|

उदयपुर : जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन्। शुक्रबार सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालको निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री घिमिरेले यस्तो बताएका हुन्।

जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा खेलवाड गर्ने जुनसुकै तह वा तप्काका स्वास्थ्यकर्मी र कर्मचारीमाथि तत्काल कारवाही गर्ने चेतावनी दिँदै मन्त्री घिमिरेले भने, ‘स्वास्थ्य र शिक्षा क्षेत्रका राष्ट्र सेवकले ख्यालख्याल नसोच्नु होला।’

जिल्लाको त्रियुगा नरपालिकाको अनुगमनपछि जिल्ला अस्पतालमा छड्के अनुगमनको लागि पुगेका मन्त्री घिमिरेले भने, ‘अस्पतालको भौतिक अवस्था राम्रो देखिए पनि सेवाको स्थिति दयनीय पाएँ। अस्पताल समयमा बिरामीको उपचारमा खट्नुपर्ने भन्दै कार्यालय समयमा अस्पताल छाडेर निजी मेडिकलमा खटेको प्रमाण फेलापरे जागिर जान्छ।’

घिमिरेले अस्पतालको आकस्मिक कक्ष, बहिरङ विभाग, ल्याबोरेटरी र औषधि वितरण कक्षको अनुगमन गरेका छन्। डाक्टर र कर्मचारी कक्षको पनि अनुगमन गर्दै अस्पतालको स्थितिको विषयमा अस्पतालका डाक्टर र कर्मचारीबारे जानकारी लिए। 

विगत ६ महिनादेखि अस्पतालबाट बिरामीले सेवा पाउन नसकेको विषयमा उठेका जिज्ञासाबारे चासो राखेका थिए। स्थानीय तहले अस्पताल जनमैत्री नभएको, डाक्टरहरूको दरबन्दी खाली रहेको र भएका डाक्टरहरूबाट पनि बिरामीलाई सेवा नदिएको गुनासो समाधान गर्न निर्देशन दिएका थिए।

‘अस्पतालको सुधारका लागि सबै मिलेर प्रयास गर्नुपर्ने हुन्छ’, मन्त्री घिमिरेले भने, ‘संघीय मन्त्रालयसँग समन्वय गरी रिक्त दरबन्दी पूर्ति गर्नेछु।’ मन्त्री घिमिरेले जिल्लाको एक मात्र स्नातकोत्तर क्याम्पस त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडाको पनि शुक्रबारै निरीक्षण भ्रमण गर्न भ्याए। 

भ्रमण क्रममा क्याम्पस प्रमुख रमेश रोकाले क्याम्पसको आर्थिक, शैक्षिक, मानव जनशक्ति र भौतिक अवस्थाको बारेमा मन्त्री घिमिरेलाई जानकारी गराएका थिए।रोकाले क्याम्पसलाई नमुना शिक्षण संस्था बनाउने लक्ष्यलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग पनि राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.