|

काठमाडौं : बाल यौन दूराचारीको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक केन्नेथ जोसेफ कोम्बस यसअघि पनि छ पटकसम्म नेपालमा यौन दूराचारमा संलग्न भएको तथ्य प्रहरीले फेला पारेको छ।  

'आफूलाई एप्स डेभलपरको रुपमा चिनाउने उनले दूराचारमा संलग्न बाहेकका अन्य कुनै काम गरेको भेटिएको छैन, दूराचार बाहेक अन्य उद्देश्य देखिएन' प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका एसपी दिवेश लोहनीले भने।  

कोम्बस पछिल्लो पटक ९० दिनको भिसामा नेपाल आएका थिए। अमेरिकाको इलिनोइस घर बताउने ४८ वर्षिय केन्नेथ २०१४ को सेप्टेम्बरयता छ पटक नेपाल आइसकेका छन्। उनलाई गत शुक्रबार ठमेलको याम्बु होटलबाट पाँच जना बालकहरुसहित प्रहरीले पक्राउ गरेको हो।

११ देखि १४ वर्ष उमेरका पाँच बालकलाई यौन दूराचार गरेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले मोबाइल र ल्यापटपबाट नग्न तस्बिर र भिडियोहरु बरामद गरेको थियो। 

केन्नेथ अमेरिकाको इन्डियाना राज्यमा प्रहरीको फरार अपराधीको सूचीमा भएका व्यक्ति हुन्। इन्डियाना प्रहरीले यौन दूराचारकै आरोपमा उनलाई २०११ देखि फरार अपराधीको सूचीमा राखेको पाइएको सीआईबीले बताएको छ। फरार अपराधी भएको थाहा पाएपछि प्रहरीले उनको बारेमा इन्टरपोलसँग आपराधिक विवरण माग गरेको छ।

कोम्बसबाट पीडित अन्य आठ बालकहरु पनि सम्पर्कमा आइसकेको एसपी लोहनीले जानकारी दिए। उनीहरुले बयान दिइसकेको र बयान अदालतले प्रमाणित गरिसकेको उनले जानकारी दिए।

को हुन् कोम्बसलाई सहयोग गर्ने लुच्चे?

कोम्बसका नेपालमा मुख्य सहयोगी लुच्चे भनिने बुद्ध पुतवार हुन्। लुच्चेले नै कोम्बसलाई बालकहरु ल्याइदिन्थे। प्रहरीका अनुसार लुच्चेले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा पुगेर अभिभावकको माया नपाएका बालकहरुलाई प्रलोभन दिई काठमाडौं ल्याउने गरेका थिए।

बालकहरुलाई पैसा दिने, काममा लगाइदिने, पढाउछु भन्ने जस्ता प्रलोभन देखाएर काठमाडौं ल्याई स्वयम्भूस्थित आफ्नो कोठामा राख्ने गरेको सीआईबीका डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। कोम्बसको माग अनुसार लुच्चेले बालकहरुलाई भनेको स्थानसम्म पुर्‍याइदिने गरेको पाइएको उनले बताए।  

'लुच्चेको आर्थिक अवस्था र सम्पर्कको कारण अन्य विदेशीहरु पनि यौन दूराचारकै लागि नेपाल आउने गरेको हुनसक्ने अनुमान छ' डिएसपी फुयाँलले भने 'त्यसतर्फ पनि अनुसन्धान शुरु गरिसकेका छौं।' 

लुच्चेले बालबालिकाको फोटो र भिडियो खिचेर भाइबर, हवाट्स एप र विच्याटमार्फत विदेशी यौन दूराचारीलाई पठाउने र दूराचारीले बालबालिका हेरेर माग गर्ने गरेको खुल्न आएको डिएसपी फुयाँलले जानकारी दिए। विदेशी दूराचारीले फोटो र भिडियोमार्फत छानेर बालबालिका छानेर नेपाल आउने गरेका थिए। 

विदेशीको माग अनुसार लुच्चेले नगरकोट, धुलिखेल, ककनीका साथै काठमाडौंमा नै रहेको पाँच तारे होटलहरुमा बालक पुर्‍याउने गरेका थिए। अहिलेसम्म उनले ५० भन्दा बढी बालबालिका सप्लाई गरिसकेको हुनसक्ने ब्युरोको अनुमान छ। कोम्बस जस्ता धेरै संख्यामा विदेशी नागरिक नेपालमा यौन दूराचारकै लागि आउने गरेको हुनसक्ने अनुमान पनि सीआईबीको छ।  

यसअघि तीन पक्राउ

यसअघि प्रहरीले यौन दूराचारकै अभियोगमा फ्रान्सेली र क्यानडेली नागरिक पक्राउ गरेको थियो। बाल गृह सञ्चालन गरेर दूराचार गर्दै आएका फ्रान्सेली नागरिक जी ज्याक हेलाई काठमाडौंको अत्तरखेलबाट पक्राउ गरेको थियो। 

अर्का क्यानडेली नागरिकलाई पनि प्रहरीले २०७१ पुस ४ गते पक्राउ गरेको थियो। इन्टरपोलको सूचीमा नै यौन दूराचारी भनेर उल्लेख गरिएको क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकइन्टोसलाई प्रहरीले पुल्चोकस्थित एक गेस्ट हाउसबाट दुई बालबालिकासहित पक्राउ गरेको थियो। 

यस्तै पोखरामा जर्मन नागरिकलाई यौन दूराचारमा अभियोगमा पक्राउ गरेको थियो। जर्मन नागरिक कर्निलियस स्किलिङलाई दूराचारको गरेको ठहर भएपछि छ वर्ष जेल सजायँ पाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.