|

कालीकोटः भोक, रोग र अशिक्षाको पर्यायबाची बन्दै आएको कर्णालीमा लगानीका क्षेत्र प्रशस्तै रहेका भए पनि ठूला उद्योगी, व्यापारिक घरानाहरू, ठूला कम्पनी, राज्य र अन्य कुनै क्षेत्र पनि कर्णालीमा लगानी गर्न आकर्षित देखिएका छैनन्। कर्णालीका आर्थिक समृद्धिका सम्भवनाका क्षेत्रमा लगानी हुन नसक्दा यो क्षेत्र अझै पछाडि परेको स्थानीयको गुनासो छ।

कर्णालीका आर्थिक समृद्धिका लागि र लगानी गर्न सकिने क्षेत्रमा जलविद्युत, जडिबुटी, पर्यटन, होटल व्यवसाय मुख्य रहेका छन्। तर, अहिले जलविद्युत, जडिबुटी, पर्यटन, होटल क्षेत्रमा लगानी न्यून रहेको छ। ससाना लगानीकर्ताहरू जलविद्युत, जडिबुटी, पर्यटन, होटल क्षेत्रमा लगानी गर्न तयार भएका भए पनि यसले कर्णालीको समग्र विकास र समृद्धिको आधार तयार गर्न सकेको छैन।

कर्णालीको भौगोलिक विकटता भएका केही जिल्लामा अझै मोटरबाटो नपुगेका कारण पनि लगानी गर्न चाहनेका लागि कठिन हुनसक्छ। कर्णाली नदी र भेरी नदी यसै क्षेत्रमा पर्ने भएका कारण जलविद्युत विकासका दृष्टिले कर्णाली सबैभन्दा उपयुक्त क्षेत्र हुने सम्भावना छ। 

त्यस्तै, जडिबुटी र कर्णालीको पर्यटनले पनि कर्णालीको आर्थिक समृद्धि ल्याउने सम्भावना रहेको छ। कर्णालीमा संसारकै महँगो जडिबुटी यार्सागुन्बु पाइन्छ। त्योसँगै अन्य बहुमूल्य जडिबुटी कर्णालीमा नै रहेका छन्। तर, अहिले कर्णालीको जडिबुटी दोहन मात्र भएको छ। यसको संरक्षण र सदुपयोग हुन सकेको छैन।

पर्यटन पनि कर्णालीका लागि निकै राम्रो क्षेत्र हो। कर्णालीको डोल्पामा रहेको शेफोक्सुण्डो र मुगुको रारामा रहेको राराताल तथा यसै कर्णालीको शिर मानसरोवर पनि रहेका कारण कर्णालीको पर्यटन विकासले आर्थिक समृद्धिका लागि निकै राम्रो सहयोग पुग्ने देखिन्छ। 

अथाह सम्भावना जलविद्युतको
कर्णालीलाई जलविद्युतको क्षेत्रमा रूपमा विकास गर्न सकिने थुप्रै आधार रहेका छन्। कर्णाली हुम्ला हुँदै बग्ने हुम्ली कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने भेरी नदीको पानीको उपयोग गरेर जलविद्युतको हवका रूपमा विकास गर्न सकिने आधारहरू रहेका छन्। 

अहिले ती नदीहरूबाट न सिँचाइको व्यवस्था गरिएको छ, न त विद्युत निकाल्ने तयारी गरिएको छ। नदीहरूको अथाह स्रोत हुँदाहुँदै पनि त्यतिकै खेर गइरहेका छन्। कर्णालीमा मात्र करिब २४ हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको जानकारहरू बताउँछन्। तर, अहिले कर्णालीको कालीकोट जिल्लाको ८४० मेगावाटका तिला– १ र तिला– २ बाट ८६० मेगावाट जलविद्युत आयोजनाको पहल सुरु भएको छ। अन्य ठाउँमा खासै अध्ययन अनुसन्धानको चासो रहेको छैन।

हरेक हिसाबले निकै विपन्न रहेको कर्णालीको विकासमा जलविद्युतमा लगानीले रोजगारी र आर्थिक वृद्धि गर्न सकिने कालीकोटका प्रदेशसभा सांसद कुर्मराज शाही बताउँछन्। ‘विपन्नताबाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको जलविद्युत हो’, उनी भन्छन्, ‘जलविद्युतको क्षेत्रमा कर्णालीमा कुनै पनि लगानीकर्ता आकर्षित हुनसकेका छैनन्। राज्यले पनि यसतर्फ ध्यान दिन सकेको छैन।’

कर्णालीको विकासका लागि जलविद्युत, जल पर्यटन प्रमुख आधार हुनसक्ने र त्यस क्षेत्रमा लगानीको आवश्यकता रहेको हुनाले त्यसमा लगानी गर्न लगानीकर्तालाई आकर्षित गर्न कर्णालीवासी लाग्नुपर्ने नेपाल तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही बताउँछन्। ‘कर्णाली समृद्धिको आधार भनेको जलविद्युत नै हो’, उनी भन्छन्, ‘यसमा लगानीकर्तालाई आकर्षित गर्न सबैले लाग्नुपर्छ।’

