|

कालिकोट : कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किलोमिटर राजमार्गमा रहेको दर्जनौँ पुल ठेक्का लगाए पनि अलपत्र अवस्थामा रहका छन्। राजमार्ग सञ्चालनमा आएको १० वर्षदेखि विभिन्न निर्माण कम्पनीलाई पक्की पुल निर्माणको जिम्मा दिएको भए पनि कम्पनीको लापरबाहीका कारण कर्णाली राजमार्गका एक दर्जन बढी पक्की पुल अधुरै छन्।

कर्णाली राजमार्ग अन्तर्गतका दर्जनाँै पक्की पुल नबन्दा यात्रुहरुले वर्षायाममा निकै सास्ती भोग्नुपरेको छ भने कर्णाली राजमार्ग दुर्घटनाको प्रमुख कारणसमेत बन्न पुगेको छ।

कालिकोट दैलेखको सिमानमा पर्ने घट्टेखोला पुल निर्माणको ०६९ सालदेखि पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले ४ करोड ५१ लाखमा निर्माणको जिम्मा लिएको थियो।

तर, पुल आजसम्म पनि निर्माण नगरी झन् बाटो बिगारेर यात्रुहरुलाई सास्ती दिने गरेको गाडी चालक नरबहादुर धामीले बताए। ‘ठेकेदारले आजसम्म पुल बनाएको छैन।’ उनले भने, ‘पहिले राम्रो रहेको पुल अहिले बिगारेर झन् सास्ती दिने गरेको छ।’

कर्णाली राजमार्गकै दैलेख सडक खण्डका गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थिायो।

त्यस्तै, राजमार्गको दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणका लागि ढलान गर्न मात्र बाँकी राखेर अलपत्र छोडिएको छ। घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगाढ, सिम्ला खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरू फरार रहेको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन्।

‘बालीघाट, सिम्ले, छिडेना खोला, घट्टेखोला, कर्णाली पुल लगायतको जिम्मेवारी आफ्नो रहेका कारण ठेकेदार कम्पनीहरूलाई पत्र काटेको छौँ।’ उनले भने, ‘अहिले यस क्षेत्रमा आरएसडिपी नामक संस्थाले काम थाल्ने भएको छ।’

कर्णाली राजमार्गको कालिकोट सडकखण्डमा पर्ने टाकुल्ला खोला पुल निर्माणको जिम्मा लिएको जागृति तुल्सी दुर्गा जेभीले ०६८ मा ३५ लाख पेस्की लिएर पनि काम गरेको छैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.