दैलेख : जिल्लाको नारायण नगरपालिका १० भवानीमा एक दलित महिला पानी छोएको निहुँमा कुटिएको घटना चार महिनापछि मात्र बाहिर आएको छ। भवानी १० की ३५ वर्षीया लक्षिमा कामीलाई सोही ठाउँकी २४ वर्षीया राजकुमारी न्यौपानेले गएको वैशाख ११ गते धारामा भरेर राखेको प्लाष्टिकको ड्रम छोएको भन्दै हसिया प्रहार गरी घाइते बनाएको रहस्य चार महिनापछि खुलेको हो।
राजकुमारीले धारामा लगाएको ड्रम सारेर पानी भर्दा लक्षिमालाई राजकुमारीले मणसन्न हुनेगरी हसियाले कुटेको पीडितकी आफन्त बिस्ना सुनारले बताइन्। 'राजकुमारीले पानी भर्न ड्रम धारामा राखेको बेला लक्षिमा गएर पानी भर्न खोज्दा ड्रम सारेको निहुँमा राजकुमारीले किन पानी छोएको भन्दै कुटपिट गरी थिइन।
घटना पछि आफूले वडा अध्यक्ष लोकबहादुर थापालाई जानकारी दिएको र वडा अध्यक्षले उपचार गर्न लैजानु भनेपछि भतिजिलाई जिल्ला अस्पताल दैलेखमा उपचार गर्न लगेको बिष्णाको भनाई छ। आफूलाई पहिले कानुनबारे त्यति जानकारी नभएकाले १२ गते मात्र जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको मुद्दा दर्ता गराउन गएको, तर वडाध्यक्ष थापाले जाहेरी रोक्न दबाव दिएको पीडितकी आफन्त बिस्नाको भनाइ छ।
जनप्रतिनिधि र नेताको दबाव
जाहेरी दर्ता भएलगतै आरोपित राजकुमारी फरार भएकी छन् भने वडाअध्यक्ष सहित केही नेताले मिल्न दबाब दिएका छन्। वडाअध्यक्ष थापा र नेकपाका जिल्ला नेता लोमन काफ्लेले जाहेरी फिर्ता लिन दबाब दिएको बिस्नाको भनाइ छ। उनीहरूले लागेको क्षतिपूर्ति दिन भन्दै जाहेरी फिर्ता लिन दबाब दिएको उनले बताइन्। उनले भनिन्, 'उहाँहरूले सजाय हुने अवस्था नगराई दिन क्षतिपूर्ति दिलाई दिन्छौँ, बयान दिँदा विभेद भएको होइन भनीदिनू, समाजमा मिलेर बस्नुपर्छ, सजिलो पारेर बयान दिन लगाउनु भन्नुभयो।'
अहिले उनीहरूले दुवै जनालाई सजाय हुन्छ भन्दै विभिन्न बहानामा डर देखाउँने गरेको बिस्नाको भनाइ छ। गाउँमा पीडक पक्षका आफन्तहरूले आफूहरूलाई धम्काउँने गरेको पनि उनले बताइन्।
दबाब दिएको भन्ने कुरा गलत
नेकपाका जिल्ला नेता काफ्लेले उक्त घटनामा आफ्नो कुनै संग्लनता नरहेको बताए। 'हामीले त गल्ती गर्नेलाई कारबाही हुनुपर्छ भन्ने पक्षमा छौँ, मिल्न दबाव दिएको भन्ने कुरा सरासर गलत हो' उनले भने। नारायण नगरपालिका १० का वडाअध्यक्ष थापाले पनि दबाव नदिएको बताउँछन्। 'उनीहरू मुद्दा दिन जाँदा भेट भएकाले समाजको कुरा के रहेछ बुझेको हुँ। अहिल्यै हतार नगर्नु अन्याय भएको रहेछ भने पछि मुद्दा दिँदा पनि हुने कुरा मात्र गरेको हो', उनले भने।
आरोपित फरार
फरार आरोपित राजकुमारी न्यौपानेको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले बताए। पक्राउ गरेलगत्तै आरोपितलाई अदालतमा पेश गरिने उनले बताएका छन। उनका अनुसार पीडित पक्षले बैशाख १२ गते मुद्दा दर्ता गराएका थिए। त्यसलगत्तै आरोपित राजकुमारी फरार भएकी थिइन्।
गरिबमाथि दमन
पीडित महिलाको अवस्था अत्यन्त नाजुक भएकाले उपचारमा समस्या भएको आफन्तले बताएका छन्। 'घरमा उपचार गर्ने पैसा छैन,' आफन्त बिस्नाले भनिन्, 'गाउँबाट ऋण मागेर उपचारमा गराएका छौँ।' उपचारमा अहिलेसम्म ५१ हजारभन्दा बढी खर्च भइसकेको लक्षिमाकी आफन्त बिस्ना ले बताइन्।
'जहाँ गहिरो त्यहि पहिरो भनेजस्तो गरिबमाथि नै दमन हुने गरेको छ। कहिलेसम्म छुवाछुतको नाममा दमन सहिरहने हामीलाई अन्याय भएको छ भनेर न्याय माग्न जाँदा उल्टै मिल्न दबाव आउँछ गरिब भएकै कारण हामीले न्याय नपाउँने हो?' उनले भनिन्।
घटनाप्रति सांसदको ध्यानाकर्षण
प्रतिनिधिसभा दैलेखकी सांसद पार्वती बिसुन्केले पानी छोएकै निहुँमा दलित महिलालाई हसिया प्रहार गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्याकर्षण भएको बताएकी छन्। उनले सामाजिक सन्जालमार्फत उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।