|
फाइल तस्वीर

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले २ दिनदेखि उत्पादन घटेको हो।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार १ हजार ५३० मिटर गहिराइको पानीमा संचालन हुने कुलेखानी जलाशयको सतह घटेर १ हजार ४८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ। 

पछिल्लो समय पानी नपरेकाले जलविद्युतको महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिए। 

विशेषगरी नदीको पानी कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् माग धेरै भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ।

समुद्री सतहबाट १ हजार ४८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उनको भनाइ छ। पछिल्लो समय कुलेखानी नियमित चलाउनुपरेको र पानी नपर्दा इन्द्रसरोवरमा पानीको सतह घटेको जानकारी उनले दिए। 

प्रमुख भट्टका अनुसार सोमवारसम्म सरोवरमा पानीको सतह १ हजार ४८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो। 

गएराति पानी परेपछि आज विहान केही पानी जम्मा भएको छ। उनका अनुसार विसं २०५८ पछि यस वर्ष पानीको सतह धेरै घटेको हो। कुलेखानीबाट आपतकालीन् समयमा मात्रै बिजुली उत्पादन गरिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.