|
तस्वीर सौजन्य : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर।

साउदी अरबको दुईदिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलवार जेद्दा पुगेका छन्।

उनी जेद्दामा उत्रिएपछि उनलाई २१ तोपको सलामी दिइएको थियो। ​साउदी भ्रमणमा भारत र साउदी अरबबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उनी अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमणमा गएका हुन्।

सन् २०१४ देखि प्रधानमन्त्री मोदीले साउदी अरब र खाडी मुलुकहरूसँग भारतको सम्बन्धमा ठूलै परिवर्तन गरेका छन्। सन् २०१६ र २०१९ मा साउदी अरबको भ्रमणपछि यो उनको तेस्रो भ्रमण हो। खाडी क्षेत्रका मुलुकमा उनले गरेको यो १५औँ भ्रमण हो।

“आज म साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा साउदी राज्यको दुईदिने राजकीय भ्रमणमा प्रस्थान गर्दै छु”, उनले प्रस्थानपूर्व जारी गरेको विज्ञप्तिमा भनेका थिए। 

“हालैका वर्षहरूमा रणनीतिक गहिराइ र गति प्राप्त गरेको साउदी अरबसँगको लामो र ऐतिहासिक सम्बन्धलाई भारतले ठूलो महत्त्व दिन्छ”, उनले भनेका छन्, “सँगै, हामीले रक्षा, व्यापार, लगानी, ऊर्जा र जनता–जनता सम्बन्धका क्षेत्रहरूसहित पारस्परिक रूपमा फाइदाजनक र ठोस साझेदारी विकास गरेका छौँ। क्षेत्रीय शान्ति, समृद्धि, सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न हाम्रो साझा चासो र प्रतिबद्धता छ।”

साउदी अरबमा बस्ने भारतीय समुदायसँग सम्पर्क गर्न पनि उत्सुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भनेका थिए, “भारतीय समुदायले दुई राष्ट्रबीच जीवन्त पुलको रूपमा काम गरिरहेको छ र सांस्कृतिक तथा मानवीय सम्बन्ध अझ सुदृढ पार्न अपार योगदान गरिरहेको छ।”

शनिवार विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्रीले मोदीको भ्रमणले प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए। यसमा पश्चिम एशियाको अवस्था, इजरायल–प्यालेस्टिन द्वन्द्व र हुथी आक्रमणका कारण समुद्री सुरक्षामा खतरालगायत विषय समावेश छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.