|

आज जुन १६ तारिख, महिला अन्तरिक्ष यात्रीका लागि स्मरणीय दिन। यो दिनलाई विशेष बनाएकी थिइन् भ्यालेन्टिना टेरेस्कोभाले, जो सन् १९६३ जुन १६ मा अन्तरिक्ष यात्रा गर्ने पहिलो महिला बनिन्। 

टेरेस्कोभाले पहिलो मानव अन्तरिक्ष उडान भोस्तोक–सिक्स मिसनअन्तर्गत पृथ्वीको परिक्रमा गरेकी थिइन्। उनले आफ्नो एकल अभियानको क्रममा तीन दिन अन्तरिक्षमा बिताइन्।

टेरेस्कोभा अन्तरिक्षमा उडान गर्ने सबैभन्दा कम उमेरकी, एक्लै अन्तरिक्ष यात्रा गर्ने एकमात्र महिला हुन्। उनीभन्दा दुई वर्ष अगाडि युरी गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति बनेका थिए।

सोभियत एयर फोर्सका पाइलट गगारिनको क्याप्सुल भोस्टोक वान् ले १९६१ अप्रिल १२ मा पृथ्वी कक्षको एक चक्कर लगाएको थियो। उनी अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका थिए। 

रोयल म्युजियम अफ ग्रीनविचका अनुसार, आफ्नो एक मात्र अन्तरिक्ष मिसनपछि टेरेस्कोभाले धेरै प्रतिष्ठित पदकहरू प्राप्त गरेकी छन् भने राजनीतिक पदहरू सम्हालिसकेकी छिन्। उनले सोभियत विज्ञानको अधिवक्ताको रूपमा विश्व भ्रमणसमेत गरिन्।

किसानकी छोरीको अन्तरिक्षयात्रा

भ्यालेन्टिना टेरेस्कोभाको जन्म सन् १९३७ मार्च ६ का दिन रुसको म्याज्लेनिकोभोमा एक किसान परिवारमा भएको थियो। युरोपेली अन्तरिक्ष एजेन्सी इएसएका अनुसार, उनको बुबा ट्रेयाक्टर चालक थिए, जो दोस्रो विश्वयुद्धमा मारिए।

उनकी आमा कपडा कारखानामा काम गर्थिन्। थोरैमात्र औपचारिक शिक्षा प्राप्त गरेकी उनी १८ वर्षको उमेरमा कपडा कारखानामा काम गर्न गइन्। 

२२ वर्षको छँदा स्थानीय यारोस्लाभल एयर स्पोर्ट्स क्लबमा पहिलो प्यारासुट जम्प गरेपछि उनको जीवन बदलियो। प्यारसुटिङमा सानै देखि रुचि राख्ने उनी  स्थानिय एरोक्ल्बमा प्यारासुटिङ सिकेर २१ मे १९५९ को दिन पहिलोपटक प्यारासुट लिएर हाम फालिन्।

उनको प्यारासुटिङ् कलाले उनलाई अन्तरिक्ष यात्रामा सफलता दियो।  स्मिथ सोनियन एयर एण्ड स्पेस म्युजियमका अनुसार शौखिन प्यारासुटर उनले १५० भन्दा बढी जम्प गरिन्।

स्काइडाइभिङप्रति उनको लगावले सोभियत अन्तरिक्ष कार्यक्रमको ध्यान खिच्यो। जुन कार्यक्रमले सन् १९६१ अप्रिलमा, अन्तरिक्षमा जाने पहिलो मानव युरी गागारिनलाई प्रक्षेपण गरेको थियो। सोभियत प्रमुख डिजाइनर सर्गेई कोरोलियोभ पहिलो महिलालाई अन्तरिक्षमा उडाउन चाहन्थे। नासाका अनुसार, सन् १९६२ मा अमेरिका भ्रमणमा गएको सोभियत अन्तरिक्ष प्रतिनिधिमण्डलले अमेरिकी महिलाले छिट्टै अन्तरिक्ष यात्रा गर्ने विश्वास गरेको थियो। 

भ्यालेन्सियाको छनोट

सन् १९६२ फेब्रुअरी १६ मा अन्तरिक्ष यात्री समूहमा सामेल हुन चाहेका ४०० आवेदकमध्ये पाँच महिला छनोट भए। तिनमा तात्याना कुज्नेत्सोभा, इरिना सोलोभियोभा, झान्ना योर्किना, भ्यालेन्सिना पोनोमारियोभा र भ्यालेन्टिना टेरेस्कोभा थिए।

