राजनीति

राजकुमार दिक्पालको कथा सम्झँदै प्रचण्डले खुट्याए वीरेन्द्र र ज्ञानेन्द्रको अन्तर

जनयुद्ध र शान्ति प्रक्रियाको उतारचढावबारे प्रचण्डको विश्लेषण

असार ७, २०७४

    काठमाडौं : जनयुद्धमा रिपोर्टिङ गर्दाका अनुभव संगालेर पत्रकार उजिर मगरले लेखेको पुस्तक ‘अंश’ को लोकार्पण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र शान्ति प्रक्रियाका राष्ट्रिय/अन्तर्राष्ट्रिय आयामहरूबारे चर्चा गरे।  

    पुस्तकको समीक्षाका क्रममा अन्नपूर्ण पोस्टका प्रधान सम्पादक युवराज घिमिरेले ‘माओवादी सशस्त्र विद्रोहको समाधान नेपाली पात्रहरूले नै गर्नु मुलुकको हीतमा हुनेमा आफू स्पष्ट रहेको’ बताएपछि अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधनको अधिकांश समय घिमिरेको भनाईको स्पष्टीकरणमा बिताए। स्पष्टीकरणका क्रममा प्रचण्डले घिमिरेको नाम ७ पटक लिएका थिए।

    जनयुद्ध- नेपाली समाजको केन्द्रीकृत अभिव्यक्ति

    ‘जनयुद्ध जुन परिवेशमा सुरु भयो त्यसको एउटैमात्र आयाम छैन। प्रचण्ड/बाबुराम या नेतृत्वको एउटा टिम भएको कारणले जनयुद्ध सुरु भयो भन्ने ठानियो भने त्यो भन्दा संकुचित, अवैज्ञानिक र मनोगत विश्लेषण अरु हुन सक्दैन’, प्रचण्डले भने, ‘नेपाली समाजको राजनीतिक, आर्थिक सामाजिक, सांस्कृतिक, ऐतिहासिक मनोवैज्ञानिक धेरै आयामहरूको केन्द्रीकृत अभिव्यक्ति (सेन्ट्रलाइज्ड एक्सप्रेसन) को रुपमा जनयुद्ध भयो।‘

    रहरले र मनोगत रोमान्समा आधारित भएको भए जनयुद्ध १० वर्षसम्म टिक्न सम्भव नभएको प्रचण्डले बताए। ‘समाजमा प्रभाव पारेर यति ठूलो राजनीतिक परिवर्तनको आधार बन्न सम्भव हुन सक्दैनथ्यो। त्यो सजिलै निमोठिन पनि सक्थ्यो’, उनले भने।

    नेतृत्वले परिस्थितिको ठिक ढंगले लेखाजोखा गरेकोले जनयुद्ध सफल भएको प्रचण्डको विश्लेषण छ। ‘वस्तुगत परिस्थितिको ठिक ढंगले लेखाजोखा नगरेको भए जनयुद्ध सुरु गर्न, टिकाउन, विस्तार गर्न र परिवर्तनको कारक बनाउन सकिने थिएन। शान्ति प्रक्रियामा सम्भव थिएन। लाख दुई लाख मान्छे मरिसकेपछि या त पूरै पराजय या त पुरै विजयको नियति पनि नेपालले भोग्न सक्थ्यो’, उनले भने, ‘लिडरसिप (नेतृत्व) को भूमिका त्यहीँनेर आउँछ।‘

    जनयुद्ध जस्तै शान्ति प्रक्रिया पनि कुनै व्यक्ति विशेष वा पार्टी विशेषको चाहनामामात्रै आधारित नभएको प्रचण्डको भनाई छ। ‘जनयुद्धलाई निरन्तरता दिँदा राष्ट्रलाई र जनलाई झन् क्षति हुन सक्ने र विजयी हुन नसक्ने खतरा मैले अनुभूत गरेँ’, प्रचण्डले भने, ‘देशभित्र पनि राजनीतिक दलहरू र राजतन्त्रका बीचमा अन्तर्विरोधरू बढ्दै गए। यी सबै पक्षहरूले हामीलाई शान्तिप्रक्रियामा जान प्रेरित गर्‍यो।‘

