बागलुङ : दशैँका बेला घर घरमा खसी काट्ने परम्पराको अन्त्य गर्न भन्दै जैमिनी नगरपालिका-१ जलुकेनी, अर्खलापाटाका २० परिवार सामूहिक खसी काटेर दशैँ भोज गरेका छन्। घर घरमा खसी काटेर दशैँ मनाउने सबैको क्षमता नहुने र हुने खाने र हुँदा खानेको बीचको दशैँ फरक हुने भएकाले युवाहरूको सक्रियतामा २० परिवारको एकै ठाउँमा सामूहिक दशैँ भोजको आयोजना गरिएको हो। गाउँका सबैलाई दशैँको महसुस गराउनका लागि कार्यक्रमको आयोजना गरिएको हो।
युवाहरूले २० परिवारका लागि एउटा खसी काटेर परिवारका सबै सदस्यहरुलाई खानपिनको व्यवस्था मिलाएका थिए। 'पछिल्लो समय दशैंको नाममा खर्च गर्ने प्रवृत्तिको विकास हुँदै आएको छ' जैमिनी १ अर्खलापाटाका रविन्द्र शर्माले भने, 'दशैंलाई सबैको सझा र उल्लासमय पर्वको रूपमा विकास गर्नका लागि साझा खसी काटेर सामूहिक भोजको आयोजना गरिएको हो।' उनीहरूले सबैलाई माझ पर्ने बारीको पाटामा सेल रोटी पकाएर खसीको मासुसँग सबैलाई भोजन गराएर शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रममा २० परिवारका वृद्ध वृद्धादेखि बालबालिकासम्मको सहभागिता रहेको थियो। 'कोही कामको सिलसिलामा देश विदेशमा त कसैले गाउँघरमा नै खेती किसानी गरेर बसेका छौं' अर्खलापाटकै पवन आचार्यले भने, 'एकै गाउँका दाजुभाइको बीचमा चिनजानसमेत नहुने वातावरण बन्दै गएपछि सामूहिक भोज गरेर चिनजान गरियो।' समान्य खर्चले दशैँ मनाउने सन्देश दिँदै सामान्य खानपानमा युवाहरूले दशैं मनाउने प्रबन्ध मिलाएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।