|

दैलेख : कर्णाली नदीबाट पछिल्लो समय विभिन्न प्रजातिका माछा हराउँदै गएका छन्। स्वादिलो माछाका लागि प्रसिद्ध कर्णाली नदीका विभिन्न प्रजातिका माछा लोप हुँदै गएपछि माछा मारेर दैनिक गुजारा चलाउने कर्णाली नदी आसपास क्षेत्रका वासिन्दामध्ये केही परिवारको पेशा संकटमा परेको छ। स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा उनीहरूको पेशासमेत संकटमा परेको हो।

खोलामा करेन्ट लगाएर माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेका हुन्। गर्मी याम सुरु भएसगै प्राय स्थानीय खोलामा माछा मार्नेहरूले करेन्ट प्रयोग गर्न थालेपछि माछा लोप हुने खतरा बढेको हो। कर्णाली नदीको मध्य जलाधार क्षेत्रभित्र अत्याधिक करेन्ट र बिषादीको प्रयोगले माछा मार्न थालेपछि कर्णाली प्रदेशका स्थानीय खोला तथा नदीहरूमा माछा पाउन छोडेको हो।

कर्णाली प्रदेशको कर्णाली नदीपछिको सबैभन्दा माछा पाउने स्थान अछाम र दैलेखको  सिमानामा रहेको रामघाट खोलामा करेन्टले माछा मारेपछि पहिलेको भन्दा कमै मात्रामा माछा पाउने गरेको आठविस नगरपालिका १ का धिरेन्द्र बादीले बताए। ‘आजभोली करेन्टका कारण जाल र झरौलामा माछा मार्न छाडी सके, साना-साना बालबालिकाहरू समेत करेन्टको प्रयोग गरीरहेका छन, नदीमा माछानै पाउन छोडिसक्यो,' उनले भने।

खोलामा ब्याट्री लगेर समूह बनाइ दिनहुँ अव्यवस्थित रूपमा माछा मार्ने क्रम बढ्नाले धेरै माछाका प्रजातिहरू हराएका छन्। खासगरी पहिलेको तुलनामा अहिले माछाका प्रजाति देखिन छाडेको समेत त्यहाँका स्थानीय बुढापाका बताउछन्। जाल खेलेर जीविका चलाउनेको आयस्रोत बन्ने माछा संकलन कार्य आजभोली करेन्ट संकटमा परेको छ। जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले माछा संरक्षण लागि स्थानीय तहहरूले कानुन नै पास गर्नुपर्ने बताए। विषादी प्रयोग, वम पट्काउने र करेन्ट ल्याउनेको संख्या अत्याधिक बढेको छ।

जबसम्म स्थानीय तहले कानून बनाउन सक्दैनन् तबसम्म विषादी, बम र करेन्टको प्रयोगलाई नियन्त्रण गर्न नसकिने उनको भनाइ छ। विषादी, वम र करेन्ट प्रयोग गर्ने समुदायलाई कानून  बनाएर कारवाहीको दायरामा ल्याउनुपर्छ, उनले भने।

उता जलधारमा माछा लोप हुँदै गएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन।  पानी परियोजना, रिर्सोसर हिमालय फाउण्डेशन र सुर्वोदय जुम्लाले दैलेखमा आयोजना गरेको एक कार्यक्रममा नेपाल कृषि अनुसन्धान केन्द्रका माछासम्बन्धी विशेषज्ञ डा.अरुणप्रसाद वैद्यले पछिल्लो समय विषादी, वम र करेन्टको अत्याधिक प्रयोगले नदिका माछा कम मात्रा पाईने गरेकोमा चिन्ता व्यक्त गरेका छन्।

नेपालमा २३० प्रजातीका माछा पाइने उनले जानकारी दिए। कर्णाली नदिमै मात्र अाठ प्रजातिका माछा पाइने गरेको उनले बताए। महाजाल र करेन्टको प्रयोगले माछा लोप हुदै गएको उनले बताए। फलामे सहर माछा लोप भएको उनले बताए। स्थानीय तहले नै जलचरसम्बन्धी कानुन बनाएर कार्यान्वय गरेमा प्रभावकारी हुने रिसोर्सेस फाउण्डेशन टिम लिटर डा.कमल अधिकारीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.