उनीहरुलाई अन्तरिक्ष उडानको लागि महिनौँ दिनसम्म प्रशिक्षण दिइयो। इएसएका अनुसार, उनीहरूले जेट विमानमा पाइलट प्रशिक्षणसँगै १२० प्यारासुट जम्प गरे। नोभेम्बर १९६२ मा परीक्षा पास गरेका चार उम्मेद्वार सोभियत वायुसेनामा लेफ्टिनेन्टको रूपमा नियुक्त भए। 

त्यसबेला, अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्किनुभन्दा केही सेकेन्डअघि आफ्नो क्यापबाट प्यारासुटको सहारा लिएर ओर्लनुपर्थ्यो। नासा भन्छ : ‘अन्य सम्भावित महिला अन्तरिक्ष यात्रीहरू टेरेस्कोभाभन्दा प्राविधिक रूपमा अधिक योग्य थिए, तर उनी सोभियत सर्वहारा वर्गको उपयुक्त प्रतिनिधि र राजनीतिक उम्मेद्वार थिइन्।’ 

भोस्टोक फाइभ र सिक्स लन्च

सोभियत संघले सन् १९६२ को अन्त्यमा दुई महिला यात्रीलाई अन्तरिक्षमा पठाउने उद्देश्य राखे पनि मिसनमा ढिलाइ भयो। मार्च १९६३ मा, पुरुष अन्तरिक्षयात्री भलेरी बाइकोम्स्कीले भोस्टोक फाइभ उडाउने निर्णय भयो। भोस्टोक सिक्सको चालक टेरेस्कोभालाई बनाइयो।

भोस्टोक फाइभ र बाइकोभ्स्कीलाई भोस्टोक सिक्सभन्दा अगाडि सन् १९६३ जुन १४ प्रक्षेपण गरियो जुनबेला टेरेस्कोभा भोस्टोक-सिक्सको प्रक्षेपणको लागि अन्तिम तयारी नियालिरहेकी थिइन्। भोस्टोक सिक्स दुई दिनपछि जुन १६, १९६३ मा बायकोनुर कस्मोड्रोमबाट लञ्च गरियो।

भोस्टोक सिक्सलाई स्वचालित नियन्त्रण प्रणालीद्वारा निर्देशित गरिएको थियो, टेरेस्कोभाले  यानलाई नियन्त्रण गर्नुपर्ने थिएन। भोस्टोक फाइभ र भोस्टोक सिक्सको कक्षहरु छुट्टाछुट्टै थियो र उनीहरू आफ्नो उडानका क्रममा एकअर्काभन्दा करिब ३ माइलको दुरीमा थिए। टेरेस्कोभा र बाइकोभ्स्कीलले छोटो समय एकअर्कासँग कुराकानी गर्ने मौका भने पाएका थिए। 

भोस्टोक-सिक्स उडानको क्रममा, टेरेस्कोभाले सोभियत नेता निकिता ख्रुश्चेभसँग रेडियोबाट पनि संवाद गरिन्, उनलाई टेलिभिजन र सोभियत संघभरि प्रसारण गरिएको थियो। टेरेस्कोभाले मिशनको विस्तृत विवरण र अन्तरिक्ष उडानमा आफ्नो शरीरको प्रतिक्रियाका बारेमा डाटा संकलन गरिन्।

यसका अतिरिक्त, पहिलो महिला अन्तरिक्ष यात्रीले पृथ्वीको तस्बिरहरू खिचिन्, जसमध्ये केहीको प्रयोग हाम्रो ग्रहको वायुमण्डलमा एरोसोल तहहरू पहिचान गर्नका लागि गरियो। 

भोस्टोक-सिक्स मिसन ७१ घण्टा १२ मिनेट चलेको थियो। टेरेस्कोभाले अन्तरिक्षमा तीन दिनको अवधिमा पृथ्वीलाई ४८ परिक्रमा गरिन्। सन् १९६३ जुन १९ मा भोस्टोक-सिक्स पृथ्वीको वायुमण्डलमा पुनः फर्कियो र टेरेस्कोभा २० हजार फिटको उचाइमा बाहिर निस्किइन् र सुरक्षित रूपमा पृथ्वीमा फर्किइन्।  त्यसको केही घण्टापछि भोस्टोक-फाइभ केही घण्टापछि सुरक्षित रूपमा पृथ्वीमा फर्कियो। 

