|
प्रतीकात्मक फोटो

कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रममा एकल पुरुष र किसानलाई भत्ता र महिलालाई सेनेटरी प्याडलगायतका नीति तथा कार्यक्रम ल्याएको छ। गाउँपालिकाको पाँचौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा एकल पुरुष र किसानलाई भत्ता र महिलालाई सनेटरी प्याड दिनेलगायतका कार्यक्रम समेटिएका छन्।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा २९ करोड ४८ लाख ७५ हजार बजेट सार्वजनिक गर्दै कृषि, यातायात, स्वास्थ्य, शिक्षा, लक्षित समूह र बेरोजगार युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको छ।

एकल पुरुषलाई भत्ता

५० वर्ष पूरा भएका श्रीमती नभएका एकल पुरुषहरूलाई ‘जीवन साथी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता दिने भएको छ। यो कार्यक्रमअन्तर्गत ५० वर्ष पूरा भएका एकल पुरुषले मासिक एक हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने छन्।

लैंगिक समानता तथा एकल पुरुषको जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले गाँउपालिकाले ‘जीवन साथी कार्यक्रम’ अन्तर्गत एकल पुरुषलाई समेत सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिएको सान्नी त्रिवेणी गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए।

‘एकल पुरुषले पनि मासिक रुपमा भत्ता पाउने छन्’ उनले भने, ‘वृद्धभत्ता ६० वर्ष पुगेपछि मात्र पाउँछन्। तर यहाँका मानिसको आयु, सामाजिक तथा आर्थिक हिसाबले ५० वर्षमा नै कमाउन नसक्ने अवस्था हुने भएकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको हो।’

महिला नि:शुल्क सेनेटरी प्याड

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेनेटरी प्याडको अनिवार्य व्यवस्था गर्ने भएको छ। महिलालाई रजस्वला भएका बेला काम गर्न असहज हुने भएकाले कार्यक्षेत्रमा अनिवार्य सेनेटरीको व्यवस्था गर्न लागिएको हो।

विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक शौचालय, सार्वजनिक कार्यक्रम हुँदा अनिवार्य रुपमा गाउँपालिकाले नि:शुल्क सेनेटरी प्याडको व्यवस्था गरिने गाउँपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

भेडा पाल्ने किसानलाई भत्ता

गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका १ सय ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानका लागि मासिक ५ हजार भत्ता दिने भएको छ। पशुपालनमा किसानलाई प्रोत्साहन गर्न भत्ता दिने भएको गाउँपालिकाले जनाएको छ।

कृषि तथा पशुपालनमा मानिसको ध्यान तान्न र पशुनपालन गर्ने किसानलाई उत्साहित बनाउन नीति तथा कार्यक्रम भेडाबाख्रा पाल्ने किसानलाई अनिवार्य मासिक ५ हजार भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए। ‘अहिलेको पुस्ता पशुपालनबाट बाहिरिन थाल्यो’ उनले भने, ‘किसानलाई व्यावसायिक पशुपालन गर्न सकुन भनेर भत्ताको व्यवस्था गरिएको हो।’

घर-घरमा खानेपानी धारा

चालु आर्थिक वर्षभित्रै गाउँपालिकाका सबै घरधुरीमा खानेपानीको धारा अनिवार्य बनाउने गाउँपालिकाको नीति तथा कार्यक्रम ल्याएको छ। गाउँपालिकामा अझै खानेपानीको समस्या भएका कारणले अनिवार्य घर-घरमा खानेपानीको धारा बनाउने नीति लिएको हो।

खानेपानीको समस्या समाधान गर्नका लागि सबैको घरमा यसै आर्थिक वर्षमा खानेपानीको धारा बनाइने सान्नी त्रिवेणी गाउँपालिका वडा–१ वडा अध्यक्ष भरत बिकले बताए। ‘हामीले खानेपानीको मसस्या समाधान गर्नका लागि सबैको घरमा खानेपानीको धारा अनिवार्य बनाउने निर्णय लिएका छौँ’ उनले भने, ‘चालु आर्थिक वर्षमा नै सबैको घरमा खानेपानीको धारा हुनेछन्।’

सबै वडामा सडक

चालु आर्थिक वर्षभित्र नै गाउँपालिकाका सबै वडामा ग्रामीण कृषि सडक सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ। गाउँपालिका सबै वडामा सडक सञ्चालनमा ल्याएर यहाँ उत्पादन हुने कृषि उपजका सामग्री बजारीकरण गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए।

‘सबै वडामा कृषि उपजका सामग्री बिक्रीवितरण गर्न सहज होस भनेर सडक संजालले जोडिने छ’ उनले भने, ‘यसले गाउँपालिकाको समृद्धि ल्याउन ठुलो टेवा पुग्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.