विचार

पक्षधरताको प्रश्न
SHARES

साउन ६, २०७३

    नेपाली पत्रकारितामा मेरो प्रत्यक्ष संलग्नता ०३८ सालबाट भयो । निष्ठा थियो पत्रकारिता, त्यो समयमा। निष्ठा भएकै कारण पत्रकारिता जनताप्रति दायित्वशील थियो। उतिबेला पनि सञ्चारलाई राज्यको चौथो अङ्ग भनिन्थ्यो। त्यसो भनिए पनि त्यो बेलाको पत्रकारिता चौथो अङ्ग हुनसकेको थिएन। जनता र राज्य बीच चर्को अन्तरविरोध भएको समय थियो त्यो। त्यसैले त्यतिबेला पत्रकारिताको मूलप्रवाह पनि प्रताडित भएको थियो। किनभने पत्रकारिताको मूलधार जनपक्षीय थियो। राज्य निर्देशित पत्रकारिता पनि थियो अब्बल दर्जामै। सेवा सुविधासहितको त्यो कित्ताको पत्रकारिताले पनि इमान जोगाएकै थियो। कित्ताकाट हुनु एउटा कुरा हो, तर दुबै खाले पत्रकारिताको राजनीतिक स्वार्थ पाठकलाई आफ्नो कित्तामा तान्ने थियो। दुबै पक्षले आफ्नो धर्म राम्ररी निर्वाह गरेका थिए।

    पंचायतको अँध्यारोबाट निस्किएर नेपाल उज्यालोमा आइसकेपछि एउटा नयाँ नारा आयो- सञ्चारलाई उद्योगको मान्यता दे' भनेर । सिंगो पत्रकार जगत संचार उद्योग निर्माण गर्ने नारामा बग्यो। बहकियो। स्वतन्त्र सञ्चार, उद्योगमा गएपछि त्यहाँ मालिक र श्रमिक हुनेछन्। मालिकको स्वार्थ अनुकूल श्रमिक चल्नु पर्ने हुन्छ। श्रमिक पत्रकारको स्वतन्त्रता माथि बन्देज लाग्छ भन्नेतिर कसैको ध्यान गएन। सार्वत्रिक स्वतन्त्रता पाएको भ्रममा संचार क्षेत्रले उरालेको यो उद्योगको नाराले अन्तिम निष्कर्ष संचार जगतलाई मालिक र श्रमिक गरी दुई वर्गमा वर्गीकरण गर्‍यो। समयले प्रमाणित गर्‍यो पत्रकार महासंघ लगायतका संस्थाहरुले संचारलाई उद्योगको मान्यता दे भनेर राज्यसँग माग राख्नु, आफ्नै खुट्टामा बन्चरो हान्नु सरहको काम भयो।

    पंचायतको अँध्यारोबाट निस्किएर नेपाल उज्यालोमा आइसकेपछि एउटा नयाँ नारा आयो- सञ्चारलाई उद्योगको मान्यता दे' भनेर । सिंगो पत्रकार जगत संचार उद्योग निर्माण गर्ने नारामा बग्यो। बहकियो। श्रमिक पत्रकारको स्वतन्त्रता माथि बन्देज लाग्छ भन्नेतिर कसैको ध्यान गएन। संचार जगतलाई मालिक र श्रमिक गरी दुई वर्गमा वर्गीकरण गर्‍यो। समयले प्रमाणित गर्‍यो पत्रकार महासंघ लगायतका संस्थाहरुले संचारलाई उद्योगको मान्यता दे भनेर राज्यसँग माग राख्नु, आफ्नै खुट्टामा बन्चरो हान्नु सरहको काम भयो।

    प्रकाशन गृहमा पत्रकार कर्मचारी भए। मालिक भए सम्भ्रान्त हाकिम। सरकारी कार्यालयमा हाकिम र कर्मचारीको बीचमा जस्तो सम्बन्ध हुन्छ, ठूला सञ्चार गृहमा पनि त्यस्तै हुनथाल्यो। केही ठूला घरानामा काम गर्ने पत्रकारहरु आफ्नो राजनीतिक आस्था जाहेर गर्न समेत नपाउने भए। आस्थालाई बन्धकी राखेर काम गर्नु भनेको लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठूलो अपमान हो। नेपालका सबैभन्दा ठूला, कमाउ र घरानिया प्रकाशन गृह अहिले गणतन्त्रको अपमान गर्ने काम गरिरहेका छन्।

    सञ्चार क्षेत्रको विकृति विगविगी भएको समयमा 'थाहा' ले सञ्चार जगतमा हस्तक्षेप गरेको छ। थाहा- एउटा दर्शन हो। गरीवको दर्शन। थाहा एउटा सिद्धान्त हो। मुक्तिको सिद्धान्त। थाहा एउटा कर्म हो। जनमुखी कर्म।

