|

काठमाडौं  : फौजी पृष्ठभूमिबाट आएकी ओनसरी घर्ती उपसभामुख हुँदै नेपालको पहिलो महिला सभामुख बन्न सफल भइन्। सभामुखको हैसियतमा बैठक सञ्चालन गर्दा सुरुका दिनहरुमा केही अलमल देखिएपनि निरन्तरको अभ्यासले उनको आत्मविश्वास दरिलो भएको छ।

सभामुख घर्तीले संसद सञ्चालन कौशलमा जति सुधार गरेकी छिन्, संसदका बेथितिमा कमी ल्याउन पनि उत्तिकै क्रियाशील छिन्। बैठक अनुशासित र मर्यादित बनाउन, संसदमा आर्थिक अनियमितता रोक्न, कर्मचारीहरुको वृत्ति विकास लगायतका काममा उनले सुधार गरेकी छिन्। संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २९ गते सभामुखमा निर्वाचित भएदेखि  उनले गरेका सुधारका कामहरु यस्ता छन् :

१. समयमै संसद बैठक सञ्चालन

विगतमा संसद बैठक बोलाएको समयमा भन्दा कम्तीमा आधा घन्टा ढिला सञ्चालन हुन्थ्यो। सभामुख ओनसरी घर्तीले हाल समयमै बैठक सञ्चालन गर्छिन्। प्राय ११ बजे बस्ने संसदमा बैठकको जनाउ घन्टी समयमै बज्छ। दुई महिनाअघि पारित भएको संसदको कार्यसञ्चालन नियमावलीको नियम ६ मा सुरुमा आह्वान भएको बैठक २ घन्टासम्म सुरु नभए सभामुखले स्थगन गरी अर्को बैठकको सूचना गर्नुपर्ने व्यवस्था छ। यसले पनि संसद बैठक समयमै सञ्चालन हुँदै आएको छ।

२. खाजा र खानाको सट्टा भत्ताको व्यवस्था

५ सय ९५ सदस्य रहेको संसदमा खाना तथा खाजाका लागि एकै दिन ३७ सय कुपन वितरण भएको पाइयो। खाजा तथा खानाको कुपन दुरुपयोग बढेपछि सभामुख घर्तीले सांसदलाई समिति बैठकमा सहभागी भएबापत खाना तथा खाजाको सट्टा ४ सय भत्ता दिने निर्णय गरिन्। संसद सार्वजनिक विदाका दिन बन्द हुने भएपनि काम भएको बहानामा ७ सय रुपैयाँ भत्ताका लागि कर्मचारीहरु हाजिर गरेर हिँड्ने प्रचलन अन्त्यका लागि उनले सार्वजनिक विदामा संसद पूर्णरुपमा बन्द गर्ने प्रचलन सुरु गरेकी छिन्।

३. समयमै माइक कटौती

संसद बैठकमा सांसदहरुले शून्य समयमा एक मिनेट बोल्न पाउँछन् भने विशेष समयमा सभामुखले तोकिदिएको समयभित्र आफ्ना भनाई सिध्याउनुपर्छ। तर सभामुखसँग समय माग गरेपछि सांसदहरुले समय भन्दा बढी बोल्ने प्रचलन कायम थियो। सभामुखको पटक पटकको रुलिङलाई समेत वेवास्ता गर्दै सांसदहरु बोलिरहन्थे। संसदमा अहिले त्यो सुविधा सांसदहरुलाई छैन। निर्धारित समयमा आफ्ना कुरा सिध्याउनुपर्ने बाध्यता उनीहरुलाई छ। अन्यथा माइक आफै बन्द हुन्छ। यसले महत्वपूर्ण कुरा समयमै राख्न सांसदहरुलाई अभ्यास गराएको छ।

संसदमा अन्य सुधारका तयारी

१ विदेश भ्रमणमा कडाई

संसदमा महत्वपूर्ण कार्यसूचीमा छलफल भइरहेका समयमा समेत सांसदहरु विदेश भ्रमणमा जान थालेपछि संसद चलिरहेको समयमा सचिवालयले विदेश भ्रमण अस्वीकृत गर्ने तयारी गरिरहेको छ। सांसदहरुलाई निर्वाचन क्षेत्र जान तथा अध्ययन अवलोकन भ्रमणका लागि सहज बनाउन संसद बैठक एक साता बिहान ११ बजेदेखि ६ बजेसम्म लगातार सञ्चालन गर्ने र बढीमा एकसाता स्थगित गर्ने सभामुखको तयारी छ।

२.प्रश्नोत्तर समय कार्यान्वयनमा ल्याउने

संसदको कार्यसञ्चालन नियमावलीको नियम ५७ मा प्रश्न उत्तर समयको व्यवस्था छ। नियम अनुसार सभामुखले अन्यथा आदेश दिएमा बाहेक प्रत्येक बैठकको पहिलो घन्टा प्रश्न उत्तर सयम हुनेछ। जसमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीहरुलाई प्रश्न सोध्नेछन् र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्नेछ। सरकारलाई बढी उत्तरदायी बनाउन सहयोगी हुने प्रश्नोत्तर समय कार्यान्वयनमा ल्याउने तयारी सभामुखको छ। त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग परामर्श गरिरहेकी छिन्।

