|

काठमाडौं : संविधान जारी भएपछि तराईका २० जिल्लाबाट चार हजार छ सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको पाइएको छ। गृह मन्त्रालयका अनुसार २०७२ असोजदेखि २०७३ वैशाखसम्म ४ हजार छ सय ६३ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका हुन्। 

सबैभन्दा बढी रुपन्देहीबाट ८ सय १२, नवलपरासीबाट ५ सय २९, पर्साबाट ४ सय ७६, दाङबाट ४ सय ६८ जनाले अंगीकृत नागरिकता लिएका मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सागरमणि पाठकले जानकारी दिए। बारा जिल्लामा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्नेको संख्या ३ सय २४ छ।

हेर्नुस् तथ्याङ्क:

नयाँ संविधानमा गरिएको ब्यवस्थाले विवाह गरेर ल्याइएकी विदेशी नागरिकलाई नागरिकता प्राप्तीमा कठिनाइ भएको प्रचार भएको थियो। तर प्रमाण पुर्‍याएर नागरिकता प्राप्त गर्न कुनै कठिनाई नभएको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव पाठक बताउँछन्।'विवाह गरेर आएपछि नागरिकता त्यागेको निस्सा प्रशासनले प्राप्त गरेपछि त्यसलाई भेरिफाई गरेर नागरिकता दिने गरिन्छ वैवाहिक अंगीकृत नागरिकतामा कुनै कठिनाई छैन', पाठकले थाहाखबरसँग भने।

१५ वर्ष नेपालमा बसेर २०६३ सालदेखि हालसम्म १७ जनाले अंगीकृत नागरिकता प्राप्त गरेको गृह मन्त्रालयको तथ्याङ्क छ। त्यसरी अंगीकृत नागरिकता प्राप्त गर्नेमा राष्ट्रिय क्रिकेट टोलीका शरद भेषावकर पनि छन्। यस्तै नेपालमा लामो समयसम्म बसोबास गरेर गत वर्ष निधन भएकी बारबरा एडम्सले पनि अंगीकृत नागरिकता प्राप्त गरेकी थिइन्।

गृह मन्त्रालयमै छैन सबै तथ्याङ्क

गृह मन्त्रालयले ई गभरनेन्स अन्तर्गत ७५ जिल्लाकै तथ्याङ्क केन्द्रमा संकलन गर्ने किसिमले काम अघि बढाएको छ। सबै जिल्लाका नागरिकता सम्बन्धी अभिलेख  गृह मन्त्रालयको ई गभरनेन्स शाखामा उपलब्ध छैन। थाहाखबरले गृह मन्त्रालयका सूचना अधिकारी भविश्वर पाण्डेसँग २०४६ सालदेखिको नागरिकताको तथ्याङ माग गरेपनि गृह मन्त्रालयले २०६३ साल यताको अंगीकृत नागरिकताको तथ्याङ्कमात्र उपलब्ध गराए।

त्यस तथ्याङमा १५ वर्ष नेपालमा बसोबास गरेर अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिको सूची थियो। गृह मन्त्रालयका अनुसार वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्नेको सूची जिल्ला प्रशासन कार्यलयमा हुने भएकाले सबै जिल्लामा ई गभरनेन्स सुरु नभएको र ढड्डाका अभिलेख कम्युटरमा राखि नसकेको कारणले पनि गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखामा सबै तथ्याङ्क उपलब्ध छैन। 'जिल्ला प्रशासन कार्यलयले कम्युटरमा अभिलेख राख्ने वित्तिकै ई गभरनेन्स प्रणाली अनुसार तथ्याङ्क सिधै केन्द्रमा आउँछ' पाठकले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.