    उनले सन् २००१ मा अमेरिकामा भएको आतंकवादी हमलाले आफूलाई सोच्न बाध्य बनाएको पनि बताए। ‘ट्‍विन टावरमा हमला भएपछि विश्वभरको न्यायपूर्ण आन्दोलन र साम्राज्यवादको बीचमा टकराहटको अवस्था पैदा भयो। त्यो हमलाले जनताको क्रान्तिकारी आन्दोलनमा दमन गर्ने साम्राज्यवादलाई निकै ठूलो हतियार र मनोवैज्ञानिक स्थिति पैदा गर्‍यो’, उनले भने, ‘आतंकवाद जनताको पक्षमा हुन सक्दैन भन्ने ठूलो प्रमाण पनि हो यो। शान्ति प्रक्रियामा आउनुपर्नाको एउटा कारण यो पनि हो।‘

    नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ‘अंश’ को लोकार्पण कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रचण्डलाई निम्त्याएका पत्रकार उजिर मगरले आफ्ना पूर्व सम्पादकहरूलाई पनि मञ्चमा समीक्षाका लागि बोलाएका थिए।

    प्रचण्डसँगै मञ्चमा थिए पत्रकारहरू युवराज घिमिरे, गुणराज लुइँटेल र नारायण वाग्ले। नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट, नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा र प्रेस सेन्टर नेपालका अध्यक्ष गोविन्द आचार्य पनि लेखक उजिर मगरसँगै मञ्चमा थिए।

    नेपाल पत्रकार महासंघका महासचिव समेत रहेका उजिरको संस्मरणात्मक पुस्तक ‘अंश’ को लोकार्पण कार्यक्रममा पत्रकारहरूको ठूलै भीड थियो।

    युवराजको टिप्पणीले ततायो प्रचण्डलाई 

    आफ्ना समाचार, लेख तथा सम्पादकीयमार्फत १२ बुँदे सम्झौता भारतमा हुनु गलत भन्दै आएका पत्रकार युवराज घिमिरेले मंगलबार पुस्तक लोकार्पण कार्यक्रममा पनि यही कुरा दोहोर्‍याए। घिमिरेले भने- ‘माओवादी सशस्त्र विद्रोहको समाधान नेपाली पात्रहरूले नै गर्नु मुलुकको हीतमा हुन्छ भन्नेमा म स्पष्ट थिएँ।‘

    २०६२ मंसिर ७ गते भारतको राजधानी नयाँ दिल्लीमा तत्कालीन ७ राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीच १२ बुँदे सम्झौता भएको थियो। यो सम्झौतापछि २०६२/६३ को जनआन्दोलन भएको थियो। शान्ति प्रक्रिया, संविधान सभाको निर्वाचन, राजतन्त्रको अन्त्य र राज्य पुनर्संरचनाको ढोका पनि १२ बुँदे सम्झौताले नै खोलेको थियो। 

    ‘युवराजजीले प्रसंग कोट्याउन खोज्नुभयो, मैले स्पष्ट गर्न आवश्यक ठानेँ’ भन्दै कुरा थालेका प्रचण्डले २०४६ भन्दा अघिदेखिको आफ्नो राजनीतिक यात्रा सुनाए। उनले २०४४ सालमा हतियार चलाउन सिक्दाको अनुभूति पनि सुनाए।  

    उनले भने-

    म भर्खर युवा हुँदाखेरी नै एउटा रिभ्युलुसनरी रोमान्सको रुपमा जनयुद्ध गर्ने, क्रान्ति गर्ने भनेर बन्दुक चलाउने तालिम गरेको हो। २०४४ सालमा गोरखाको सिरानचोकमा हामीले तालिम लिएका थियौँ। दुईवटा बन्दुक, केही पस्तोल र बिस्फोटक पदार्थसहित तालिम लिएका थियौँ। छिटै जनयुद्ध सुरु गर्ने तयारीमा थियौँ। तयारी गर्ने भन्दा भन्दै ४६ सालको जनआन्दोलनको वातावरण बन्यो। म पार्टीको  महासचिव थिएँ। राजनीतिक आन्दोलन अगाडि बढ्यो, अब जनयुद्ध सुरु गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगियो। हामीले फाट्टफुट्ट एक दुईवटा चौकीमा हमला गरेको भए पनि त्यो पञ्चायतलाई सहयोग गर्ने आन्दोलनमा परिणत हुने खतरा मैले देखेँ। हामीले ठूलो उद्देश्य राखे पनि जनतामा के भ्रम पर्ने देखियो भने यो त पञ्चायतीहरूले आफूलाई बचाउन गरेको हो। मैले अहिले युद्ध सुरु गर्नेतिर होइन यही जनआन्दोलनमा सहभागी हुनुपर्छ भनेर संयुक्त राष्ट्रिय जनआन्दोलन र बाम मोर्चा सबैसँग मिलेर आन्दोलन गर्ने लाइनतिर लगियो। त्यसकारण मेरो इच्छाले मात्र भएन भन्न चाहन्छु। 

