समाज

काठमाडौँमा ट्याक्सीको भार नथोपर्न सरकारलाई महानगरको आग्रह

'तत्काल थप ट्याक्सी काठमाडौँमा मात्र थप्‍न सकिँदैन' : प्रमुख शाक्य

असार ६, २०७४

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सवारी साधनको बढ्दो चाप र ट्राफिक जामको समस्याका कारण तत्काल थप गर्ने भनिएको ट्याक्सीको संख्या काठमाडौँमा नथप्न सरकारलाई आग्रह गरेको छ। 

    महानगरको मंगलबार बसेको दोस्रो बोर्ड बैठकले काठमाडौँ महानगरपालिकाको बढ्दो ट्राफिक जाम, शहरी प्रदूषण, पार्किङ क्षेत्रको अभावको कारण देखाउँदै १४ जिल्लाका भूकम्पपीडितहरूका लागि काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने गरी नयाँ ट्याक्सी दर्ता प्रक्रिया अगाडि बढेको सन्दर्भमा सरकार र महानगरपालिकाको शहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रमसमेतका विषयहरू मनन् गरेर मात्र उक्त कार्य अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ। 

    बैठकले गरेको निर्णय जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, 'काठमाडौँमा अहिले ट्राफिक जामको उत्तिकै समस्या छ। शहरी प्रदूषणको समस्या छ, पार्किङको समेत ठूलो समस्या छ।' प्रमुख शाक्यले यस्तो अवस्थामा भूकम्प प्रभावित १४ जिल्लाका १५ सय ट्याक्सी काठमाडौँमा थप्ने कुराले यहाँ झन समस्या हुने बताए। 'यस कुरालाई दृष्टिगत गर्दै काठमाडौँमा मात्रै यी कुरा नथोपरियोस् भन्ने हाम्रो आग्रह हो', उनले भने।

    बैठकले काठमाडौँ महानगरपालिका क्षेत्रमा साविकदेखि सञ्चालनमा आएका भाडाका ट्याक्सीहरू मिटरमा गुड्नुपर्ने कानुनी व्यवस्थाको पालना नभएको, ट्याक्सीहरू पुरानासमेत भएको भनी प्राप्त जनगुनासोलाई दृष्टिगत गरी उक्त विषयमा सम्बद्ध यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक प्रहरी महाशाखासमेतलाई कडा नियमन गर्न अनुरोध गर्ने निर्णय गरेको जनाइएकाे छ।

    यसैगरी संविधानमा उल्लेखित २२ वटा एकल अधिकार र १५ वटा साझा अधिकारको प्रयोग गर्न र काठमाडौँ महानगरपालिकाले महानगरस्तरीय गुणात्मक र प्रतिष्पर्धी शहरी सेवा प्रवाह गर्न काठमाडौँ महानगरपालिकाको हालको प्रशासनिक सांगठनिक संरचनाको पुनर्संरचना गर्न आवश्यक देखिएकोले ख्यातिप्राप्त प्रशासनविद्को विज्ञ सेवासमेत लिई दुई महिनाभित्र महानगरपालिकाको संगठन सर्वेक्षण गरी दरबन्दी र कार्यविवरणसहितको संगठन र विकास प्रतिवेदन तयार गरी पेश गर्न काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णयसमेत गरेको बताइएको छ। 

    महानगरपालिकाले विगत केही वर्षदेखि ८८ वर्ष उमेर पुगेका वरिष्ठ जेष्ठ नागरिकहरूलाई एकमुष्ठ उपलब्ध प्रदान गर्दै आएको वार्षिक १० हजार रुपैयाँ महानगर भत्ता चालु अार्थिक वर्ष २०७३/०७४ का लागि वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याउने जनाएको छ। उक्त भत्ता तत्काल वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन महानगर, नगर कार्यपालिककाको कार्यालयलाई निर्देशनसमेत बैठकले दिएको छ। 

    बैठकले जेठ २६ गते सम्पन्न काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनबाट निर्वाचित आठ जना नगर कार्यपालिका सदस्यहरू लक्ष्मी श्रेष्ठ, रमिता कमला स्थापित, रश्मि खड्का, कान्ता अधिकारी गौतम, हीरादेवी पोखरेल, पासाङ नुर्वु लामा, दीपक गोर्खाली राई, प्रेम पोडेलाई बधाई दिनुका साथै स्वागतसमेत गरेको छ। 

    यस्तै, बैठकले महानगरपालिकामा निर्वाचित पदाधिकारी तथा कर्मचारीहरू पक्ष विपक्ष भई विभिन्न अड्डा अदालतहरूमा मुद्दा दर्ता गर्न एवं निवेदन, फिरादपत्र, लिखित जवाफ, प्रतिउत्तरपत्र दर्ता गर्नका लागि विभिन्न पदाधिकारी तथा सदस्यलाई अख्तियारी दिनेलगायतका निर्णयहरू गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

    महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफूले निर्वाचनका क्रममा गरेका प्रतिवद्धतामध्ये फोहोर व्यवस्थापन, बाटो मर्मतका केही काम सुरु गरेको, भूकम्पपीडितहरूका लागि घर निर्माण गर्दा दस्तुरमा मिनाहा गरेको, महानगरमा नेपाल र खस (नेपाली) भाषालाई सरकारी कामकाजको भाषा बनाएको, रञ्जना लिपिमा बोर्डहरू राख्ने काम भएको, ज्येष्ठ नागरिकहरूको घरदैलोमा पुगेर स्वास्थ्य उपचार पुर्‍याउनका लागि विशेषज्ञ स्वास्थ्यकर्मी टोली बनाउने कार्य भइरहेको जानकारी दिए।

    प्रमुख शाक्यले महानगरभित्रको धूलो नियन्त्रण तथा बाटो मर्मतका लागि भने मेलम्ची खानेपानी आयोजनाको काम पूरा नहुँदासम्म समस्या हुने बताए। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]