|

काठमाडौं : भदौ ३० गते काठमाडौं वनस्थलीका गणेशमान श्रेष्ठको घरको वरण्डामा इँट्टामा बेरिएको अवस्थामा एउटा कागज फेला पर्‍यो। त्यसमा लेखिएको थियो ‘तैले घटनाको बारेमा प्रहरीलाई रिपोर्ट गरेर गल्ती गरिस्, तेरो पैसा अब दुई लाखबाट पाँच लाख बढ्यो, पैसा नदिए अपहरण गरी मारेर खाल्डोमा फालिदिन्छौं।’

अनिश रेमिट चलाएर बसेका श्रेष्ठलाई भदौ १६ गते रेमिटकै कार्यालयमा आएर दुई जनाले नक्कली पेस्तोल र खुकुरी देखाएर दुई लाख रुपैयाँ माग गरेका थिए। उनले प्रहरीलाई खबर गरेपछि उनीसमक्ष धम्कीपूर्ण चिठी पुर्‍याइएको थियो।  

धम्की दिनेहरुलाई श्रेष्ठले चेक काटेर दिन्छु भन्दा २–३ दिनको समय मागेर गएका थिए। प्रहरीलाई खबर नगर्न पनि धम्क्याएका थिए। तर उनले गोप्य रुपमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई घटनाबारे जानकारी गराएका थिए।

‘उहाँले हामीलाई गोप्य रुपमा जानकारी दिनुभएको थियो, त्यही अनुसार हामीले अनुसन्धान अघि बढायौं’ उनले भने ‘अनुसन्धान गर्दै जाँदा त संगठित रुपमा अपहरण उद्योग शुरु गर्न लागेका नेपाली मूलका क्यानेडियन नागरिकको समूहलाई समात्न सफल भयौं।’

प्रहरीले रुपन्देही सिद्धार्थनगर घर भई क्यानाडाको पीआर लिई उतै बस्दै आएका २७ वर्षीय रविन गुरुङ र उनका सहयोगीहरु गोरखा बारपाकका २४ वर्षीय जीवाजी गुरुङ र रामेछाप गेलुका माइकल भनिने विष्णु मगरलाई पक्राउ गरेको हो। 

उनीहरुले  संगठित रुपमा समूह नै बनाएर अपहरण गर्ने उद्देश्यले समूह बनाउदै गर्दा प्रहरीले पक्राउ गरेको हो। क्यानाडाको पीआर भएपनि गुरुङ अपराधिक मानसिकताकै कारण उता बस्न नसकी तीन महिनाअघि नेपाल आएर समूह बनाउन लागेको अनुसन्धानमा संलग्न डिएसपी रमेश थापाले बताए।

'गुरुङ अपराध सम्बन्धी पुराना किताबहरु अध्ययन गरेर संगठित रुपमा नै संजाल खडा गर्न लागेको अनुसन्धानले देखाएको छ', उनले भने 'नेपालमा अपराध गरेर सजिलै कमाउन र भाग्न सकिन्छ भन्ने मनशायले उनले काम गरेको देखिन्छ।' 

नेपाल र क्यानाडा ओहोर दोहोर गरिरहने गुरुङ भूकम्पपीडितलाई राहत बाँड्न नेपाल आएका बेला अपहरण गरी पैसा कमाउन सकिन्छ भन्ने निष्कर्षसहित यो कार्यमा संलग्न हुने सम्पूर्ण तयारी गरेर तीन महिनाअघि नेपाल आएको खुलेको डिएसपी थापाले जानकारी दिए। 

प्रहरीले उनीहरुबाट खुकुरी, नक्कली पेस्तोल, लेजर लाइट मोटरसाइकल लगायतका सामाग्रीहरु बरामद गरेको छ। उनीहरुलाई अब शरीर बन्धक तथा अपहरणको मुद्दा अन्तर्गत कारवाहीको तयारी गरिसकिएको पनि प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.