|

काठमाडौं : वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने इच्छा पूरा हुने संकेत देखिएको छ। एमालेबाट २०७२ कात्तिक कात्तिक ११ गते राष्ट्रपतिको पदभार ग्रहण गरेकी वर्तमान राष्ट्रपति भण्डारीलाई नै फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने मनस्थितिमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। यस विषयमा एमालेमा 'लगभग' सहमति बनिसकेको एमालेका नेताहरूले बताउने गरेका छन्।

निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। जसका लागि २१ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ। यहीँ कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले मनोनयन दर्ताको एकदिन अगाडि नै राष्ट्रपतिको उम्मेदवार तय गर्ने भएको छ। सोही विषयमा औपचारिक निर्णय गर्न एमालेको स्थायी कमिटी बैठकको मिति समेत तय भएको छ।

यता, संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि खुल्ला रुपमा तयारी गरेको देखिदैन। राष्ट्रपतिमा वाम गठबन्धनबाट बन्ने उम्मेद्वार स्वतः जित्ने देखेपछि उसले औपचारिक रुपमा नेतृत्वले छलफल र सुझाव नमागेको कांग्रेसका एक नेताले बताए।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गरेको निर्णय उक्त बैठक मार्फत सार्वजनिक गर्ने तयारी गरेका छन्। यसअघि ओलीले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने कसरत गरिरहेका छन्।

संघीय समाजवादी फोरम सरकारमा आए वाम गठबन्धनबाट राष्ट्रपति उम्मेदवार बन्नेको पल्ला भारी हुनेछ। 

फोरमलाई सरकारमा ल्याउनका लागि शनिबारसम्म सहमति जुट्ने एमाले र माओवादी एवं फोरमकै नेताहरूले बताउँदै आएका छन्। बिहीबार बसेको वाम गठबन्धन-फोरमको बैठकले आन्तरिक छलफलका लागि सहमतिपत्रमा हस्ताक्षर गर्ने समय पर सारेका थिए।

त्यसो त फोरमले सरकारमा सहभागी हुन चार मन्त्रालय मागेपछि सहमति हुन सकेको छैन। दुई मन्त्रालय र एक राज्यमन्त्री दिएर शनिबारसम्म फोरमलाई सरकारमा ल्याउने सत्ताधारी वाम गठबन्धनको तयारी छ।

एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले एमालेका तर्फबाट अहिलेकै राष्ट्रपति दोहोर्‍याउने सम्भावना रहेको स्विकार्छन्। त्यसको औपचारिक निर्णय भने स्थायी कमिटीले गरेर टुङ्ग्याउने नेम्वाङले बताए। 'यस विषयमा औपचारिक रुपमा निर्णय भएको छैन। २० गतेसम्म स्थायी समितिले निर्णय हुनेछ' उनले भने।

राष्ट्रपतिका लागि एमालेभित्र पूर्व प्रधानमन्त्री तथा महासचिव माधवकुमार नेपालको कुरा पनि अगाडि आएको छ। तर, उनले आफू सक्रिय राजनीतिमा रहने बताउँदै आएका छन्। पूर्व प्रधानमन्त्री तथा अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा जाहेर गरिरहेका छन्। जसमा एमाले भित्रको कुनै पनि समूहले सहमति जनाएको छैन। वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले पनि खनाललाई राष्ट्रपति बनाउनेमा सहमति नजनाएको स्रोतले बतायो।

एमालेबाट राष्ट्रपतिका लागि अन्य नेताहरूले इच्छा नदेखाएपछि र इच्छा देखाएका नेताको नाममा सहमति नजुट्ने भएपछि भण्डारी दोहोरिने लगभग निश्चित जस्तै छ। संघीय संसदमा पहिलो स्थानमा रहेको एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्ने र उक्त उम्मेदवारीमा माओवादी केन्द्र र फोरमको समर्थन रहने सम्भावना भएकाले पनि अब एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्ने व्यक्ति निर्वाचित हुने निश्चित जस्तै छ।

प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले माओवादीसँग सत्ता गठबन्धनसँगै पार्टी एकिकरणमा लागेपछि राष्ट्रपति भण्डारीले आफुलाई दोहोर्‍याउनका निम्ती पहल थालेकी थिइन्। त्यसो त राष्ट्रपति र उपराष्ट्रपति दोहोर्‍याउने सन्दर्भमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको एउटै मत देखिन्छ।

संघीय संसदमा एमालेको १४८, माओवादी केन्द्रको ६५ र फोरमको १८ सिट छ। त्यस्तै राष्ट्रपतिका मतदाता रहेका प्रदेशसभा सदस्यमा एमालेबाट २४३, माओवादीबाट १०८ र फोरमबाट ३७ सदस्य रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरू प्रदेशसभाका सदस्यहरूले पनि मत हाल्नेछन् तर उनीहरूको मतभार भने फरक हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.