    ‘युवराजजीको सन्दर्भमा भन्न के खोजेको हो भने’ भन्दै प्रचण्डले शान्ति प्रक्रियाको प्रसंग उठाए।  ‘शान्ति प्रक्रियामा आउन जरुरी भैसकेको थियो। देश र जनतालाई फाइदा भैराखेको थिएन। अब युद्ध लम्बिँदै जाँदा त्यसको परिणामले कसैलाई पनि फाइदा नगर्ने र अन्तरराष्ट्रिय परिस्थिति पनि अझ बढी नाकारात्मक बन्दै गएको देखेकोले शान्ति प्रक्रिया अनिवार्य बनेको थियो’, उनले भने।

    त्यसपछि उनले ‘युवराजजीको कुरालाई टुंग्याउँदाखेरी म के भन्न चाहन्छु भने’ भन्दै भारतको सिलगुढीमा संसदवादी राजनीतिक दलहरूसँगको वार्ताको प्रसंग उठाए।

    यो पुस्तकमा पनि प्रसंग आएको छ सिलगुढी बैठक भनेर। त्यो बैठक हाम्रो पार्टीले नै आयोजना गरेको थियो। कांग्रेस एमाले लगायतका सबै पार्टीका नेताहरु आमन्त्रित थिए। त्यहाँ कांग्रेसबाहेकका सबै नेताहरु पुग्नुभएको थियो। त्यहाँ संविधानसभाको कुरा गरिएको थियो र शान्तिमा आउने कुरा गरिएको थियो। संविधानसभाको वातावरण बनाउँ, हामी शान्ति सम्झौतामा आउन तयार छौँ भनेर मैले प्रस्ताव राखेको थिएँ। तर संविधानसभामा अहिले जान सकिँदैन भन्ने प्रमुख पार्टीहरुको निष्कर्ष भए पछि तुरुन्त शान्ति प्रक्रियामा आउने परिस्थिति बनेन। 

    दरबार हत्याकाण्ड

    २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि कान्तिपुरमा डा. बाबुराम भट्टराईको लेख छापियो। ‘बाबुरामजी र म सँगै थियौँ। हामीले सल्लाह गरेर त्यो लेख तयार पारियो। कान्तिपुरमा छापिएपछि त्यसको जबर्जस्त प्रभाव परेकै हो’, प्रचण्डले भने।  'नयाँ कोतपर्वलाई मान्यता दिनु हुन्न' शीर्षकको उक्त लेखका कारण त्यतिबेला कान्तिपुरका सम्पादक रहेका युवराज घिमिरेले मुद्दासमेत खेपेका थिए।

    शान्ति र संविधानसभामामार्फत देशलाई गणतन्त्रतिर लैजान आफूले कोसिस गरे पनि संसदवादी पार्टीहरू राजालाई मनाउने हैसियतमा नरहेको सिलगुढी बैठकको असफलताले दर्शाएको बताउँदै प्रचण्डले भने- ‘म यो कुरा नोट होस् भन्ने चाहन्छु।‘

    ‘त्यसपछि नोकरसँग किन वार्ता गर्ने मालिकसँग गरिन्छ भन्ने वक्तव्य आयो र त्यो निकै चर्चामा रह्‍यो’, प्रचण्डले सुनाए, ‘देशको आवश्यकतालाई हेरर त्यो भनिकएको थियो।‘

    राजा वीरेन्द्रसँग वार्ता सुरु गर्ने तयारी हुँदाहुँदै दरबार हत्याकाण्ड भएको उल्लेख गर्दै उनले भने- ‘हाम्रो एकजना केन्द्रीय सदस्यको वार्ता भएकै थियो। सिधा कुरा धिरेन्द्रसँग हुन्थ्यो। वीरेन्द्रसँग पनि कुरा गर्ने तयारी कसरी मिलाउने भनेर प्राविधिक कुरामा छलफल हुँदै गर्दा जेठ १९ को घटना घट्यो।‘

