खडेरीले गर्दा २२ सय हेक्टर जमिन बाँझै

|

कालिकोट : कालिकोट जिल्लामा खडेरीका कारण २ हजार २ सय ६० हेक्टर जमिन बाँझै रहेको छ। जिल्ला कृषि विकास कार्यालय कालिकोटको तथ्यांकअनुसार आकाशे पानीको भरमा गहुँ खेती हुने जिल्लामा २ हजार २ सय ६० हेक्टर जमिन बाँझै रहेको हो।

जिल्ला कृषि विकास कार्यालय प्रमुख सुनिलकुमार सिंहले जिल्लामा आकाशे पानीको भरमा खेती हुने अधिकांश जमिनहरु लामो समय वर्षा नहुँदा बाझो रहेको बताए। ‘जिल्लामा जम्मा १५ हजार ५ सय ६० हेक्टर खेतीयोग्य जमिन रहेको छ।’ उनले भने, बर्सेनि ५ हजार ६ सय ५० हेक्टरमा गहुँ खेती हुँदै आएको छ।’

जसमा यो वर्ष खडेरीका कारण पुसको दोस्रो सातासम्म ३ हजार ३ सय ९० हेक्टर जमिनमा मात्र किसानहरुले गहुँ बाली लगाएका छन्। लामो समय जिल्लामा पानी नपर्दा स्थानिय किसानहरु चिन्तित भएका छन्।

आकाशे पानीकै भरमा खेती गर्दै आएकी पलाता गाउँपालिका वडा नं. ३ कि दाना न्यौपानेले सिजनमै पानी परेपछि असोज कात्तिकमै गहुँ खेती गरिसक्ने खेतहरुमा पुसको दोस्रो सातासम्म पनि वर्षा नभएकाले गहुँ छर्न नसकेको उनले बताइन्। ‘वर्षा नहुँदा यस वर्ष त मेरो सबै खेत बाँझो रह्यो।’ उनले भनिन्, ‘आकाशे पानीको भरको खेतीले बर्षेनी संकट पैदा गर्ने भयो।’

यस्तै कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ७ का स्थानीय किसान मनवीर बोहोरालाई पनि उस्तै चिन्ता छ। पुसको १५ जान लाग्दा पनि वर्षा हुने छाँट नदेखिएपछि यो वर्ष जग्गा बाँझो रहेको उनले बताए।

‘यसको दुई वर्ष अगाडि परेको खडेरीले गाउँमा खेती गर्ने बीउको पनि अभाव भएको थियो’ सिंहले भने, ‘गत वर्ष भने केही सहज भयो। यस वर्ष उस्तै खडेरी पर्ने संकेत देखिएको छ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार कालिकोट जिल्लामा यस वर्ष गहुँबाली उत्पादनमा अनुमानित २५ प्रतिशतले कमी आउने आँकलन गरिएको छ। जिल्लामा गत वर्ष ५ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले बताए।

‘गत वर्षको तुलनामा यस वर्ष गहुँबाली उत्पादनमा २५ प्रतिशत जति कमी आउन सक्ने अनुमान गरिएको छ।’ उनले भने,‘गत वर्षको तुलनामा यस वर्ष वर्षा नहुँदा २५ प्रतिशत बढी किसानको जग्गा बाँझो रहेको छ। जिल्लाका पलाता क्षेत्रमा झन् अधिकांश जमिनहरु सिँचाइको सुविधा नहुँदा बाँझै रहेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.