न आयो सम्पत्ति, न रह्‍यो स्वास्थ्य

|

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित ग्लोबल हस्पिटलको क्याबिन नम्बर ४। बेडमा मुढो झैँ लडिरहेका ३० वर्षीय सानबहादुर तामाङ। तामाङको उपचारमा खटिएकी नर्स उनको घाँटीमा लगाइएको पाइप मिलाउँदै थिइन्।

उपचारमा खटिइरहेकी नर्स जब सुकसुकाउँदै बाहिर निस्किन्, उपचार कक्षमा सन्नाटा छायो।

सानबहादुरका बुबा पुर्पुरोमा हात लगाएर छोरालाई हेरिरहेका थिए। आडैमा थिइन् सानबहादुरकी श्रीमती।

‘हामी त केही जान्दैनौँ हजुर, गाँउमा खेती किसानी गर्ने मान्छे। कमाउन गा’को मान्छेको यो हालत भयो’, एकातिर बिरामी छोरा त अर्कोतिर उपचारको खर्चको समस्या, उनी चिन्तिन थिए।

२०७२ माघ १३ गते सिंहबहादुरका कान्छा छोरा सानबहादुर कतार उडेका थिए। ड्राइभरीमा दख्खल सानबहादुरको त्यहाँ पनि काम ट्याक्सी चलाउने नै थियो।

छोरो कतार पुगेको दुई महिना नपुग्दै चैत ९ गते त्यहाँबाट नराम्रो खबर आयो। काम गर्न गएको छोरो बिरामी भएर अस्पताल भर्ना भएपछि सिंहबहादुरको परिवारलाई वज्रपात पर्‍यो।

‘दुई कठ्ठा जग्गा छदैछ, बुबाआमालाई यसले खान पुगिहाल्छ, म कमाउन बाहिर जान्छु भनेर हिँडेको थियो, यस्तो होला भन्ने कसले सोचेको थियो र?’,  विदेश उड्नुअघि छोराले भनेका कुरा स्मरण गर्दै थिए सिंहबहादुर, 'पहिला चार वर्ष विदेश बसेर ५ कठ्ठा जग्गा पनि जोडेको थियो, अहिले यस्तो भयो।’

४ वर्ष कतारमा ट्याक्सी चलाएर नेपाल फर्किएका सानबहादुर तीन महिनाको घरबिदा सकेर कतार गएका थिए।

'कतारमा बेहोस्'

कतार पुगेको दुई महिना नपुग्दै एक्कासी विरामी भएका सानबहादुरलाई उनी काम गर्ने कम्पनीले ५ महिना उपचार गरेपनि कुनै सुधार नआएको भन्दै गत मंगलबार नेपाल फर्काइदिएको थियो।

सानबहादुर ट्याक्सी चलाइरहेकै बेलामा बेहोस भएपछि दुर्घटनामा परेका थिए। दुर्घटनामा चोटपटक त लागेन तर त्यसपछि उनको होस् खुलेन।

‘बेहोस हुनुभयो, ट्याक्सी पनि दुर्घटनामा पर्‍यो, त्यहाँ (कतार) को प्रहरीले घटना अनुसन्धान गर्ने भन्दै अस्पताल लान ढिलाई गर्‍यो', सानबहादुरकी श्रीमतीले कतारबाट उनका साथीले फोनमा भनेको सम्झिन्, ‘बेहोस हुनेबित्तिकै अस्पताल लगेको भए ठिक हुन्थ्यो कि?'

सानबहादुका साथीले फोनमा 'बेहोस भएर आइसीयुमा राखेको तर आफूले पनि हेर्न नपाएको' बताउँदा चिन्ता लागे पनि आशा नमारेकी मुनाले थाहाखबरसँग कुरा गर्दा आसु थाम्न सकिनन्। ‘पहिला सुन्दा त ठिकै हुनुहुन्छ होला जस्तो लाग्थ्यो। अहिले आफ्नै आँखाले देखेपछि त…', उनले वाक्य पूरा गर्न पनि सकिनन्।

माओवादी द्वन्द्व चर्किएपछि पुर्ख्यौली घर पाँचथर छोडेर सिंहबहादुरको परिवार झापाको दमक झरेका रहेछन्। दुई कठ्ठा जग्गाको भरमा छोराहरु हुर्काएका उनका सबै छोरा अहिले रोजगारीका क्रममा खाडी मुलुक पुगेका छन्। कमाउँदै आफ्नो घरजम गरेका तीन छोराको छुट्टाभिन्न भइसकेको छ।

कान्छा छोरा सानबहादुरको दुई वर्ष अघि बिहे गरिदिएर सिंहबहादुर श्रीमती र कान्छी बुहारीसँगै बस्दै आएका छन्।

'होसमा नआउँदा रोग पत्ता लागेन'

सानबहादुर बेहोस् भएको पाँच महिना बितिसक्दा पनि उनलाई भएको के हो पत्तो लागेको छैन। अस्पतालको ओछ्यानमा लडिरहेका उनी आँखा त खोल्छन् तर कसैलाई चिन्दैनन्। घाटीमा प्वाल पारेर खाना र अक्सिजनको पाइप लगाइएको छ। दुबै हातखुट्टा चल्दैनन्।

‘रोग पत्ता लागेको छैन। उता विदेशी डाक्टरले त पत्ता लगाउन सकेन, यहाँ पनि हेर्दैछौँ भनिरहेका छन्’, २१ वर्षीय मुनाले भनिन्, ‘होसमा नआएसम्म थाहा हुँदैन भनेका छन्, खोइ होसमा आउने कहिले हो।’

गएको ६ महिनामा एक महिनाको ४० हजार रुपैयाँ पठाएका थिए सानबहादुरले। 'कमाउन गएको मान्छेको यो हालत भो, कसले सहयोग गर्ला र?' चिन्तित सिंहबहादुरले भने, 'कसैले औषधि खर्चमात्र भए पनि हेर्दिए हुन्थ्यो।’

(सानबहादुरको उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने उनका दाजु भद्र तामाङको मोबाइल नम्बर ९८१४९५३४७९ मा सम्पर्क गर्न सक्नुहुन्छ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.