|

धनगढी : प्रतिपक्षको अवरोधपछि अवरुद्ध हुँदै आएको ७ नम्बर प्रदेशसभाको बैठक बुधबारबाट पुनः सुचारु भएको छ। प्रदेश ७ को सरकार,  प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीबीच चार बुदेँ सहमति भएपछि बुधबारबाट संसद सुचारु भएको हो।

संसद सुरु हुनुभन्दा पहिलो बसेको कार्यव्यवस्था परामर्श समितिमा सरकार र प्रतिपक्षबीच चार बुदेँ सहमति भएको हो। सरकारले बजेट खर्च गर्दा विधि र प्रक्रियाको पालना गर्ने, डल्लो बजेटलार्इ कार्यान्वयन गर्ने संयन्त्रको निर्माण गर्ने, सबै योजनामा सांसदहरूको सम्मानजनक सहभागिता राख्ने र निर्वाचन क्षेत्र विकास कोषको रकमलार्इ कार्यक्रम बनाएर कार्यान्वयनमा लैजाने सहमति भएको छ।

सरकारसँग सहमतिपछि निर्धारितभन्दा करिब ३० मिनेटपछि बैठक सुरु भएको थियो। बैठकमा विशेष समयको माग गर्दे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिपक्षको मागका विषयमा सरकार गम्भीर रहेको बताए। ‘हामी निरन्तर छलफलमा थियौँ सरकारले सहजता ल्याइदियो’ खड्काले भने।

सरकारको सृजनशिल क्रियाकलापमा प्रतिपक्षले सदैव सहयोग गर्ने खड्काले बताए। उनले भने ‘फेरि संसद अवरुद्ध गर्ने समय नआवस्, भएको समहति कार्यान्वयन गर्न सरकार गम्भीर बनोस्।’

मुख्यमन्त्री त्रिलोचन भट्टको स्वास्थ्य अवस्थामा समस्या आएपछि सरकारका तर्फबाट सामाजिक विकासमन्त्री दीर्घ सोडारी धारणा राखेका थिए। उनले प्रतिपक्षसँग भएको समहति कार्यन्वयनमा सरकार गम्भीर रहेको बताए।

‘हाम्रो प्रदेश सभामा पहिलो पटक अवरोध भएको छ, प्रतिपक्षले उठाउनु भएको विषय हाम्रो पनि प्राथमिकतामा परेको छ, मन्त्री सोडारीले भने ‘यसको कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको छ।’

प्रदेशसभाको बैठकपछि संचारकर्मीहरूसँग प्रतिकृया दिँदै आर्थिक मामिला तथा योजनामन्त्री झपट वोहराले अब केही दिनमै बजेट पारित हुने बताए। उनले बजेटले सबै नागरिकलाई समेटेको बताए। ‘बजेटमा केही कमी थियो होला, प्रतिपक्षले थप बलियो बनाइदिनु भएको छ,’ वोहराले भने 'बजेटमा सबै सांसदहरुको प्रतिनिधित्व भएको छ।'

लगातर दुई दिनको अवरोधपछि बुधबार सुरु भएको प्रदेश सभा बैठक बिहीबार बिहान ८ बजे आह्वान गर्दै टुंगिएको थियो।  बिहीबारबाट पुनः बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमा असार ४ गतेदेखि प्रदेशसभामा छलफल सुरु भएको थियो। तीन दिनको छफलमा १० जना प्रदेशसभा सदस्यहरूले धारणा राखेका थिए। धारणा राख्न बाँकी प्रदेशसभा सदस्यहरूले बिहीबारबाट पालो पाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.