समाज

​नेपाली चाडपर्वअनुसारका खानाको विशेषता के छ?
SHARES

खाना विशेषज्ञ नवराज उपाध्याय भन्छन्- चाडपर्वअनुसार खाने गरिएको खानामा बैज्ञानिक आधार छन्।

साउन १४, २०७३

    काठमाडौं । आज साउन १५। हाम्रो नेपाली परम्परा अनुसार आज खिर खाने दिन। हामी नेपालीहरु खानामा सौखिन छौ। हामीले मान्दै आएका यस्ता पर्वहरु छन् जस्को सांस्कृतिक मूल्यमान्यता सँगै खानपानका समेत छुट्टै विशेषता रहिआएका छन्।

    ऋतुअनुसार आउने पर्व र त्यही पर्वअनुसार खाने खानाहरु छन्। असार १५ गते दही च्यूरा खाने। साउन १५ गते खिर खाने। माघे सक्रातिमा तरुल, चाकु खाने। जनै पूर्णिमामा क्वाटी खाने। दशैं तिहार लगायतका चाडपर्वमा माछा/मासु, फलफूल, रोटी, अचार खाने। यस्ता संस्कारहरु हामीसँग छन् जो संस्कृतिसँगै हाम्रो स्वास्थ्यसँग जोडिएका छन्।

    यसरी चाडपर्वमा खाइने खानाहरुको के महत्व छ? चाडपर्वका खानाहरु हाम्रा संस्कृतिसँग त जोडिएका छन् यि कुराहरु सँस्कृतिसँगै यसका वैज्ञानिक आधार पनि केही छन् कि ? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक तथा खाना विषेशज्ञ जीवनप्रभा लामा यसो भन्छिन् :

    यो साउनको महिना हो। साउनमा खिर खाने गरिन्छ। हाम्रा हरेक चाडबाड संस्कृति खानपानसँग वैज्ञानिक महत्व जोडिएको छ। सीजनको महत्व छ। आजभोली वर्षायाममा पानी परिरहेको हुन्छ। वर्षायाममा खेतिपाती लाउने। खेतिपाति गरिसकेपछि रेस्ट गर्नेबेला आउछ। शरिरलाई प्रोटिन डाइट चाहिन्छ। यो साउन महिनाभरी धेरैजसो मांशाहारी चिजहरु कमै खाने गरिन्छ। दुध दही बढी खाने चलन छ। 

    दुधमा प्रोटिन पाइन्छ। दुध भनेको कम्प्लिट फुड हो। दुधबाट शरिरलाई आवश्यक पर्ने पोषक तत्वहरु त्यहाँबाट प्राप्त हुन्छ। असारमा पनि दहि, च्यूरा खाइन्छ। मौसम परिवर्तन हुने बेलामा दहिमा शरिरसँग लड्न सक्ने क्षमता पनि हुन्छ। पानी पर्ने मौसममा लड्न सक्ने क्षमता पनि त्यसले वृद्धि गर्छ।

    यसमा शरीरलाई हानी के ले गर्छ भन्दा खानेकुरा खादा खेरि बढी मात्रामा खाने। राम्रोसँग पकाएर खानुपर्छ। पकाएको ४ घण्टाभन्दा बढी भयो भने त्यो खाना खानयोग्य हुदैन। सड्ने, गल्ने सम्भावना हुन्छ त्यसैले खान हुदैन। कि त त्यसलाई ४ घण्टाभन्दा बढी भयो भने ५ डिग्री सेन्टिग्रेट भन्दा तल राख्नुपर्छ फ्रिजमा। कि त त्यसलाई तातै राख्न सक्नुपर्छ। यदि त्यो सम्भव नै छैन भने राम्रोसँग ७० डिग्री भन्दा बढी तताएर खान सक्ने अवस्थाको रह्यो भने खाने। नभए त्यसलाई खान हुदैन। खाए शरीरलाई असर गर्छ। 

    पोषिलो खानेकुराहरु खाँदा त्यो खाना पोषिलो हुने हुनाले जिवाणुहरुले छिटो आक्रमण गर्छ। पोषिलो खानेकुराका लागि मानव र जीवाणुहरुबीचमा जहिले द्वन्द्व हुन्छ। किभने त्यो खाना पोषिलो हुन्छ। जीवाणुलाई पनि पोषिलो खानेकुरा चाहिने र मान्छेलाई पनि पोषिलो कुरा चाहिने भएको हुनाले खानेकुराहरु धेरै लामो समयसम्म पकाएर राखिराख्न हुदैन। 

