १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी यो वर्षको संखुवासभा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार भविन कार्कीलाई प्रदान गर्ने भएको छ। उक्त पुरस्कारको राशि नगद २० हजार रुपैयाँ रहेको छ। कार्कीलाई जिल्ला फुटबल संघले पत्रकारिता पुरस्कार दिने घोषणा गरेको हो।

त्यसैगरी संखुवासभाको फुटबल खेल क्षेत्रमा विशेष योगदान पुर्‍याउने खेलाडी वसन्त ओझाले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.