कांग्रेस सडकमा, जसपाका नेता घरमै धर्नामा

|

पर्सा : नेपाली कांग्रेस पर्सा सडकमा उत्रिएको छ। वीरगन्ज क्षेत्रको नारायणी अस्पताल कोभिड अस्पतालमा परिणत भएपछि अन्य सेवाबाट सर्वसाधारण वञ्चित हुनुपरेको भन्दै कांग्रेसले विरोध जनाएको छ। 

सबैखाले बिरामीलाई सबैजसो सेवा दिँदै आएको नारायणी अस्पताल कोभिड अस्पताल बनाएको र अन्य बिरामीको बिचल्ली भएको कांग्रेसले आरोप लगाउँदै सडक प्रदर्शन गरेको हो। 

कांग्रेस पर्साले निर्णय सच्याउन सरकारसँग माग गरेको छ। प्लेकार्डसहित नारायणी अस्पतालको गेटबाट सडकको दुवैतर्फ दूरी कायम गरी सडकमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले साढे ११ बजेबाट आधा घण्टा धर्नासमेत दिएका छन् । 

लकडाउन भएकोले सांकेतिक रुपमा आधा घण्टा मात्र धर्नामा बसेको कांग्रेस पर्साका सभापति अजय द्विवेदीले बताए। नारायणी अस्पताललाई कोभिड संक्रमणको उपचार गर्ने अस्पतालमा रुपान्तरण गरिएपछि यस अस्पतालका बिरामीलाई वीरगन्जको नेसनल मेडिकल कलेजमा लैजाने सहमति भएको थियो। यस निर्णयका कारण सर्वसाधारणको उपचारमा लापरवाही भएको भन्दै सडक संघर्षमा उत्रिएको कांग्रेस पर्साले बताएको छ। 

‘सर्वसाधारणमाथि यस्तो खेलवाड नगर्न र सहरको बीचमा कोभिड अस्पताल बनाउन नहुने हाम्रो जोडदार माग हो,’ पर्सा कांग्रेसले भनेको छ। नारायणी अस्पतालमा उपचाररत दुई मिर्गौला बिरामीलाई वीरगन्ज नेसनल अस्पतालमा लगिएपछि मृत्यु भएको र थप दुई जना आइसियूमा भर्ना भएको घटना बाहिरिएको पर्सा कांग्रेसले आरोप लगाएको छ।

नारायणीबाट गएका अन्य बिरामीलाई पनि निजी अस्पतालका रुपमा रहेको नेसनलले वास्ता नगरेको भन्दै स्थानीय राजनीतिक दल र यहाँका अगुवालाई सर्वसाधारणले दबाब दिएका बताइएको छ। नारायणी अस्पतालमै पूर्ववत सञ्चालित सबै सेवा सञ्चालन गर्न कांग्रेसले माग गरेको छ।

वीरगन्ज महानगरपालिकाले केही दिनअघि स्थानीय गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउने भन्दै सम्झौता गरिसकेको थियो। ‘यति हुँदा पनि कोरोनाका बिरामी नारायणीमा किन?’ कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले प्रश्न गरे। ‘आर्थिक अवस्था कमजोर भएका बिरामीको बिचल्ली गर्न पाइन्न । नेपालका चार–पाँच जिल्ला र भारतका पनि केही क्षेत्रका बिरामीको उपचार गर्ने यो अस्पतालमा साविकझैं सबै उपचार सेवा सञ्चालन गरिनुपर्छ,’ शर्माले बताए। 

जसपाका नेता पनि घरमै धर्ना बसे 

यता नवगठित जनता समाजवादी पार्टी (जसपा) का नेता नेजामुद्दिन समानीलागायत अन्य केही स्थानीय नेता कार्यकर्ता पनि कालो झण्डासहित आ–आफ्नो घरमा नै एकघण्टा धर्नामा बसेका छन्। उनीहरुको माग पनि कांग्रेस पर्साकै जस्तो छ।

गण्डक अस्पताललाई नै कोभिड अस्पताल बनाउनुपर्ने आफूहरुको माग रहेको नेता समानीले बताए। ‘घरबाटै दबाब दिन आइतबारबाट सुरुवात गरेका छौं, यो माग पूरा नभए दैनिक धर्ना जारी रहन्छ’, उनले भने । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.