|

बैतडी : वाइवाइ यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटको उपाधि बैतडीले जितेको छ। आज सम्पन्न फाइनल खेलमा कैलालीमाथि ७४ रनको जित निकाल्दै बैतडीले उपाधि रक्षा गरेको हो।

बैतडीले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको कैलाली २५ दशमलव पाँच ओभरमा एक सय ५६ रनमा अलआउट भयो। नरेन साउदले अर्धसतकीय पारी खेल्दै ६२ रन बनाए पनि अन्य ब्याटरले खासै प्रदर्शन गर्न नसक्दा कैलालीले उपविजेतामै चित्त बुझायो।

बैतडीका सचिन भट्ट एक्लैले छ विकेट हात पारे। म्यान अफ द फाइनल समेत चुनिएका सचिनले सात दशमलव पाँच ओभरमा ४१ रन खर्चिँदै छ विकेट लिएका हुन्।

यसअघि परशुराम रङ्गमैदानमा पहिला ब्याटिङ गरेको बैतडी ४५ ओभरमा दुई सय ३० रनमा समेटियो। जसमा आयुस चन्दले अविजित ६३, कप्तान नरेन भट्टले ४८, सुमित बुडालले ३८, सचिन भट्टले २६ रन योगदान गरे । कैलालीका लागि डम्बर माझी र भुपेश जोशीले तीन/तीन विकेट झारे।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीलगायतले पुरस्कार वितरण गरे। 

गत जेठ २० गतेदेखि सुरु भएको प्रतियोगितामा क्यान आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता थियो। यो छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.