त्यसपछि भने टेरेस्कोभा कहिल्यै अन्तरिक्षमा गइनन् किनकि महिला अन्तरिक्ष यात्री समूह अक्टोबर १९६९ मा विघटन गरियो। सोभियत संघलाई अन्तरिक्षमा महिला पठाउन थप १९ वर्ष लाग्यो। सन् १९८२ मा, स्वेतलाना सवितस्काया अन्तरिक्षमा जाने दोस्रो रूसी महिला बनिन्। पृथ्वीमा फर्किएपछि टेरेस्कोभालाई अर्डर अफ लेनिन र सोभियत संघको हिरो अवार्डले सम्मान गरियो। 

वैवाहिक जीवन

टेरोस्कोभाले सन् १९६३ नोभेम्बरमा अन्तरिक्ष यात्री एन्ड्रिन निकोलायेभसँग विवाह गरिन्। तर यो जोडी लामो समय साथमा बस्न सकेन। उनीहरूको एउटी छोरी छिन्।  सन् १९७९ मा यो जोडी अलग भयो। 

सन् १९७८ मा अन्तरिक्षमा फर्कने विषयमा भएको समीक्षा कार्यक्रममा टेरेस्कोभाको भेट युली शापोश्निकोभ नाम गरेका सैन्य चिकित्सकसँग भयो। निकोलायेभसँग अलग भएपछि टेरेस्कोभा र शापोश्निकोभ २० वर्ष सँगै बसे। सन् १९९९ मा उनको मृत्यु भयो।

राजनीतिक स‌ंलग्नता

सोभियत संघको पतन हुनुअघि, टेरेस्कोभा कम्युनिष्ट पार्टीको एक प्रमुख सदस्य थिइन्। १९७५ मा मेक्सिको सिटीमा अन्तर्राष्ट्रिय महिला वर्षको लागि संयुक्त राष्ट्रसंघको सम्मेलनमा सोभियत प्रतिनिधिको रूपमा अन्तर्राष्ट्रिय महिला संगठनहरूको बैठकमा सहभागी भइन्। उनलाई संयुक्त राष्ट्रसंघको शान्ति स्वर्ण पदक, सिम्बा अन्तर्राष्ट्रिय महिला आन्दोलन पुरस्कार, र जोलियट–क्युरी स्वर्ण पदकद्धारा अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो।

टेरेस्कोभा सन् १९६६ मा विश्व शान्ति परिषद्को सदस्य भइन्। सन् १९६७ मा यारोस्लाभ सर्वोच्च सोभियत संघको सदस्य बनेकी उनले १९६६ देखि १९७० सम्म सुप्रिम सोभियत संघको सदस्यको रूपमा सेवा गरिन्।

सन् १९७७ मा उनले एरोनटिकल इन्जिनियरिङमा डक्टरेट डिग्री हासिल गरिन्। १९८० को दशकमा, टेरेस्कोभाले सर्वोच्च सोभियतको उपप्रमुखको रूपमा काम गरिन् र अन्तर्राष्ट्रिय महिला महासंघको उपाध्यक्ष हुनुका साथै अन्य धेरै अन्तर्राष्ट्रिय पदहरू धारण गरिन्। सन् १९९१ मा सोभियत संघको विघटनपछि उनी राजनीतिमा सक्रिय भइन्।

उनको अन्तिम राजनीतिक पद २०२१ मा अन्तर्राष्ट्रिय मामिला समितिको उपाध्यक्षको रूपमा थियो।

टेरेस्कोभा अन्तरिक्षमा उड्दा मात्र २६ वर्षकी थिइन्। उनी यस्तो यात्रा गर्ने सबैभन्दा कम उमेरकी महिला बनिन्। नासाका अनुसार ८६ वर्षको उमेरमा पनि टेरेस्कोभा एकतर्फ यात्रा बने पनि मंगल ग्रहको यात्रा गर्ने पहिलो महिला बन्न चाहन्छिन्।

२०१७ मा लञ्च गरिएको आर्टेमिस अन्तरिक्ष कार्यक्रमको हिस्साको रुपमा २०२५ सम्म मानवलाई चन्द्रमामा फर्काउनु मात्र नभई त्यहाँ अर्को ग्रहमा स्थायी उपस्थिति स्थापित गर्ने नासाको लक्ष्य छ।

यस्तैगरी, चन्द्रमामा पहिले महिला र पहिलो अश्वेत व्यक्तिलाई उतार्न चाहेको छ र ती महिला जेसिका मेयर हुनसक्ने देखिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.