|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ स्थित इन्द्रदह पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। त्यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाको अवलोकन गर्ने भ्यू टावरको शिलान्यास गरे भने पृथ्वीनारायणका शाहका सेनापति काजी कालु पाँडेको समाधिस्थलमा पुष्प अर्पण गरेका छन्। 

इन्द्रदह एकिकृत पर्यटन विकास समिति र चन्द्रागिरी नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको दोस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रको इतिहाससँग जोडिएको काजी कालु पाँडेको समाधि रहेको इन्द्रदहमा पाँडेको पूर्ण कदको शालिक निर्माण गर्न आग्रह गरे। 'कालु पाँडेको पूर्ण कदको शालिक यस ठाउँमा राख्‍नुपर्छ। जसले पृथ्वीनारायण शाहलाई पृथ्वीनारायण बनाउन भूमिका खेलेका थिए-प्रधानमन्त्री ओलीले भने, पृथ्वी नारायणले गर्धन दिनुपरेन। कालु पाँडेले गर्धन दिएर पृथ्वीनारायणलाई पृथ्वीनारायण बनाए।'

पृथ्वीनारायणले नेपाल एकिकरण गर्दा किल्लाको रुपमा प्रयोग गरेको चन्द्रागिरी डाँडामा पृथ्वीनारायणले जुँगामा ताउ लाउदै गरेको शालिक निर्माण गर्न एक वर्ष पहिले आफुले आग्रह गरेको ओलीले स्मरण गरे। 

एकिकरणका प्रणेता कालु पाँडे रहेको भन्दै प्रधानमन्त्री ओलीले हिजो मुलुक एकिकरणका क्रममा प्रयोग भएका गढी र किल्लाहरुको संरक्षण राज्यले गर्ने बताए। यस्ता किल्लाहरुले मात्रृभूमिप्रतिको स्‍नेहको इतिहास जिवीत राख्‍ने भन्दै ओलीले कालु पाँडेले आफु मरेर जाँदा पनि गोरखा देखिनेगरी दफन गर्नु भनेका कारण इन्द्रदहमा पाँडेको समाधी गरिएको बताए।

गढी, किल्लालाई पुर्खाको जागरुकताको स्मरण गर्ने अवसरका रुपमा लिनुपर्ने भन्दै प्रम ओलीले त्यस्ता किल्लाहरुको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने बताए। 'गढी, किल्लाको सुरक्षा प्रमुख रुपमा नेपाली सेनालाई जिम्मा दिइन्छ। इतिहासको गर्व र गौरवसँग जोडिएको आधारमा पनि किल्लाहरुको सुरक्षा सेनाले गर्नुपर्छ-प्रम ओली भन्छन्, पुरातत्व विभागले आफ्नो तर्फबाट गर्ला। सँगै जनताको उत्साह, अठोट र सहभागीता पनि उत्तिकै रुपमा हुनुपर्छ।'

इन्द्र दह क्षेत्रमा रहेको योगनरेन्द्र मल्लको पालामा निर्माण गरिएको मन्दिर र ३०० वर्ष पुरानो इतिहास जोडिएको इन्द्रदहको संरक्षणका लागि मूलरुपमा समग्र पर्यटकीय विकासमा ध्यान दिने प्रम ओलीले प्रतिवद्धता जनाए। 'पुर्खाको जागरुकताको स्मरण गर्ने अवसरका रुपमा यस ठाउँलाई विकास गर्नुपर्छ-ओलीले भने, आगामी दिनमा यस क्षेत्रको बाटोघाटो सँगै अन्य पूर्वाधारको विकास भएको हुनेछ।'

त्यस अवसरमा प्रधानमन्त्री ओली १५३ जना बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने चन्द्रागिरी नगरपालिका वडा नम्बर १ ले प्रम ओलीलाई नागरिक अभिनन्दन गरेको थियो। 

तस्विरहरुः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.