शव काटेर गिद्धलाई खुवाउने ठाउँमा कसरी खप्पर भेटियो ?

|

कास्की : मुस्ताङको लोमान्थाङ दरबार क्षेत्रमा खानेपानीको पाइप गाड्ने खाडल खन्दा मंगलबार मावन कंकाल भेटियो। खानेपानीको पाइप लोमान्थाङ लैजानेक्रममा लोमान्थाङ दरबारको सुरक्षाको लागि लगाइएको पर्खाल नजिकै खाडल खन्दा मानव कंकाल (खप्पर र हड्डी) भेटिएको हो।

पहिले राजाको दरबार रहेको लोमान्थाङमा खप्पर र हड्डी भेटिएपछि अहिले खानेपानीको पाइप गाड्ने कामसमेत रोकिएको छ। पर्खालसँगैको जमिनमा तीन फिट गहिराई खनेपछि मानव कंकाल भेटिएको हो। 

राजा आङबोन साङ्बोले आफ्ना लागि यहाँ दरवार निर्माण गरेपछि त्यसको सुरक्षाको लागि पर्खाल बनाएको मुस्ताङका सांसद इन्द्रधारा विष्टले जानकारी दिए। तत्कालीन दरबारीया परिवारकै सदस्य रहेका विष्टले भने, ‘दरबारलाई घेरेर पर्खाल उतिखेरै लगाइएको थियो। अहिले त्यै दरबारको गेटमा भएको पर्खालमै खप्पर भेटियो। खप्पर अनि अरू हड्डी गाउँलेले सुरक्षित राखेका छन्।’

मानिसको शव गाड्ने प्रचलन नभएको ठाउँमा कसरी खप्पर भेटियो भनेर सबै छक्क परेको सांसद विष्ट बताउँछन्। ‘लोमान्थाङमा मान्छे गाड्ने चलनै छैन,’ उनले भने, ‘बरू यहाँ मान्छे मरेपछि त्यसलाई काटेर गिद्धलाई खान दिइन्छ। केहि धनी मान्छेले चाहिँ जलाउँछन्। यस्तो ठाउँमा कसरी खप्पर र हड्डी भेटियो हामी छक्क परेका छौँ।’

सातसय वर्ष पुरानो खप्पर ?

मुस्ताङ दरबारको इतिहास सातसय वर्ष भन्दा पुरानो छ। यो खप्पर पनि सयौँ वर्ष अघिकै हुन सक्ने अनुमान सांसद विष्टले लगाए। ‘यो सातसय वर्ष जति पुरानो खप्पर हुन सक्छ,’ उनले भने, ‘यो यसरी जमिन मुनी खप्पर भेटिनु भनेको दरबार बन्नु अघि नै त्यहाँ यो पुरिएको हो भन्ने लाग्छ। अहिले मान्छेको शव काटेर गिद्धलाई खुवाए पनि सयौँ वर्ष पहिले गाड्ने चलन पो थियो की?’

त्यसरी भेटिएको खप्पर स्थानीयले आफ्नै परम्पराअनुसार विसर्जन गर्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.