जल पर्यटन, विद्युत उत्पादनको राम्रो क्षेत्र हुँदाहुँदै पनि वित्तीय क्षेत्र, निजी लगानीकर्ता, ठूला कम्पनी र राज्यको खासै चासो यसमा जान नसकेको उनको भनाइ छ।

कर्णालीमा नै पाइन्छ हिमाली हीरा ‘यार्चागुन्बु’
कर्णाली बहुमूल्य जडिबुटीको खानी भएको क्षेत्र हो। कर्णालीमा हिमाल, जंगल र गाउँमा नेपालमा पाइने एक हजार ४०० जडिबुटीका प्रकारमध्ये ७०० प्रकारका कर्णालीमा पाइने गरेको विभिन्न तथ्यहरूले देखाएका छन्। जडिबुटीको खेती र संरक्षण तथा त्यसको व्यापारले मात्र कर्णाली भविष्यमा समृद्ध बन्न सक्ने शाहीको भनाइ छ।

हिमाली हीरा भनेर चिनिएको यार्चागुन्बु कर्णाली क्षेत्रमा पाइन्छ। विश्व बजारमा राम्रो मूल्य पर्नेे, व्यवस्थित व्यापार गर्नसके कर्णालीको मुहार नै फेरिने कर्णालीका सामाजिक अभियन्ता चन्द्रप्रसाद कोइरालाले बताउँछन्। ‘हामीले कर्णालीमा उत्पादन हुने जडिबुटीलगायतका अन्य वस्तु विश्व बजारसम्म पुर्‍याउन सक्ने हो पनि कर्णाली आफैँ समृद्ध हुनसक्छ’, उनी भन्छन्, ‘तर अहिलेसम्म पनि राज्य र निजी क्षेत्रका लगानीकर्ता यसतर्फ आकर्षित हुनसकेका छैनन्।’

यार्चागुन्बु जस्तै विश्वमै अत्यन्त महत्त्वपूर्ण र महँगा जडिबुटीहरू गुच्ची च्याउ, हात्ती जरा, शिलाजित, सतुवालगायत ७०० देखि एक हजार ४०० भन्दा बढी प्रजातिका बोटबिरुवा, जडिबुटी कर्णालीका गहनाका रूपमा रहेका छन्।

तर, कर्णालीमा पाइने जडिबुटीका लागि प्रशोधनका साना उद्योग खुलेका भए पनि ठूला उद्योग खुल्न सकेका छैनन्। ठूला उद्योग नखुल्दा यहाँ पाइने जडिबुटी त्यसै खेर जान थालेको कालीकोटमा जडिबुटी प्रशोधन केन्द्र खोलेको प्रेमबहादुर शाही बताउँछन्। ‘ठूला जडिबुटी प्रशोधनका उद्योग खुलेका छैनन्। साना उद्योगले मागअनुसारको उत्पादन गर्न सक्दैनन्’, उनी भन्छन्, ‘कर्णालीमा रहेका जडिबुटी त्यसै खेर जान थालेका छन्।’

कर्णाली समृद्धिको आधार पर्यटन 
कर्णालीको रारा, शेफोक्सुण्डो र कर्णालीको शिरमा मानसरोवर रहेका छन्। यी हुँदाहुँदै पनि यस क्षेत्रमा व्यवस्थित रूपमा पर्यटन विकास हुनसकेको छैन। व्यवस्थित विकासविना समृद्धि हुनसक्दैन। पर्यटन क्षेत्रको व्यवस्थापन राम्रो नहुँदा अहिले कर्णालीको पर्यटन व्यापार निकै कम रहेको छ। पछिल्लो चरणमा रारा आन्तरिक पर्यटनले केही विकास भएको भए पनि यसको व्यवस्थित विकास हुन अझै सकेको छैन। व्यवस्थित विकास नहुँदा कर्णालीको पर्यटकीय क्षेत्र अहिले ओझेलमा परेका छन्। 

कर्णाली करिडोर बन्न सकेमा रारा र शेफोक्सुण्डो मात्र होइन, धार्मिक पर्यटनका लागि कर्णालीको शिरमा रहेको मानसरोवर पनि कर्णाली पर्यटनको आधार बन्नसक्छ। कर्णालीको करिडोर मार्गको निर्माण भए हजारौँ भारतीय पर्यटकहरू नेपालगंज हुँदै हुम्लाको बाटो प्रयोग गर्छन्। यसबाट यहाँको आर्थिक समृद्धि हुने देखिन्छ। 

