|

धनगढी : अत्याधिक गर्मी बढेसँगै कैलाली कञ्‍चनपुरमा सर्पदंश बढ्न थालेको छ। गर्मीसँगै विषालु सर्पहरू देखिन थालेका छन्। पछिल्लो दुई महिनामा मात्रै सेती अञ्चल अस्पतालमा ३५ जना सर्पदंशका बिरामी उपचारमा आएका छन्। हालसम्म तीनजनाको मृत्यु भएको अस्पातालले जनाएको छ।

 गर्मी सुरु भएपछि गोमन, करेत जातका विषालु सर्प र विष नलाग्ने थुप्रै सर्पहरु देखिन थालेका छन्। सर्पदंशका घट्ना बढ्दै गए पनि गाउँघरमै अस्पताल तथा उपचार केन्द्र नहुँदा अस्पताल पुराउँदासम्म ज्यान जाने गरेको सेती अञ्चल अस्पतालका इमेरजन्सी इन्चार्ज कृष्ण बोहराले बताए।

‘पछिल्लो २ महिनायता मात्रै ३५ भन्दा  बढी सर्पदंशका बिरामी उपचारमा आएका छन्। जसमध्ये तीनजनाको मृत्यु भएको छ।’ बोहराले भने। जेठमा दुईजना र असारमा एकजनाको ज्यान गएको थियो।

चैत वैशाखदेखि असोज कात्तिकसम्म सर्पदंशका घटना बढ्न सक्ने भएकाले रातिको समयमा विशेष ध्यान दिनसमेत चिकित्सकहरूले आग्रह गरेका छन्।

सर्पले टोक्नेबित्तिकै केही नहुने भएकाले पनि खासै चासो नदिएको चिकित्सकहरु बताउँछन्। तर, केही समयपछि लक्षणहरू देखिने वरिष्ठ डा. शेरबहादुर कमरले बताए। ‘सर्पले टोकेमा घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, रिगंटा लाग्ने तथा  मथिल्लो पेट दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गर्छ’ कमरले भने।

कैलाली कञ्‍चनपुरका ग्रामीण क्षेत्रमा अझै पनि गाउँघरमा सर्पले टोकेपछि झारफुक गर्ने र अन्तिम अवस्थामा मात्रै अस्पताल ल्याउने प्रचलन छ। जसले गर्दा सर्पदंशबाट ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.