|

काठमाडौं : शनिबार राति एक बजे। प्रहरी सेवाको नम्बर १०० मा फोनको घण्टी बज्यो।

आत्तिएको स्वरमा महिलाको आवाज आयो। उनले आफूलाई बन्धक बनाइएको उजुरी गरिन्। प्रहरीले लोकेसन टिप्यो र नजिकैको महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा जानकारी गरायो। 

कोटेश्वर प्रहरी तत्काल उक्त स्थानमा पुग्यो। टिपाइएको ठेगानाका आधारमा प्रहरीले घर पत्ता लगायो र ३ जनालाई नियन्त्रणमा लियो। प्रहरीले नियन्त्रणमा लिएका मध्ये दुई युवक थिए भने एक युवती। तर उजुरी गर्ने महिला भने त्यहाँ थिइनन्। 

प्रहरीले खोजी गर्दा उनी घर पछाडि लुकेको अवस्थामा भेटिइन्। १९ वर्षे ती युवतीले आफू बन्धक भएको भनेर झुटो सूचना दिएको प्रहरीले पत्ता लगायो।

शनिबारको दिन रमाइलो गर्न साथीको घरमा गएकी उनले तिनै साथीबाट जोगिन त्यहाँ लुकिरहेकी प्रहरीलाई बताइन्। प्रहरीका अनुसार दिउँसैदेखि जमघटमा रहेका उनीहरु रातीसम्म सँगै थिए। राति एक बजेसम्म उनीहरुले मदिरा सेवन गरेका थिए। 

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायण चिमोरियाका अनुसार त्यहाँ भेला भएका युवक युवती प्रेमी प्रेमिका थिए। उनीहरु चारैजनाको बयानपछि प्रहरीले निष्कर्ष निकाल्यो- युवकहरुले राखेको यौन प्रस्ताव, उजुरी गर्ने युवतीले मानिनन्। जब जबर्जस्तीको प्रयास भयो, उनी झ्यालबाट हामफालेर घर पछाडि पुगिन् र १०० मा फोन गरिन्।

जबरजस्ती गरेको आरोपमा दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाइएको र युवतीहरुलाई परिवारको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायण चिमोरियाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.