दमक (झापा) : दमक नगरपालिकाद्वारा पहिलो नागरिक घोषित धिमाल जातिको सांस्कृतिक रूपमा पूजा गर्ने स्थान ग्रामथान दमक- ४ स्थित अर्नाखाडी स्थापनाको १०० वर्ष पूरा भएको छ। अर्नाखाडी ग्रामथान शतवार्षिकीका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गरिएको छ।
धिमाल जातिको मुख्य पर्व जात्रीको अवसर पारेर शतवार्षिकी महोत्सव मनाइएको हो। जात्री पर्व हरेक वर्षको बैशाख २ गतेदेखि असार २ गतेसम्म हरेक धिमाल टोलमा मनाउने गरिन्छ। यस पर्वमा ढोल बजाएर नाचगान गरिने भएकाले ढङढङे मेलासमेत भन्ने गरिएको छ।
ग्रामथान स्थापनाको इतिहास
तत्कालीन समयमा मधुमल्लाअन्तर्गतको अर्नाखाडी क्षेत्रमा मानव बस्तीको इतिहास १०५ वर्ष लामो रहेको छ। ग्रामथान तथा बस्तीका संस्थापक तेलपाने धिमालका कान्छा छोरा लालबहादुर धिमालका अनुसार उक्त स्थानमा वि. सं. १९७० मा उनका बुबाले बस्ती बसालेका हुन्। त्यसअघि दमकका अन्य विभिन्न टोलमा भने धिमाल बस्ती स्थापित भइसकेको थियो।
‘यहाँ सुरुमा २० घरजति धिमालले जंगल फाँडेर बस्ती बसाएका हुन् तर बस्ती बसालेकै दुई वर्षपछि हाम्रा बडाउ चेउ धिमाल खसे। त्यस बेला कुनै पनि मान्छे मर्यो भने त्यो बस्ती नै सार्ने चलन थियो’, बस्तीका संस्थापक तेलपानेका छोरा ७० वर्षीय लालबहादुरले भने, ‘तर त्यस बेला हाम्रा बाउले तिघ्रेमेला, राजारानी, दापगाछी र बारघरे ग्रामथानमा गएर अरू बुढाहरूसँग बस्ती सार्ने सल्लाह गर्दा मान्छे मरे पनि ग्रामथान बनाउनु र पूजा गर्न थाल्नु, बस्ती सार्नुपर्दैन भनेछन्। अरू बुढाको यही सल्लाह मानेर यहाँ वि. सं. १९७५ मा ग्रामथान बनाइएको हो र हरेक वर्ष जात्री पूजा गर्ने गरिएको हो।’ त्यसपछि हरेक वर्षको जात्री पर्वको अवसरमा जेठको दोस्रो साता यहाँ मेला लगाउने र पूजा गर्ने चलन छ।
जात्री पर्वको महत्त्व
जात्री पर्व धिमाल समुदायले मनाउने सबैभन्दा ठूलो र लामो पर्व हो। यो दुई महिनासम्म मनाउने गरिन्छ। यसलाई आफन्त भेटघाट र रमाइलो गर्ने अवसरका रूपमा पनि लिने गरिन्छ। यस्तै, पारिवारिक सुख, शान्तिको कामना गर्दै पूजा गर्ने र भोग दिने चलन पनि छ। यो जात्री पर्वमा धिमाल टोलटोलमा लाग्ने मेलामा युवाले मनपराएका केटाकेटी हेर्ने चलन पनि छ।
‘जात्री मेला आफूले मनपराएको मान्छे खोज्ने र रोज्ने अवसर पनि हो’, अर्नाखाडी टोलका हनुवा अर्थात् पूजारीका धुपौरेसमेत रहेका लालबहादुरले भने, ‘जात्री मेलामा मन परापर भयो भने बाबुआमालाई भनेर केटा वा केटीको घरैमा माग्न जाने गरिन्छ।’ तर जात्री मेलामा मन परापर भए पनि साउनसम्म खेतीमा व्यस्त हुने भएकाले भदौ लागेपछि विवाहको प्रक्रिया थालनी हुने उनको भनाइ छ। यस्तै, अर्नाखाडी टोलका अध्यक्ष पुजन धिमालका अनुसार जात्री मेला र पानको विशेष सम्बन्ध रहेको हुन्छ। ‘मेलामा कसैलाई मनपर्यो भने एक खिल्ली पान दिएर चिनजान सुरु गर्ने गरिन्छ। पान खाँदै गफ गर्दा मन परापर भयो भने अर्को पक्षले पनि पान दिन्छ। मनपरेन भने दिँदैन’, उनले भने, ‘अर्को पक्षबाट पान आयो भने कुरा अघि बढाए हुन्छ नत्र त्यहीँ कुरा टुंग्याइन्छ।’
अर्नाखाडीको किम्वदन्ती
साविक दमक नगरपालिकाका १५ र १६ नम्बर वडा विभाजनअघि एउटै टोल थियो। त्यस बेला यहाँ रहेका विशाल खाडीमा अर्नाहरू पानी खान र पौडी खेल्न आउने गर्थे। त्यसैले यो बस्तीको नाम नै अर्नाखाडी रहन गएको बताउँछन् शिक्षक समेत रहेका धिमाल जातीय विकास केन्द्रका लेखा संयोजक कृष्ण धिमाल। ‘पहिले अर्नाखाडी ठूलो बस्ती थियो। ग्रामथान पनि एउटै थियो। एकै ठाउँमा पूजा हुने गरेको थियो’, उनले भने, ‘तर वडा विभाजन हुँदा अलगअलग वडामा परे पनि साविकको १५ र हालको वडा- ४ को टोललाई ठूलो अर्नाखाडी र हालको वडा- ९ को टोललाई सानो अर्नाखाडी भन्ने गरिन्छ।’
जात्री पर्वमा बिदा माग
बस्ती तथा ग्रामथान स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा धिमाल अगुवाहरूले धिमाल समुदायको मुख्य पर्व जात्रीमा नगरभित्र सार्वजनिक बिदा दिन माग गरेका छन्। ‘नगरपालिकाले धिमाल जातिलाई पहिलो नागरिक घोषणा गरेको छ तर यही जातिको मुख्य पर्वका दिन बिदा दिइएको छैन’, धिमाल अगुवा कृष्ण धिमालले भने, ‘असार २ गते जात्री समापन हुन्छ। यस दिनलाई नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरिदिनुपर्यो अनि मात्र अरू जाति र समुदायले पनि धिमाल समुदायको पर्व र संस्कृतिलाई अवलोकन गर्ने र चिन्ने मौका पाउँछन्।’ अन्य वक्ताहरूले पनि दुई महिना पर्व मनाए पनि एक दिन सार्वजनिक बिदा दिन माग गरे। झापा र मोरङका ९८ बस्तीमा धिमाल समुदायको बसोबास रहेको छ।
कार्यक्रममा महिला रिक्सा चालक फूलमाया धिमाल, अन्तर्राष्ट्रिय 'बडी विल्डर' ललित धिमाल, वडा अध्यक्ष कुमार साम्सुहाङ, वडा सदस्यहरू देवीमाया विक, तिलक थापा, मणिराज धिमाल र सरिता खतिवडा दाहाललाई सम्मान गरिएको थियो। शत वार्षिकी कार्यक्रममा सांसद महेन्द्रकुमारी लिम्बूको उपस्थिति थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।