|

काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।  समूह चरणको अन्तिम खेलमा नेपाललाई बंगलादेशले २१ रनले पराजित गरेको हो। 

१०७ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनायो। योसँगै नेपालले विश्वकपमा खेलेका कुनै पनि खेलमा जित निकाल्न सकेन। 

नेपालका लागि सर्वाधिक २७ रन कुशल मल्लले बनाए। उनले ४० बल खेलेका थिए। त्यस्तै दीपेन्द्रसिंह ऐरी २५  रन बनाएर आउट भए। कुशल र दीपेन्द्रले ५१ रनको साझेदारी गरे पनि जित निकाल्न सकेनन्।

आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाएनन्। ५ खेलाडी शून्य रनमा आउट भए। कप्तान रोहित पौडेल र सन्दीप जोरा १–१ रनमा पेभिलियन फर्किए। ओपन कुशल भुर्तेलले ४ रन बनाए।

नेपाललाई सस्तैमा समेट्न बंगलादेशका ताजिब हुसेनले ४ तथा मुस्तफिजुर रहमानले ३ र शाकिब अल हसनले २ विकेट लिए। 

त्यसअघि टर हारेर ब्याटिङ गरेको बंगलादेश १ सय ६ रनमा अल आउट भएको थियो। १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै टेस्ट टोली बंगलादेशले नेपाललाई १ सय ७ रनको सामान्य  लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका सोमपाल कामीले इनिङको पहिलो बलमै बंगलादेशी ओपनर तान्जित हसनलाई बाहिर पठाए। कप्तान नजमुल हुसेन शान्तो ४ रनमा दीपेन्द्रसिंह ऐरीका बलमा बोल्ड भए। १० रन बनाएका लिट्टन दासलाई सोमपालले पेभिलियन फर्काए। तौहिद ह्रिदोय ९ रनमा कप्तान रोहित पौडेलको सिकार भएपछि पावरप्लेमा बंगलादेश ३१ रनमा ४ विकेट गुमाएको दयनीय अवस्थामा पुग्यो।

अनुभवी खेलाडी महमुदुल्लाह र शाकिब अल हसनको प्रदर्शन पनि निराशाजनक रह्यो। महमुदुल्लाहल ९ र शकिबले सर्वाधिक १७ रन बनाए। तन्जिम हसन साकिब सन्दीप लामिछानेको बलमा बोल्ड भए। जाकर अलीलाई बोल्ड गर्दै सन्दीपले ५४ इनिङमा १ सय टी–२० आई विकेट पूरा गरे। टी–२० क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट लिने बलरको सूचिमा सन्दीप दोस्रो स्थानमा छन्।

अफगानिस्तानका राशिद खानले यो उपलब्धि ५३ खेलमा पूरा गरेका छन्। रिशाद हुसेन १३ र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए। तस्किन अहमद १२ रनमा अविजित रहे। यससँगै सन्दीप लामिछाने नेपालको लागि टी–ट्वेन्टी आईमा १०० विकेट लिने पहिलो खेलाडी बनेका छन्।

नेपालका लागि सोमपाल, दीपेन्द्र, रोहित र सन्दीपले २–२ विकेट बाँडे। जितसँगै बंगलादेश सुपर एटमा प्रवेश गरेको छ।  नेपाल भने यस अघि नै बाहिरिसकेको थियो। नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो। दोस्रो खेलमा वर्षा बाधक बन्दा श्रीलंकासँग अ‌ंक बाँड्न बाध्य भएको नेपाल तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.