दमक (झापा) : धान खेतीका लागि उर्वर मानिएको झापामा लगातार धान खेतीको जमिन घट्दै गएको छ। अनियन्त्रित जग्गा प्लटिङ र श्रमिकको अभाव धान खेती घट्नुका मुख्य कारण रहेको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ९० हजार हेक्टर जग्गा धान खेतीयोग्य रहे पनि २१ हजार हेक्टरमा मात्र चैते धान रोपाइँ भएको जानकारी दिए। उनका अनुसार गत वर्ष असारे धान ८७ हजार ५०० हेक्टर मात्र लगाइयो। खेतीयोग्य जमिन निष्क्रिय रहनुको कारणमध्ये अधकल्चो प्रविधि समेत रहेको पाइएको छ।
केही वर्षअघि साना गह्रा तथा थोरै जमिन समेत उपयोग हुने गरेको थियो। तर, पछिल्लो समय त्यस्ता जमिन बाँझै हुने गरेको छ। प्रविधिप्रतिको आकर्षण र अपर्याप्ताका काण त्यस्ता जग्गा बाँझिएको अगुवा किसानहरुको धारणा छ। ‘अहिले गोरु पाल्ने चलन हरायो, गोरु हुँदा साना गह्रा, फोक्टामा पनि केही न केही बाली लगाइन्थ्यो,’ कमल गाउँपालिका–६ का कृष्ण गौतमले भने, ‘अचेल ट्रयाक्टरको चलन आयो, गोरु पाल्नै छोडियो। सानो ठाउँमा ट्रयाक्टर नआउँदा खेती नै हुन छोडिसक्यो।’
यस्तै, श्रम शक्तिको अभावले पनि धान खेतीको विकल्प किसानले खोज्न थालेका छन्। ‘रोपाहार गाउँमा पाइँदैन, पोहोर पनि दक्षिणी क्षेत्रका केही किसानले मध्य असारमा धान खेती नगर्ने बरु यसको विकल्प अरु के हुन्छ भन्दै थिए,’ ज्ञान केन्द्र प्रमुख भट्टराई भन्छन्, ‘अब मध्य असारमा विकल्प त के नै हुन्छ र। यस वर्ष पनि धेरै किसानले यसै भन्न थालेका छन्।’
केही स्थानमा धान रोप्ने मेशिनको प्रयोग पनि हुन थालेको छ। तर, मेशिनले मानवीय श्रमलाई विस्थापित गर्न नसकेको उनले बताए। त्यसैले किसानले पनि साना औजार तथा उपकरणको उपयोगमा जोड दिन सके मात्र धान खेतीलाई बिस्तार र व्यवसायिक बनाउन सम्भव हुने प्रमुख भट्टराईको भनाइ छ।
भू उपयोग नीति कार्यान्वयनको खाँचो
झापामा धान खेतीको क्षेत्र खुम्चनुको मुख्य कारण जग्गाको अव्यवस्थित खण्डीकरण र प्लटिङ भएको ज्ञान केन्द्र प्रमुख भट्टराई बताउँछन्। भू उपयोग नीति कार्यान्यन नहुँदा जुनसुकै क्षेत्रको जमिनमा पनि प्लटिङका नाममा बालुवा थुपारिएको छ। बालुवा हालेर प्लटिङ गर्ने तर घर पनि नबन्ने र खेती पनि नहुने अवस्थाका कारण खेतीयोग्य जमिनको क्षेत्र साँघुरिएको भट्टराईको भनाइ छ।
स्थानीय तहसमेत कार्यान्वयनमा आइसकेको र नीति बन्ने क्रममा रहेकाले जमिनको सम्भाव्यता र आवश्यकताका आधारमा उपयोग गर्ने प्रणाली कार्यान्वयन हुनेमा उनी आशावादी छन्। जहाँको जमिनमा जे सम्भावना र आवश्यकता हुन्छ, सोहीअनुसार उपयोग गर्न सके मात्र खेतीयोग्य जमिन निष्क्रिय रहने क्रम घट्ने उनले बताए।
अनुदान भने बढ्दै
बजार नपाएर किसान चिन्तित भइरहेका बेला झापामा चैते धान उत्पादनका लागि भने सरकारले अनुदान प्रदान गरेको छ। यस वर्ष झापामा चैते धान खेती प्रोत्साहनकै लागि सरकारले ६८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो।
असारे धानखेती खुम्चिरहँदा झापामा चैते धान भने गत वर्षभन्दा दुई हजार हेक्टर बढी २१ हजार हेक्टर जमिनमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। प्रतिहेक्टर १० हजार रुपैयाँ दरले किसानलाई अनुदान उपलब्ध गराइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
प्रोत्साहनमा आधारित अनुदान प्रदान गरी चैते धान उत्पादनमा किसानलाई प्रेरित गरिएको हो। २१ ओटा क्लस्टर विभाजन गरी किसानलाई अनुदान उपलब्ध गराएपछि यस वर्ष जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको छ। झापामा चैते धानको सरदर उत्पादन प्रतिहेक्टर पाँच मेट्रिकटन हुने गरेको छ। अन्तिम आँकडा आइनसकेको भए पनि यस वर्षसमेत गत वर्षको भन्दा कम उत्पादन नहुने कार्यालय प्रमुख भट्टराईले बताए।
गत वर्षको उत्पादन दरअनुसार यस वर्ष झापामा एक लाख मेट्रिक टनभन्दा बढी चैते धान उत्पादन हुँदैछ। लागतअनुसार मूल्यको अभाव भए पनि किसान भने बेच्नै पर्ने बाध्यतामा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।