|

काठमाडौँ : आईसीसी टी-२० विश्वकपमा आज समूह चरणअन्तर्गत समूह डी मा नेपाललाई रोमाञ्चक खेलमा पराजित गर्दै बंगलादेश सुपर ८ मा पुगेपछि सुपर ८ मा खेल्ने ८ वटै टोलीको टुंगो लागेको छ।

सोमवार समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गर्दै समूह डी मा ६ अंकसहित दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुग्ने ८औँ टोली बनेको हो।

वेष्ट इण्डिज र अमेरिकामा जारी आईसीसी विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको थियो। हरेक समूहबाट तालिकाको शीर्षमा रहने २ टोलीले सुपर ८ मा पुगेका हुन्।

समूह ए बाट भारत र अमेरिका, बी बाट अष्ट्रेलिया र साविक विजेता इङ्ल्याण्ड, सी बाट वेष्ट इण्डिज र अफगानिस्तान तथा डी बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका हुन्।

सुपर ८ मा पुगेका यी आठवटै टोली सन् २०२६ को टी-२० विश्वकपका लागि समेत सीधै छनोट भएका छन्।

अष्ट्रेलिया र दक्षिण अफ्रिकाले समूह चरणमा खेलेका सबै ४ वटै खेल जिते। आफ्नो समूहमा भारत पनि अपराजित रह्यो। भारतले ३ खेल जित्यो भने क्यानडासँगको खेल वर्षाका कारण हुन नसकेपछि अंक बाँडेको हो। 

वेष्ट इण्डिज र अफगानिस्तानबीच समूह चरणको अन्तिम खेल भोलि मंगलवार हुनेछ। दुवै टोली यो खेलअगावै सुपर ८ मा पुगिसकेका छन्।

यस पटक न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका विश्वकपको समूह चरणबाटै घर फर्किनु परेको छ।

सन् २०१४ पछि यस वर्ष टी-२० विश्वकपमा फर्किएको नेपालले कुनै खेल जित्न सकेन। यसैगरी आयरल्याण्ड र ओमानले पनि एउटै खेल जित्न सकेनन्।

पपुवा न्युगिनी र न्युजिल्याण्डबीच आज राति खेल हुँदै छ। यो खेलमा पराजित भए पपुवा न्युगिनी पनि सबै खेल हारेर घर फर्किनेछ।

सुपर ८ को समूह ए मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश तथा समूह बी मा दक्षिण अफ्रिका, इङ्ल्याण्ड, अमेरिका र वेष्ट इण्डिज छन्।

सुपर ८ का खेल बुधवार शुरु हुनेछन्। सुपर ८ का दुवै समूहमा शीर्षमा रहने २ टोली सेमिफाइनल पुग्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.