|
फाइल फोटो

महमाई : इलामको दानाबारीस्थित नमूना वन उपभोक्ता समितिको कार्यालय अगाडि शनिबार दिउँसो मानिसको खचाखच भीड थियो। कार्यालयको हलभित्र ५ वटा शव लस्करै राखिएको थियो। प्रहरी शवको मुचुल्का तयार गर्दैथिए। 

दक्षिणी इलामको दानाबारी र महमाई भएर बग्ने माई खोलामा शुक्रबार दिउँसो डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ८ पुगिसकेको छ। डुङ्गामा ५० भन्दा बढी चढेको स्थानीय बताउँछन्। इलाम प्रहरीसँग भने यकिन तथ्याङ्क छैन। दानाबारीबाट महमाईतर्फ जाने यात्रुलाई चढाएर खोलाको बीच भागमा नपुग्दै डुङ्गा डुबेको प्रत्यक्षदर्शी बताउँछन्। 

प्रहरीले उद्दार गरिएको ३४ र मृत्यु भएका ८ गरी ४२ जनामात्र डुंगामा रहेको दावी गरेको छ। तर डुङ्गामा सवार यामबहादुर खड्काका अनुसार त्यस दिन ढुङ्गामा ५० भन्दा बढी नै यात्रु थिए। ‘२ पल्ट गरेर तार्नु भन्दा पनि मानेनन् चालकले,’ घटना भएको दिन स्मरण गर्दै उनले भने, ‘टेन्सन नलिनु न केही हुँदैन भन्दै डुङ्गा चलाए, हिँडिसक्दा डुङ्गा डुब्यो।’ 

पौडिन नजान्ने खड्कालाई निकै बेरपछि कसैले उद्दार गरेको याद छ। आफू बाँचेपनि २ वटी भान्जी गुमाउँदा उनी शोकमा डुबेका छन्। मृतकद्वय पुष्पा र अञ्जली खड्का उनका भाञ्जी हुन्। डुङ्गा दुर्घटनामा परेर ज्यान जोगाएका अर्का युवा मित्रहाङ शेर्मा भन्छन्, ‘डुङ्गामा चढ्ने बित्तिकै सबैलाई सय/सय रुपैयाँ भाडा मागे, हामीले भाडा तिर्‍यौं, अलिकति उकालो जानेबित्तिकै म बसेको ठाउँबाट डुङ्गामा पानी पस्न थाल्यो, एकैछिनमा चुर्लुम्मै डुब्यौँ।’ 

डुङ्गा भने करिब १ किलोमिटर दक्षिणमा फेला परेको थियो। खोलामा पुल नहुँदा दानाबारी र महमाईका बसिन्दाले सधैँ डुङ्गामा चढ्नुपर्ने बाध्यता छ। 
‘यहाँ त सधैँ यस्तै हो,’ महमाई–३ का गणेश भारती भन्छन्, ‘मैले थाहा पाउँदादेखिकै समस्या हो यो, पहिले त नाऊ पनि थिएन, पछि बल्ल नाऊ सञ्चालनमा आएको हो, दुर्घटनामा परेर मान्छेको ज्यानै गएको चाहिँ पहिलो पल्ट हो।’ डुङ्गा दुर्घटना भएको स्थान नजिकै निर्माण हुँदाहुँदै अलपत्र परेको पक्की पुल छ। राजनीतिक खिचातानीका कारण पुल निर्माण सम्पन्न हुन नसकेको स्थानीय बताउँछन्। 

इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल पनि घटनास्थलमै भेटिए। दुर्घटना हुनेबित्तिकै आफूले खबर पाएको उनले बताए। ‘२ बजेर ४ मिनेट जाँदा मलाई खबर आयो,’ उनले भने, ‘हामी तुरुन्तै घटनास्थलतर्फ हिँड्यौँ।’ उद्दार भएकाहरुको अवस्था सामान्य रहेको प्रजिअ दाहालले जानकारी दिए। पुल निर्माण सम्पन्न नहुँदा डुङ्गाको विकल्प नभएको उनी बताउँछन्। यस विषयमा स्थानीय राजनीतिक दलहरु गम्भीर भएर पुल निर्माण सम्पन्न गर्नुपर्ने उनले बताए। 

स्थानीयका अनुसार पुल निर्माण सुरु भएको २ वर्ष भयो। तर, आधा पनि काम हुन सकेको छैन। दानाबारीमा लाग्ने शुक्रबारे बजारका लागि महमाईबासी डुङ्गा चढेर आउने गरेको स्थानीयले बताए। महमाई र दानाबारी एमालेका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हो। महमाई सुवास नेम्वाङ र दानाबारी झलनाथ खनालको चुनाव क्षेत्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.