अहिले नै भने कर्णाली राजमार्ग नबनेका कारण मानसरोवरमा यो मार्ग हुँदै निकै कम पर्यटक जाने गरेको र हुम्लामा राम्रो बासको व्यवस्था नहुँदा नेपालगंजबाट हुम्ला हवाईजहाज र त्यहाँबाट मानसरोवर हेलिकोप्टर चार्टर गरेर जाने भएका कारण मानसरोवरबाट कर्णालीका वासिन्दाले खासै लाभ लिन नसकेका हुम्लाबाट निर्वाचित सांसद जीवनबहादुर शाही बताउँछन्। ‘कर्णालीको आर्थिक आधारका रूपमा रहेको कर्णाली करिडोर बनेको छैन’, उनी भन्छन्, ‘मानसरोवरबाट खासै कर्णालीवासीले लाभ लिन सकिरहेका छैनन्। भविष्यमा यो पर्यटन क्षेत्रबाट मात्र कर्णालीको आर्थिक विकास सम्भव हुनसक्छ।’

कर्णाली पर्यटन विकासका लागि सरकारले निरन्तर ध्यान दिएको र कर्णाली पर्यटन विषयमा सरकारले विशेष प्याकेज ल्याउने पनि मन्त्रीले शाहीले बताए।
लगानीकर्ताका लागि कर्णाली पर्यटन विकास एउटा लगानीको राम्रो माध्यम हुनसक्ने उनको भनाइ छ।

सुविधा सम्पन्न होटलको अभाव
कर्णाली पर्यटनका लागि लगानी क्षेत्र हुँदाहुँदै पनि रारा, शेफोक्सुण्डो र मानसरोवर लक्षित सुविधा सम्पन्न होटलको कमी रहेको छ। रारालाई लक्षित गरेर ससाना होटल खुलेका छन् तर त्यहाँ व्यवस्थापनको पाटो निकै कमजोर रहेको छ। रारामा आन्तरिक पर्यटक आउने क्रम निकै बढेको छ। आन्तरिक पर्यटकसँगै छिमेकी देश भारतबाट पनि पर्यटकहरू रारा आउने क्रम तीब्र रहेको छ। 

निकै सुन्दर रहेको रारालाई लक्षित गरेर कुनै पनि पूर्वाधार नबनेको र यसमा सरकारले ध्यान दिनुपर्ने सुझाउँछन् भारतको उत्तर प्रदेशबाट रारातालको भ्रमणमा आएका अरुण अग्रवाल। ‘रारा स्वर्ग जस्तै छ तर यहाँ पूर्वाधारको निकै कमी रहेको छ’, उनी भन्छन्, ‘रारा लक्षित गरेर निजी क्षेत्र र राज्यले लगानी गर्न जरुरी देखिन्छ।’

रारा लक्षित गरेर कालीकोट, जुम्लामा करोड रुपैयाँ हाराहारीको लगानीमा केही होटल खुलेका छन्। रारा तालमा नै दुईवटा मात्र होटल रहेका छन्, होटेल डाँफे र रारा भिलेज। यी दुई होटलको व्यवस्थापन पक्ष राम्रो छैन। रारामा आउने पर्यटकका लागि यिनीहरूले राम्रो बासस्थान खानपानको व्यवस्था गर्न सकेका छैनन्। रारा, शेफोक्सुण्डो र मानसरोवरलाई लक्षित गरेर ठूलाठूला होटलको राम्रो सम्भावना रहेको भए पनि अहिले लगानीको अभावका कारणले खुल्न सकेका छैनन्।

कर्णालीको अर्को सम्भावना स्याउ र ओखर
कर्णालीको आर्थिक विकास र समृद्धिको आधारका रूपमा यहाँ फल्ने फलफूलहरूलाई लिन सकिन्छ। तर अहिले कर्णालीमा फल्ने स्याउ र ओखरमा लगानी कमी रहेको छ। उत्पादन भएका स्याउ र ओखर प्रशोधनमा समस्या हुँदा छिटै कुहिने समस्या रहेको छ। यहाँ उत्पादन भएको स्याउले उचित मूल्य पनि पाउन सकेको छैन।

कर्णालीमा स्याउ र ओखर उत्पादनको राम्रो सम्भावना रहेको भए पनि लगानी, उत्पादन भएको वस्तुको बजारीकरण, प्रशोधनको समस्या, श्रमअनुसारको उपलब्धि कृषकले पाउन नसकेको कालीकोटबाट प्रतिनिधिसभाका सांसद दुर्गाबहादुर रावतले बताए। 

‘स्याउ र ओखरलगायतका फलफूल उत्पादनको राम्रो संम्भवना रहेको क्षेत्र हो कर्णाली’, उनी भन्छन्, ‘उत्पादन भएको वस्तुको बजारीकरण, प्रशोधनको समस्यालगायतका कारणले श्रमअनुसार मूल्य नै पाउन सकिएको छैन।’

कर्णालीका क्षेत्रमा लगानीको सम्भावना धेरै रहेको भए पनि यसको विकासमा ध्यान नदिँदा अहिले पनि कर्णाली मूलधारबाहिर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.