असोज २ गते दुर्घटनारहित राष्ट्रिय दिवस मनाउन प्रस्ताव

|

बिर्तामोड : पछिल्लो समय सवारी दुर्घटना र त्यसको कारण हुने मानिसको मृत्युदर अप्रत्यासित रुपले बढेपछि झापाका नागरिक अगुवाले दुर्घटना न्यूनिकरण महाअभियानको घोषणा गरेका छन् ।
महाअभियान अन्तर्गत असोज २ गतेलाई दुर्घटनारहित राष्ट्रिय दिवस मनाउन प्रस्ताव गरिएको छ। महाअभियान मूल आयोजक समितिले बिहीबार बिहान बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी अभियानको औचित्य र कार्ययोजना सार्वजनिक गर्‍यो। 

महाअभियानका संयोजक गोपालकुमार बस्नेतले सवारीसाधनका चालकलाई जिम्मेवार बनाउँदै अझ राम्रोसँग सवारी साधन चलाउनका लागि महाअभियानमार्फत प्रेरित गरिने बताए। सबै चालक, यातायात मजदुर र व्यवसायीले विश्वकर्मा बाबालाई आस्थाको केन्द्र मान्ने भएकोले असोज १ गते विश्वकर्मा बाबाको पूजाको भोलिपल्टै २ गतेलाई दुर्घटनारहित राष्ट्रिय दिवसको रुपमा प्रस्ताव गरिएको संयोजक बस्नेतको भनाई छ। 
अभियान अन्तर्गत असोज २ गते बिर्तामोडको पश्चिम बस स्टेण्डमा सार्वजनिक सवारी साधनका चालकलाई खादा र अविर पहि¥याई सम्मान गर्दै राम्रोसँग सवारी चलाउनका लागि प्रेरित गरिने महाअभियानका सह–संयोजक मदनगोपाल सुब्बाले जानकारी दिए। चालकहरुलाई अहिलेसम्म राम्रोसँग सवारी साधन चलाएकोमा धन्यवाद र प्रशंसासहित आगामी दिनमा अझ होशियारी अपनाउन र अरुलाई पनि होशियारी साथ सवारी साधन चलाउनका लागि प्रेरित गराउनु अभियानको मूल लक्ष्य रहेको महाअभियानका सह–संयोजक सुब्बाको भनाइ छ। 
झापाबाट देशभरकै रुटमा सवारी चल्ने भएकाले बिहान ६ बजेबाटै बेलुकासम्म उक्त अभियान सञ्चालन गरिने मेची यातायात संघका सभापति अभियानका सदस्य राजेन्द्र बस्नेतले बताए। नेपाल यातायात व्यवसायी महासंघका सल्लाहकार श्रीप्रसाद मैनालीले नागरिकस्तरबाट सञ्चालन हुने अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे। यस वर्ष झापामा मात्रै हुने यो अभियान अर्को वर्षबाट देशव्यापी रुपमा एकसाथ सञ्चालन गरिने बताइएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.