|

  • लक्ष्मी काफ्ले-

बिर्तामोड : झापाका सांसदहरुले निजी लगानीमा जिल्लामा खुलेको ‘बी एण्ड सी’ हस्पिटललाई मेडिकल कलेजको मान्यता दिनुपर्ने माग गरेका छन्। शनिबार झापाको धाईजन–४ स्थित मेडिकल कलेजको नवनिर्मित भवनमा पत्रकार सम्मेलन गरी सांसदहरु रविन कोइराला र प्रेम गिरीले सरकारले तोकेको मापदण्ड पूरा गरेकाले बी एण्ड सी हस्पिटललाई मेडिकल कलेजको अनुमति दिनुपर्ने बताएका छन्।

झापा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रविन कोइरालाले डा. गोविन्द केसी अनसन बस्ने डरले सम्बन्धन दिने कुराबाट सरकार पछाडि हट्न नहुने धारणा राखे। ‘अनसनको डरले सरकार ब्याक हुनु हुँदैन, के जायज र के नाजायज हो, त्यो छुट्याउन सक्नुपर्छ,’ सांसद कोइरालाले भने, ‘बी एण्ड सी लाई मेडिकल कलेजको मान्यता दिँदा डा. केसी फेरि अनसन बस्लान्, यसको पछाडि केही रहस्य चाहिँ पक्कै छ।’

करोडौं रुपैयाँको लगानीमा बनेको मेडिकल कलेजलाई स्वीकृति नदिएर सरकारले मेची अञ्चलबासीलाई अन्धकारमा राख्न नहुने सांसद कोइरालाको भनाई छ। उनले डा. गोविन्द केसी अनसन बस्ने कुराले सरकार डराउन नहुने धारणा पटक पटक राखे। ‘कसैले आगोमा हाम्फाल्छु भन्यो भने नहाम्फाल् तैँले जे माग्छस् म त्यहि दिन्छु भनेर फकाउने होइन सरकारले,’ डा. केसीतर्फ सङ्केत गर्दै सांसद कोइरालाले भने, ‘सुरुमै आगो निभाइदिने हो भने कहाँ हाम्फाल्नु!’

झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद प्रेम गिरीले बी एण्ड सी हस्पिटलले सम्पूर्ण मापदण्ड पूरा गरेकाले सम्बन्धनको माग गरिएको बताए। उनले भने, ‘फाइल पुग्ने बित्तिकै बी एण्ड सीले स्वीकृति प्राप्त हुनुपर्ने हो। तर, किन अड्किएको हो हामीलाई अचम्म लागिरहेको छ।’ झापामा भर्खरै गठित स्वास्थ्य शिक्षा नागरिक सरोकार समितिका प्रवक्ता चैतन्यप्रकाश मैनालीले प्रत्येक अनसनमा डा. केसीले मागहरु थप्दै लगेको आरोप लगाए।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मैनालीले २७ लाख जनसङ्ख्या रहेको मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज नहुनु दुःखद् भएको भन्दै बी एण्ड सीलाई तत्काल सम्बन्धन दिन सरकारसँग अनुरोध गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.