|

झापा : काठमाडौँमा प्लस टु पढिसक्ने बित्तिकै विदेश जान जुर्मुराएका थिए झापा काँकडभिट्टा निवासी उत्सव उप्रेती। तर, अहिले उनी युवा स्वदेशमै उदाहरणीय होटल व्यवसायी बनेका छन्। काँकडभिट्टादेखि केही मास्तिर बाँसको ठूलो घारी छ। उत्सव त्यही घारीभित्र रेष्टुरेन्ट सञ्चालन गर्छन्। उनले रेष्टुरेन्टको नाम-‘घारी रेष्टुरेन्ट’ हो।

यसरी सुरु भयो रेस्टुरेन्ट

काठमाडौंमा उत्सवले होटल म्यानेजमेन्ट पढे। होटल म्यानेजमेन्ट पढेका प्राय: विद्यार्थी काम गर्न विदेश जान्छन्। उनका अधिकाशं: साथी अहिले लन्डनतिर छन्।

उनलाई पनि विदेश जाने रहर थियो। तर, नयाँ शैलिको रेस्टुरेन्ट खोल्ने जाँगर चलेपछि विदेश जाने इच्छा मर्‍यो। अध्ययनको क्रममा रेष्टुरेन्टसम्बन्धी धेरै ज्ञान बटुलेका  उत्सवले होटल व्यवसायमै संभावना देखेपछी झापा आएर बुबासँग सल्लाह गरे। 

बुबा पवनकुमार उप्रेतीसँग सल्लाह लिएर उनले आउटडोर रेस्टुरेन्ट चलाउने निधो गरे। आफ्नै जग्गामा बाँसको ठूलो घारी थियो। बाँसघारीमा लागुऔषध प्रयोगकर्ताहरु लुकेर बस्थे। उनले त्यही घारीलाई सुन्दर रेष्टुरेन्ट बनाउने निधो गरे। बाँसघारीलाई सुन्दर रेष्टुरेन्टमा बदल्न उनलाई दुई वर्ष लाग्यो।

२०७० वैशाख १ गतेबाट रेस्टुरेन्ट सन्चालनमा आयो। ‘गर्दै जाँदा सुन्दर पो देखियो,’ उनी भन्छन्, ‘जता पनि इन्डोर रेस्टुरेन्ट मात्र छन्, त्यसैले नयाँ किसिमको आउटडोर रेस्टुरेन्ट सुरु गरेको हुँ।’  

यसकारण चर्चित बन्याे 

शान्त वातावरण र मनोरम दृश्यहरु देखिने भएका कारण आन्तरिक र वाह्य पर्यटकहरु घारी रेस्टुरेटतर्फ आकर्षित भएको उत्सव बताउँछन्,' हामी बाबुछोराकै योजनाले रेस्टुरेन्टको वातावरण यति सुन्दर बनाउन सक्यौँ ।’ उत्सब भन्छन्, ‘अब विदेश जाने कुरा सोच्न पनि सकिँदैन।पारिवारिक वातावरण भएकाले उनको रेष्टुरेन्टमा सपरिवार पनि आउँछन्। प्रेम जोडी र कलेजका विद्यार्थीहरुको पनि उत्तिकै भीड हुन्छ।’ 

मेची नदीको किनारमा रहेको रेष्टुरेन्टबाट नेपाल र भारतको पहाडी भुभागको दृष्य हेर्न सकिन्छ। 'कस्टमरलाई पूरै सन्तुष्टि दिन ठूलै चुनौती छ किनकी धेरैले कार्यक्रमहरु गर्दा यही रेस्टुरेन्टलाई रोज्छन्।', उत्सवले भने । 

यस रेष्टुरेन्टमा वेटरलाई बोलाउन ग्राहक बस्ने कुर्सीको छेउमै बाँसमा घण्टी झुन्डाइएको छ। वेटरलाई बोलाउनुपरेमा ग्राहकले रमाइलो मान्दै त्यही घण्टी मज्जाले हल्लाउँछन्।

आउटडोर रेष्टुरेन्टमा स्वीचबाट बज्ने बेल राख्दा हावापानीले छिटै बिग्रिने उनको तर्क छ। ‘अचेल त मान्छेलाई घरमा पुजा गर्न, घण्टी बजाउन फुर्सदै छैन, यहाँ त हाँस्दै बजाउँछन्,’ उनले भने । 

जिल्लामै नौलो भएका कारण चर्चामा आएको छ, घारी रेस्टुरेन्ट। तर, मेची नदीको किनारमै भएका कारण कहिलेकाहिँ नदीमा पानी बढ्दा उनको मनमा चिसो पस्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.