    माघे संक्रातिमा तरुल खाने चलन छ। तरुल भनेको कार्बोहाइड्रेट हो। तरुल, कन्दमुलहरुमा अरु न्यूट्रियनहरु पनि हुन्छ। माघमा जाडो हुने भएकाले जाडोमा अलि बढी एनर्जीको आवश्यक हुन्छ। त्यसैले एनर्जीको रुपमा तरुल खाइन्छ। 

    हामी माघमा तिलको लड्डु, गुलियो खान्छौ। त्यसले शरीरको तापक्रमलाई बढाउने र रोगरसँग लडने क्षमता बढाउँछ। 

    भाद्रको जनै पूर्णिमामा क्वाटी खान्छौ। क्वाटी भनेको सबभन्दा पोषिलो खानेकुरा हो। मासु नखानेहरुका लागि क्वाटी अझ बढी उपयोगी हुन्छ। गेडागुडीमा नपाउने मिनरलहरु हुन्छ, खनिज पदार्थहरु त्यो गेडागुडीको टुसा उम्रिसकेपछि अझ थप प्राप्त हुन्छ। एउटा गेडागुडीमा एकखालको प्रोटिन पाइन्छ भने, अर्को गेडागुडीमा अर्को खालको पाइन्छ। त्यसकारण ९ प्रकारका गेडागुडीहरु मिसाएर खान सक्यौ भने पूर्ण पोषण हुन्छ। त्यसबाट शरीरलाई चाहिने पूर्ण पोषक तत्वहरु त्यहाँबाट पाइन्छ। अझ त्यसमा टुसा उमारेको गेडागुडी खानु झन राम्रो हुन्छ। 

    टुसा उमारेर खान सक्यौ भने हामीले शरीरले भनेजतिका ब्यालेन्स डाइट त्यो खानाबाट आउछ। झरिको सिजन, पानीको सिजन भएको हुनाले त्यसले एउटा शरीरलाई आत्मरक्षा गर्ने कार्य बढाउँछ र अर्को पोषण पनि दिन्छ। 

    भोजनका दृष्टिले हाम्रा चाडपर्वहरु एकदमै राम्रा छन्। चाडपर्वअनुसार हामीले जे खाँदै आएका छौ ती त्यही समयमा उपलब्ध पनि हुन्। त्यो कुन समयमा हाम्रो शरीरलाई के खानुपर्छ भन्ने वैज्ञानिक नियमअनुसार नै खाने परम्परा चलिआएको छ। यो अत्यन्तै वैज्ञानिक छ। त्यो हाम्रो प्रतिरक्षा गर्ने शरीरलाई आवश्यक कुरासँग जोडिएको पनि छ। 

    दशैं, तिहारमा माछामासु, चिल्लो पदार्थ, रोटीहरु खाँदै आएका छौ। खानेकुरा भनेको हाम्रो शरीरलाई कति आवश्यक हुन्छ? त्यसैअनुसार व्यालेन्स फुडहरु खाने गर्नुपर्छ। चार भागको एक भाग भात खानुपर्छ। सधै एकनासको खाइरहेको मान्छेले चाडपर्वमा अलि बढी खाने गर्छौ हामीले। त्यसकारण एकैचोटी अलि बढी खाँदाखेरि अलिक असर गर्ने हो। तर पनि यसलाई हामीले ख्याल गरेर मात्र खानुपर्छ। 

    रातो मासुले स्वास्थ्यलाई त्यति राम्रो गर्दैन। जसका कारण विभिन्न किसिमका रोगहरु लाग्नसक्ने हुन्छ। हाम्रो जीवनशैलीका कारण पनि त्यति फाइदा भने गर्दैन। हामी नेपालीहरुले चाडपर्वमा अलिक बढी नै माछामासुहरु प्रयोग गर्ने गर्छौ। परिकार पनि धेरै बन्ने र माछा मासु पनि धेरै हुँदाखेरि बढी खाँदाखेरि त्यसले स्वास्थ्यलाई फाइदा गर्दैन। 