    वीरेन्द्र भर्सेस ज्ञानेन्द्र

    ‘मैले युवराजजीको कुरालाई कहाँनेर ल्याएर टुंग्याउन खोजेको हो भने’ भन्दै प्रचण्डले मालिकसँग वार्ता गर्ने आफूहरूको कुरा शान्ति प्रक्रिया देशभित्रकै शक्तिहरूबीच राजनीतिक सहमति होस् भन्ने चाहनाले आएको उनले बताए।

    उनले भने-

    ‘भरियासँग होइन मालिकसँग नै वार्ता गरेर समस्या समाधान गर्ने हाम्रो चाहना देशभित्रै शान्तिप्रक्रिया होस्, देशभित्रकै शक्तिहरुको बीचमा राजनीतिक समझदारी बनोस् भन्ने थियो। युवराजजीलाई यो कुरा नोट गर्न म अनुरोध गर्न चाहन्छु। तर त्यस्तो भएन। किनभने मलाई लाग्छ एउटा असली राजा र एउटा बडो नाटकीय ढंगले भएको राजामा फरक हुने रहेछ। वीरेन्द्रले सोच्ने तरिका र दरबार हत्याकाण्डपछि हुन आइपुगेका राजामा सोच्ने तरिकामा धेरै ठूलो फरक मैले विद्रोही नेताका रुपमा गहिरोगरी अनुभूत गरेँ।

    राजकुमार दिक्पालको कथामा सक्कली राजकुमारले छोटो बाटो जाने कि लामो बाटो भन्दा छोटो बाटो भन्छ तर नक्कली बनाइएको राजाको छोरोले लामो बाटो जाने भन्छ। यो कथा सबैले सुन्नु भएकै होला। यस्तै फरक पर्‍यो। फरक परेपछि परिस्थिति भिन्न ढंगले बढ्यो किनभने देशमा शान्ति त आउनु नै थियो। १२ बुँदे समझदारी यताबाट बनोस् या उताबाट बनोस् आखिर बन्नु नै थियो। 

    ‘म युवराजजीलाई यो अनुरोध गर्न चाहन्छु’ भन्दै प्रचण्डले ज्ञानेन्द्रले आफ्नो हातमा आएको ऐतिहासिक मौका गुमाएको टिप्पणी गरे।

    उनले भने-

    ऐतिहासिक आवश्यकतालाई जुन नेतृत्वले समयमा बुझ्न सक्यो र तुरुन्त पहल गर्न सक्यो इतिहासले सही मूल्यांकन त्यसैलाई गर्छ। ज्ञानेन्द्रले सकेनन् भन्ने मेरो भनाई छ। उनी राजाको रुपमा आफ्नो हातमा आएको मौका छोप्न सकेनन्। त्यसको फलस्वरुप १२ बुँदे समझदारी दिल्लीमा भयो। त्यो कुरामा फेरि म युवराजजीसँग सहमत छु। त्यसका फेरि अरु आयाम छन्। दिल्लीमा गएर १२ बुँदे समझदारी गर्दाका परिणाम के के हुन सक्छन् भन्नेमा।

    तर १२ बुँदे सम्झौताको प्रस्तान रोल्पाबाट भएको प्रसंग कोट्याउँदै प्रचण्डले भने-

    यो सन्दर्भमा यो कुरा पनि विचारणीय छ कि म रोल्पामा थिएँ । नेकपा एमालेको तर्फबाट बामदेव गौतम र युवराज ज्ञवाली रोल्पा जानुभयो र १२ बुँदे समझदारीको पहिलो तयारी रोल्पाको लोसेबाङ भन्ने ठाउँमा भयो। दुई दिन वार्ता गरेर लिखित सहमति भयो। त्यसलाई त्यति धेरै ल्याउने गरिएको छैन। आखिर जसरी पनि नेपाललाई शान्ति प्रक्रियामा ल्याउनु नै थियो। 

    जनयुद्ध र शान्ति प्रक्रिया कसैले माने पनि नमाने ऐतिहासिक फेनोमेना भएको प्रचण्डले बताए। ‘तपाईँ हामीले मान्न गाह्रो माने पनि नमाने पनि यो एउटा ऐतिहासिक फेनोमेना हो। जसले नेपालको राजनीतिमा निकै परसम्म फैलिने असरहरू दियो। संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, धर्मनिरपेक्ष राज्यको घोषणा, समानुपातिक समावेशी मान्यताको घोषणा सामान्य परिघटना होइनन्’, प्रचण्डले भने।

रविराज बराल

बराल २०७३ जेठदेखि २०७४ साउनसम्म थाहा खबरमा कार्यरत थिए।

इमेलः [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]