    सिद्धान्त मरेको समय हो अहिले नेपालको। नेपाली कांग्रेसले २०४८ सालमा निर्वाध निजीकरणको सैद्धान्तिक अवधारणा ल्याएर वीपी कोइरालाको समाजवादलाई तुहाइदियो। त्यसपछिको कांग्रेस वीपीलाई 'महामानव' बनाउने र पार्टीलाई दलाल पूँजीवादको प्रतिनिधि बनाउने काममा लाग्यो। नेकपा एमालेले पनि २०५३ सालदेखि जनताको बहुदलीय जनवादलाई पुस्तकालयको र्याकमा थन्क्याएर मदन भण्डारीको श्राद्ध गर्ने काम आरम्भ गर्‍यो। ०५१ को नौ महिने सरकारको लोककल्याणकारी राज्यको अवधारणालाई न माधव नेपालले निरन्तरता दिने कोशिस गरे, नत झलनाथ खनालले नै। केपी ओलीको सरकारले कुनै नयाँ कुरा गरेका होइनन्। त्यही पुरानो कल्याणकारी राज्यको अवधारणालाई निरन्तरता दिने कोशिस गरेका हुन्। तर पार्टीभित्रैबाट उनका दर्मालेहरु, नेकपा एमालेभित्र जनताको बहुदलीय जनवादको व्यवहारिक प्रयोग भन्ने गरिएको कार्यक्रम अब लागू हुन्छ कि भनेर डराएका छन्। पुरानो माओवादी र अहिलेको माओवादी केन्द्र अहिले कुहिराको काग भएको छ। यतिबेला त्योसँग न मार्क्सवाद-लेनिनवाद-माओवाद/माओविचार छ न नेपाली अनुभवको कुनै सिद्धान्त। माओवादी केन्द्रले गरेको पछिल्लो निर्णय उद्देश्यहीन सत्तायात्रा र सिद्धान्तहीनताको व्यवहार हो।

    बाँकी झिना मसिना पार्टीको कुरा नगरौं। जुन ठूलो पार्टीको दौराको फेर समातेर घुम्ने कुर्चीमा बस्न पाइन्छ त्यही नै उनीहरुको सिद्धान्त हो।

    यस्तो स्थितिमा 'थाहा'को महत्व होइन, भूमिका ठूलो हुन्छ। त्यो भूमिका भनेको जनमुखी (यो थाहा प्रणेता रुपचन्द्र विष्टको परिचय हो) संचार जगतको निर्माण। जनमुखी, शब्द सुन्दर छ, सजिलो पनि छ, बुझिने पनि छ। तर वास्तविक जीवनमा यसको प्रयोग अत्यन्तै गाह्रो छ। जनमुखी सञ्चार शब्दैले त्यो स्वतन्त्र, निर्भिक सामान्य जनताको अग्रगतिको पहरेदार हुन्छ। नेपालको भूराजनीतिको प्रभाव सञ्चार जगतमा छाएको छ। नेपालको केन्द्रीय राजनीतिमा दिल्लीको प्रभाव २००७ सालदेखि अहिलेसम्म निरन्तर छ। दिल्लीलाई तिरस्कार गर्नेहरु, या मारिएका छन्, या तिरस्कृत भएर सडकमा हुत्याइएका छन्। यो राजनीति र सञ्चार दुबै क्षेत्रमा उत्तिकै प्रभावी छ। थाहाका लागि यो एउटा ठूलो चुनौती हो। स्वतन्त्रता कि दिल्लीतन्त्रता? करपोरेट पत्रकारिता कि जनमुखी पत्रकारिता? सत्ताको पत्रकारिता र जनताको पत्रकारिता?

    अरु मुलुकमा यो छनोट सजिलो होला। नेपालमा यो धेरै गाह्रो काम हुन्छ। यसको कारण भारतीय आडभरोसा र खर्चपानीको बलमा नेपालको दशगजा क्षेत्रमा भएको नाकाबन्दीमा देखिएकै छ। हुनत नेपाल हल्लाको देश पनि हो। तर पनि त्यतिबेला नेपालमा भारतको हितार्थ काम गर्ने पच्चिस हजार मानिस छन् र ती सर्वत्र छरिएका छन् भन्ने आरोप सार्वजनिक भएको थियो। दिल्लीको साथी भएर बाँच्ने सञ्चार हलक् हलक् बढ्ने र नेपाली मात्र भएर हुर्किन चाहने सञ्चार खिनाउटो हुँदै जाने आजको यथार्थ हो। यो सत्यलाई कसैले अस्वीकार गर्न सक्दैन।

    'थाहा' रुपचन्द्र विष्टको दर्शन, सिद्धान्त र कार्यक्रम हो। वीपी कोइराला प्रधानमन्त्री भएपछि उनले योजना आयोगलाई निर्देशन दिएका थिए, 'तपाईंहरुले योजना बनाउँदा खेतमा हलो जोतिरहेको किसानलाई सम्झिनु होला।' कांग्रेसले अहिले पनि यो उक्ति बिर्सिएको छैन। तर आजको कांग्रेस हलो जोत्ने किसानको शत्रु भएको छ। कुनै समयमा नेपालले चामल निर्यात गर्थ्यो। अहिले सबै खाद्यान्न नेपालले आयात गर्छ। कृषि प्रधान देशमा, एउटा पनि कृषि उपजमा नेपाल आत्मनिर्भर छैन। 'थाहा' को यस्तो बेइज्जत नहोस्। यो मेरो शुभकामना! 'थाहा' प्रति इमान्दार रहुन्जेल हाम्रो भेट भइरहने छ, यसै ठाउँमा।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • jayantanath poudel

    pradip sir yo kuro tapainle dhilo gari bujhnuvo ,tapain lai yo kuro ko anubhuti bigat ma mantri hundai bhako bhaye kati ramro hunthyo ,tyati bela ta tapain lai ni school kholera amdani badhaune, ghaderi kinne dau ma lagnu bho .Aba tapain sanga paisa chha tara tyo bichar, ra karyakarta chhainan.tara tapain ma puranai krantikari bichar lop bhakole ahile pachhi parnubho.sorry for the suggestion.

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: mkt.thahakhabar@gmail.com

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]