डडेल्धुरा : चिकित्सा क्षेत्र सुधारको माग राख्दै ६ दिनदेखि आमरण अनशनरत प्राडा. गोविन्द केसीको समर्थनमा डडेल्धुरा सदरमुकामा दैनिक प्रदर्शन भइरहेको छ। केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनशनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन भइरहेको हो।
शनिबार नागरिक समाज तथा पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूको अगुवाइमा सदरमुकामको बसपार्क–तुफानडाँड हुँदै डडेल्धुरा अस्पतालदेखि तुफानडाँड चोकसम्म उनको माग सम्बोधन गराउन सिटी जुलुस प्रदर्शन गरिएको हो।
‘डा.गोविन्द केसीले राखेका सम्पूर्ण मागहरू पूरा गनुपर्ने, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथाशीघ्र व्यवस्था गनुपर्ने, डडेल्धुरामा मेडिकल कलेजका लागि निर्णय गर तथा डा. केसीको जीवनको रक्षालगायतका माग गदै यहाँका नागरिक तथा पेशाकर्मी एवं व्यवसायी सडकमा उत्रिएका हुन्।
सिटी जुलुसमा यहाँका नागरिक तथा पेशाकर्मी एवं व्यवसायीका साथै नागरिक समाज कैलाली, सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लको सहभागिता रहेको थियो।
शुक्रबार पनि डा. केसीको समर्थनमा प्रदर्शन गरिएको थियो। केसीका माग पूरा गर भन्ने नारा लगाउँदै जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रसमेत पठाएको थियो। सरकारले डा. केसीका मागलाई बेवास्ता गरिए सरकारका विरुद्धमा कडा आन्दोलन गर्ने नागरिक समाज तथा पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूले चेतावनी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।