४. संस्था करार हटाउने

संसद सचिवालयमा कर्मचारी नियुक्ति गर्दा संस्था करार र व्यक्ति करार गर्ने चलन छ। संस्था करार गर्दा कामदारले तलब कम पाउने जानकारी सभामुखले घर्तीले पाएपछि संस्था करार रोकिएको छ। सचिवालयलाई आवश्यक कर्मचारी करारमा नियुक्ति गर्नुपर्नेमा अनिवार्य व्यक्ति करार गर्नुपर्नेछ। संसद सचिवालयको प्रशासनको सम्पूर्ण जिम्मेवारी सभामुखले महासचिव मनोहरप्रसाद भट्टराईलाई दिएकी छिन्। यस्तै २५ वर्षदेखि हुन नसकेको सचिवालयको सांगठनिक व्यवस्थापन मजबुद र चुस्त बनाउन सभामुखले सरकारसँग समन्वय गरिरहेकी छिन्।

५. सांसद आवास बनाउने

सभामुखले संसदको आफ्नै भवन र निर्माण गर्न पहल गरेकी छन्। ललितपुरको भैँसेपाटीमा सांसदको आवास र सिंहदरबारको पुतली बगैँचामा संसद भवन निर्माण गर्न चालु आर्थिक वर्षमा बजेट समेत छुट्टाइएको छ। ती संरचना निर्माण यथासिघ्र सुरु गर्न सभामुख घर्ती क्रियाशील छिन्।

सांसदको नजरमा सभामुख

संसदमा सभामुख ओनसरी घर्तीबाट सुधार गरिएका कामलाई सांसदहरुले स्वागतयोग्य भनेका छन्। संसदको गरिमा बढाउन र सुशासन कायम गर्न सभामुख घर्तीले गरेको कामलाई प्रशंसा समेत गरेका छन्।

नेपाली कांग्रेस सांसद जगदिश्वर नरसिंह केसीले संसदको फजुल खर्च रोक्न सभामुखले चालेको कदम स्वागतयोग्य भएको बताए। ‘संसदमा भइरहेको फजुल खर्च कटौती गर्न सभामुखले गर्नुभएको काम सकरात्मक छ', उनले भने,‘अन्य सुधारका काम पनि छिट्टै होस्। सस्तो लोकप्रियताको लागि मात्र काम नहोस्।’

नेकपा एमाले सांसद रेवतीरमण भण्डारीले खाजा तथा खाना कुपनको नाममा भइरहेको रकम दुरुपयोग गर्न सभामुखले गरेको काम ठीक भएको उल्लेख गरे। यद्यपी सरकारलाई उत्तरदायी बनाउने काममा सभामुखले प्रश्नोत्तर समयको यथासिघ्र कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ। 'खाजा तथा खाना कुपन नदिने निर्णय गरेर उहाँले राज्यकोषको रकम दुरुपयोग हुनबाट जोगाउनुभएको छ। सुधारका लागि अझै अरु काम गर्न आवश्यक छ। उहाँले छिट्टै नियमावलीमा भएका समिति पनि गठन गर्न पहल गर्नुपर्‍यो,’उनले भने।

संघीय समाजवादी फोरमकी सांसद छाँया शर्मा पन्तले संसदमा सभामुखबाट सुशासनको काम सुरु भएको बताइन्। ‘हालसम्म अनियमितता रोक्न केही भएको थिएन', उनले भनिन्,‘सभामुखबाट सुशासनको थालनी भएको छ। यसले निरन्तरता पाओस्।’

संसदको नियमावली अनुसार महाअभियोग समिति र संविधान कार्यान्वयन समिति गठन गर्न पनि सभामुखले दलीय परामर्श गरिरहेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिएका छन्।

बेलाबेलामा विवादित

संसदमा सुधारका काम धेरै गरेपनि सभामुख घर्तीका केही निर्णयहरु भने विवादित पनि बनेका छन्। उनले अघिल्लो सरकारको पालामा न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गरेका ११ जनाको नाम संसदीय सुनुवाई समिति गठन नभएको भन्दै फिर्ता पठाएकी थिइन्। उनको यो कदमको तत्कालीन सत्तारुढ एमाले र प्रतिपक्षी नेपाली कांग्रेसले पनि विरोध जनाएका थिए। तर पछि न्यायपरिषदले तिनै नाम दोहोर्‍याएर सिफारिस गरेको थियो।  

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको विनियोजन विधेयक पास भएपनि त्यससँग आश्रित तीनवटा विधेयक संसदबाट पास हुन बाँकी थिए। त्यतिबेलै सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गर्‍यो। अविश्वास प्रस्ताव दर्ता भएपछि पूर्व निर्धारित कार्यसूचि फेरबदल गरेर सभामुख घर्तीले अविश्वास प्रस्तावलाई कार्यसूचिमा राखेपछि उनी विवादमा परेकी थिइन्। पछि उनले दुवै विषयलाई कार्यसूचिमा राखेर पहिले बजेट आश्रित विधेयक नै छलफल गराएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.