|

काठमाडौं : काठमाडौंबाट पोखरा जोड्ने पृथ्वी राजमार्गको ९५ किलोमिटर सडक त्रिशुली नदी किनारमा पर्छ। भिरालो डाँडाको फेदीमा रहेको सडक र सडकदेखि केही मिटर तल त्रिशुली नदी छ। काठमाडौंबाट देशका धेरैजसो क्षेत्रमा यात्रुहरु यही सडक भएर जानुपर्छ। यो क्षेत्र धेरै दुर्घटना हुने भएकाले पनि धेरैलाई यात्राका क्रममा झस्काउने गरेको छ। 

यही सडकमा असोज ९ गते पूर्वमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी बेपत्ता भएको छ। घिमिरे र उनका दुई जना भाइ अझै वेपत्ता छन् भने आमासहित ३ जनाको मृत्यु भयो। 

पृथ्वी राजमार्गको मुग्लिनबाट नारायणगढसम्मको ३६ किलोमिटर सडकको धेरैजसो भाग पनि त्रिशुली र नारायणीको किनारबाटै छ। यो सडक त काठमाडौं - मुग्लिन भन्दा पनि डरलाग्दो छ। यही सडकमा भदौ १० गते रौतहटबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भयो। दुर्घटनामा वेपत्ता भएका अरु ३ जनाको शव भेटिएपछि मृतक संख्या २५ पुगेको थियो। 

प्रहरीको तथ्याङ्कमा यो वर्षको बैशाखदेखि यता नौ वटा गाडी त्रिशुलीमा खसिसकेको छ। पछिल्लो तीन वर्षमा त्रिशुलीमा खसेर मात्र ४८ जनाको मृत्यु र ७२ जना घाइते भएका छन्। १७ जना भने त्रिशुली नदीमा नै हराइरहेका छन्। २०७१ सालमा आठवटा र २०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका तथ्याङ्क रहेको चितवनका ट्राफिक प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए। 

‘पछिल्लो तीन वर्षमा १० वटा दुर्घटना दारेचोकमा मात्र भएको छ’, प्रहरी निरीक्षक भेटवालले भने ‘जसमा ४० जनाको मृत्यु भएको थियो। १९ जना अझै बेपत्ता छन् ।’

उनका अनुसार मुग्लिन बजारदेखि चितवन र धादिङको सीमा क्षेत्र मौवाखोलासम्म छ ठाउँमा जोखिम रहेको छ। मुग्लिन बजारको मोड, नाग्दी पुल, रमाइलो डाँडा, कुरिनटार, डाहाकी पुल र फिस्लिङलाई दुर्घटनाका लागि जोखिम मानिन्छ।

प्रहरीको १० वर्षको दुर्घटनाको तथ्यांकले त झन अवस्था भयावह छ। २०६३ साल यता चितवनको नारायणगढदेखि धादिङको सीमा मौवा खोलासम्मका दुर्घटनामा ३ सय ३५ को मृत्यु भइसकेको छ।

दैनिक सरदर ५ को मृत्यु

भदौ महिनामा मात्र देशभर एक हजार तीन सय ९६ वटा दुर्घटनामा एक सय ६० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। साउनमा एक हजार चार सय ३६ दुर्घटनामा एक सय ८० जनाको मृत्यु भएको छ। 

नेपालमा वर्षभरी दुर्घटनामा मृत्यु हुनेहरुको संख्या हेर्दा दिनमा सडक दुर्घटनाबाट नै औसतमा ५ जनाको मृत्यु हुने गरेको छ। गत आर्थिक वर्ष २०७२/७३ मा देशभरमा १० हजार १३ वटा दुर्घटनाले दुई हजार छ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। दुर्घटनाकै कारण चार हजार एक सय ८२ जना गम्भीर घाइते र आठ हजार दुई सय २६ जना सामान्य घाइते भएका छन्। 

मृत्यु हुनेहरुमा महिला भन्दा पुरुषको संख्या बढी छ। एक हजार चार सय ५५ पुरुष र एक सय ४८ महिला र ७६ बालबालिकाको सडक दुर्घटनामा मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ।  

मोटरसाइकल बढी दुर्घटना

देशभरमा सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ। गत वर्ष छ हजार तीन सय ६५ वटा मोटरसाइकल दुर्घटना भएको छ। त्यस्तै कार, जीप र माइक्रोबस चार हजार पाँच सय २८ वटा दुर्घटनामा परेको छ। 

सबैभन्दा बढी दुर्घटना उपत्यकामा हुने गरेको छ। काठमाडौंमा गत आर्थिक वर्षमा पाँच हजार छ सय ६८ वटा दुर्घटना भएको थियो। यसबाट एक सय ६६ जनाको मृत्यु भएको थियो। दुर्घटनाको संख्या बढी भएपनि उपत्यकामा मृत्यु हुनेको संख्या कम भएको नेपाल प्रहरीको प्रधान कार्यालयको तथ्याङ्कमा छ।  

मध्यमाञ्चल विकास क्षेत्रमा भएका नौ सय ३७ दुर्घटनामा पाँच सय २५ जनाको मृत्यु भएको छ। सुदुरपश्चिम क्षेत्रमा सबैभन्दा कम र त्यसपछिको कम मध्यपश्चिम क्षेत्रमा सवारी दुर्घटना भएको र त्यहाँ क्रमशः एक सय २१ र दुई सय २८ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ। पूर्वी क्षेत्रमा उपत्यकापछि कै बढी दुर्घटना भएको छ, त्यहाँ चार सय ४६ जनाको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रमा आठ सय ४६ वटा दुर्घटनामा पाँच सय २० जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.