|

काठमाडौं : गुण्डागर्दीको क्रममा धोका दिएपछि रोज राणालाई उनकै समूहका युवाहरुले खुकुरी प्रहार गरेको तथ्य खुलेको छ। वास्तविक नाम सरोज थापा भएका राणालाई खुकुरी हान्ने दुई जनालाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो। 

प्रहरीले भक्तपुर सिद्धपोखरी घर भई नयाँ बजार बस्ने मोटे भनिने विवेचन प्रजापति र धादिङ कटुन्जेका कटुन्जे भनिने सूर्य लामालाई पक्राउ गरेको हो। उनीहरु दुबैलाई नयाँ बजारबाट महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको थियो। 

काभ्रे चल्लेभुम्भका जोधा भनिने रत्नबहादुर लामा भने फरार रहेका छन्। उनीहरुले प्रयोग गरेको बा ३२ प ३८३१ नम्बरको पल्सर मोटरसाइकल पनि प्रहरीले वरामद गरेको छ। 

घटनाको योजना कसरी बन्यो?

प्रहरीमा विवेचन प्रजापतिले दिएको बयान अनुसार रोज राणा, रत्नबहादुर लामा र इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ एउटै समूहमा रहेर काम गर्दथे। उनीहरु गुण्डागर्दीका साथै अन्य कारोबारमा पनि संलग्न थिए। समूहको व्यवस्थापन गर्ने काम रोज राणाले गर्ने गर्थे। त्यसैको फाइदा उठाउदै उनले साथीहरुलाई धोका दिएर बढी रकम लिने गर्थे। यो थाहा पाएपछि रत्नबहादुर रिसाउँदै आएका थिए।

रत्नबहादुर विशेष गरी दिनेश अधिकारी ‘चरी’ को लागि काम गर्थे। चरी इन्काउन्टरपछि रत्नबहादुर भागेर दिल्लीमा लुक्दै आएका थिए। ‘चरी’ र ‘घैटे’ को इन्काउन्टरमा रोज राणाले प्रहरीलाई सहयोग गरेको सूचना रत्नबहादुरले पाएपछि उनी रोज राणालाई आक्रमण गर्ने योजनामा थिए।

बदला लिनका लागि रत्नबहादुरले भारतको सिलगुडीबाट ३ महिना पहिला मोटे भन्ने विवेचन प्रजापतिलाई पठाएका थिए। उनले रोज राणालाई आक्रमण गर्न ५० हजार भारतीय रुपैयाँ पनि दिएका थिए। करिब ३ हप्ता अघि रत्नबहादुर पनि काठमाडौं आई रोज राणलाई अंगभंग बनाउनको लागि थप ३० हजार रुपैयाँ दिएका थिए। काम सकेपछि थप ३० हजार रुपैयाँ दिने रत्नबहादुर र विवेचनबीच शर्त भएको थियो।

त्यही योजना अनुरुप मोटेले गत साउन ३१ गते सूर्य लामालाई मोटरसाइकल चलाउन लगाई झोलामा खुकुरी हालेर रोज राणाको खोजीमा निस्किए। उनीहरुले बागबजार, दरबारमार्ग हुँदैसम्म रोज राणाको पिछा गरे। ३ ठाँउमा नै आक्रमण गर्न नसकेपछि बाध्य भएर उनीहरुले मध्य बानेश्वरमा रहेको सेन्टर क्याफे अगाडि आक्रमण गरे। साँझ करिब ६ बजेर ४५ मिनेटमा उनीहरुले दाहिने हातमा चोट लाग्ने गरी आक्रमण गरेर फरार भएका थिए। 

को हुन् रोज राणा ?

प्युठान घर भएका रोज राणाले सुरुमा रेष्टुरेन्ट सञ्चालन गरेका थिए। डान्स रेष्टुरेन्ट सञ्चालनकोे नाममा युवतीलाई जबर्जस्ती नाङ्गो नृत्य गर्न लगाएको आरोप लागेपछि राणा चेलीबेटी बेचविखन मुद्दामा राणा ८ महिना जेल परेका थिए।

जेलमा परेपछि उनी राजधानीमा चलेका गुण्डाहरुको सम्पर्कमा पुगेका थिए। जेलमा उनको भेट सुजन पौडेल उर्फ रमेश बाहुनसँग भएको थियो। त्यसपछि क्रमशः दिनेश अधिकारी ‘चरी’, कुमार श्रेष्ठ ‘घैटे’, साजन महर्जन हुँदै चक्रे मिलनसम्म उनको सम्पर्क स्थापित भएको थियो। गुण्डाहरुको हिमचिम भएपछि उनलाई रेष्टुरेन्ट चलाउन पनि सजिलो भएको थियो।

अर्कोतर्फ नामका लागि भनेर उनले चलचित्र निर्माणको काम पनि सुरु गरेका थिए। उनले खलनायक, डन, दोस्ती, दादागिरी, टक्कर दुई मुटुको, म छु नि तिम्रो जस्ता फिल्म निर्माण तथा अभिनय गरेका राणाले पछिल्लोपटक विराज भट्टको अभिनयमा रहेको जय परशुराम चलचित्र प्रदर्शनमा ल्याएका थिए। उनी चलचित्र निर्माता संघको उपाध्यक्ष समेत भएका थिए।

हैसियतभन्दा बढी सम्पत्ति कमाएको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राणालाई पनि छानबिनको दायरामा राखेको थियो। सम्पत्ति शुद्धीकरण कानुन अन्तर्गत विशेष अदालतमा मुद्दा दायर भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छानबिन अघि बढाएको थियो। उनीसँगै डन नाइकेहरु गणेश लामा, दीपक मनाङे, चक्रे मिलन, पर्शुराम बस्नेत र अभिषेक गिरीलाई मुद्दा दायर गरेको थियो।

प्रहरीले बेला बेलामा पक्राउ गर्न थालेपछि उनले राजनीतिक संरक्षणका लागि नेपाली कांग्रेसको सदस्यता लिएका थिए। पैसा र गुण्डागर्दीको भरमा पार्टीभित्र राम्रो पकड जमाउदै उनी प्युठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत हुन सफल भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.