काठमाडौं : विराटनगरस्थित कोसी अस्पतालको (कोभिड १९ उपचार केन्द्र) को आइसोलेसनमा रहेका उदयपुर भुल्केका थप ८ जना संक्रमित डिस्चार्ज भएका छन्।
उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्टमा बिहीबार नेगेटिभ देखिएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो।
एकजना भारतीयसहित सात जना नेपालीलाई डिस्चार्ज गरिएको विराटनगर कोभिड अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिए। उनका अनुसार ५ जना उदयपुरका र विराटनगरका २ जना रहेका छन्।
उपचार गर्न आएदेखि हालसम्म कसैलाई पनि जटिल खालको उपचार नगरिएको सिग्देलले बताए। ‘कोरोना भाइरसको संक्रमण देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उपचार केन्द्रमा बसेका ३१ जनामै कुनै किसिमको कोरोना भाइरसको लक्षण देखिएको छैन।’ रिपोर्ट पोजेटिभ आउनेहरुको ५ दिनपछि पुनः स्वाब परीक्षण गरिने सिग्देलको भनाइ छ।
यसअघि प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनामध्ये ६ जना स्वस्थ्य भएर बुधबार डिस्चार्ज भइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।