    शरीरलाई जति चाहिन्छ त्यति खाने हो। बढी भएको चिजलाई जोहो गरेर राख्यो भने त्यसलाई फेरि प्रयोग गर्न सकिन्छ। एकैचोटी धेरै बनाएर धेरै खानु हुदैन। हरेक चाडपर्वहरुमा जे उपलब्ध हुन्छ, जे बनाउने हो त्योसँग ती कुराहरुले शरीरलाई फाइदा नै गर्छ। तर त्यस्ता खानेकुरा दूषित भने हुनुहुदैन। 

    बिग्रिएका, सडेगलेका, डेट एक्सपाइर खानेकुरा भने हामीले प्रयोग गर्दै गर्नुहुदैन। त्यसले हाम्रो स्वास्थ्यमा असर गर्छ। हामीले आफैं बनाएर खाएका छौ भने त्यसलाई बनाउँदा पनि ध्यान दिनुपर्छ। धेरै अगाडि बनाएर राखेका खानेकुरा व्यवस्थापन गरेको छैन भने त्यसले पनि असर गर्न सक्छ । त्यसबाहेक अरु त हामी नेपालीहरु स्वस्थकर खाना नै खान्छौ। अन्तर्राष्ट्रिय जगतमा हामीले आफैं बनाएर खाना खाने भएकाले पनि स्वस्थकर खाना नै खान्छौ भनिन्छ। 

    धेरै दिनसम्म फ्रिजमा राखेर र धेरै टाढाबाट आएर खानेकुराहरु खाने गर्दैनौ। हाम्रो खानेकुरालाई स्वस्थ खानेकुरा नै मानिन्छ। चाडपर्वसँग जोडिएर खाने गरिएका हाम्रा खानपानहरुको छुट्टै सांस्कृतिक महत्व पनि छ। सँगै मौसमअनुसार कुन समयमा के खाने? हाम्रो शरीरलाई के कुरा आवश्यक पर्छ? भन्ने कुरा ध्यानमा राखेर अत्यन्त वैज्ञानिक रुपमा नै भोजन लिँइदै आइएको छ। 

    एउटा त मौसमका कारण खानेकुरा भयो। अर्को हाम्रा संस्कृति, चाडवाडसँग जोडिएका कुरा भए। जस्तो चिसो सुरु हुदै गर्दा कसैले क्वाटी खान्छन् भने अरु कसैले अरु थोक नै खान्छन् होला। उनीहरुले आफ्नो संस्कृतिअनुसार मिठाइ, फलफूल खान्छन्। तर त्यो उपलब्धताअनुसार मात्रा मिलाएर ठीक्क खायो भने त्यसले शरीरलाई फाइदा गर्छ। त्यसले शरीरलाई आवश्यक पर्ने पोषण दिन्छ। 

    खाना विशेषज्ञ नवराज उपाध्याय चाडपर्वमा खाने खानपानहरुबारे यसो भन्छन् :

    खाद्यप्रविधिको हिसाबमा हेर्दाखेरि हाम्रा चाडपर्वहरु पौराणिक कालदेखि नै खानेकुरामा स्वास्थ्यवर्धक प्रक्रियाहरुबाटै अगाडि बढेको पाइन्छ। जस्तै साउनमा खिर खाने। यो साउन महिनामा दुध प्रशस्त मात्रामा पाइन्छ। त्यसैले दही, दुधको सहज उपलब्धता हुने भैहाल्यो। वर्षा लागेको कारणले घाँसहरु पनि प्रशस्त पाइन्छ। त्यसकारण पनि असार १५ मा दहि खाने, साउन १५ मा खिर खाने गरिन्छ। गर्मीमा दही खान स्वाद र स्वास्थ्यको दृष्टिले पनि उचित हुन्छ।

    जाडो महिना लाग्यो भने क्वाटी खाने चलन छ। जुन चै त्यहीबेलामा बढी उपलब्धता हुन्छ। त्यो धेरै पोषिलो छ। त्यो बेलामा वर्षको एकदिन एउटा ती परिकारहरु खाने भनेर इण्डिकेटरका रुपमा मात्र प्रयोग गरिएको हो। त्यो चै यो बेलामा यो खाउ। यो बेलामा यस्तो कुराहरु खाँदा स्वास्थ्यलाई फाइदा गर्छ र यो बढी उत्पादन पनि हुन्छ भनेर हामीलाई दिइएको हो। तर त्यसलाई एकदिनमा मात्र सिमित नराखेर त्यो सिजनभरि नै खाँदा राम्रो हुन्छ। 

    जाडोयाममा छ भने त्यो गेडागुडीको मात्रा बढाउ। किभने त्यो बेलामा धेरै इनर्जी खर्च हुन्छ। वर्षायाममा दही, दुध ज्यादा हुन्छ त्यसैले यसको प्रयोग बढी गर। दशैं, तिहारको बेलामा हाम्रो दौडधुप ज्यादा हुन्छ। हाम्रो माछामासु लगायतका धेरै परिकारहरु खाने चलन छ। तर त्यसलाई अलि मिलाएर खानुपर्यो। हामी खादा मिलाएर नखाएको कारणले धेरै मान्छेहरु बिरामी पनि पर्छन्। 

    हामीलाई हाम्रो पर्वअनुसार जुन कुराहरु खान भनेर सिकाइएका छन् ती वास्तवमा वैज्ञानिक छन्। स्वास्थ्यका कारणले पनि लाभदायक छन्। यसको बारेमा मिडियाले पनि सर्वसाधारणसम्म जानकारी गराइदिनुपर्छ। जुन सिजनमा खानेकुराको हामीसँग सन्दर्भ जोडिएर आएका खानेकुराहरु छन्। ती कुराहरुको त्यो बेलामा एकदिनलाई मात्र सम्झिएर होइन ऋतुसँग सम्बन्धित अलिकति बढाएर ठिक्कसँग मात्रा मिलाएर खानुपर्छ। 

    दशैं, तिहारमा फलफुल खाने माछामासु खाने गर्छौ। तर कुन मात्रामा कसरी खाने भन्ने कुरा जनचेतना फैलाउन आवश्यक छ। दौडधुप बढी हुने भएकोले माछामासु खानु राम्रो नै हो तर त्यसलाई कसरी आफ्नो स्वास्थ्यलाई फाइदा गर्नेगरी खाने भन्ने चै आफूले ध्यान दिनुपर्छ। मुख्यतः क्वान्टिटी कति ? के के खाने भन्ने कुरामा ध्यान दिने कुराको विकास गर्नुपर्छ। 

    सहरबजारमा यो कुराको विकास अलिक भैसकेको छ। तर गाउँ-गाउँमा अझैपनि ६ दिने पहिले काँटेको मासु लामो समयसम्म खाइरहने परम्परा छ यसले स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ। यो हाम्रो संस्कृतिमा छ तर अब यसलाई कसरी स्वास्थ्यका दृष्टिले हेर्ने र स्वस्थ खाना खाने? भन्नेमा ध्यान दिन आवश्यक छ। 

    यी कुराहरु स्कुल लेभलबाटै पाठ्यक्रममै समावेश गर्न आवश्यक छ। शिक्षामा खानेकुरा कसरी? कति खाने भन्नेमा दिनुपर्छ। यो भनेको दैनिक जीवनमा आइपुर्ने विषय हो। त्यसले गर्दा प्राथमिक लेभलदेखि नै यसलाई शिक्षाको एउटा पार्ट बनाउनुपर्छ। 

    प्रोटिन, फ्याट, कार्बोहाइड्रेट भनेको के हो? कुन खानेकुरामा के पाइन्छ भन्ने जोकोहीले जान्न आवश्यक छ। स्वास्थ्यमा हामी त्यति धेरै ध्यान दिदैनौ। त्यसकारण अब सानैदेखि नै खानेकुरा कसरी खाने भन्नेबारे सबैलाई जानकारी गराइदिनुपर्छ। 

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Chandra Lal Giri

    देविकाजी आज खीर खाने दिन हो । खै त सन्दर्भ अनुसार खीरको फाइदा र वैज्ञानिक कारण बारेमा त केही प्रष्ट पार्नु भएको छैन ? सबै परिकारको बारेमा लेखेर अलि सन्दर्भलाई फोसक नभएको हो कि भन्ने लाग्यो ?

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: mkt.thahakhabar@gmail.com

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]